ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

२०७८ बैशाख, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो उनीहरूको छ ।

ढुवानी खर्च समेत नउठ्ने भएपछि गोलभेँडा बेच्न नसकिएको भरतपुर महानगरपालिका–२६ का नारायण सापकोटाले बताए । ‘एककेजी गोलभेँडाको उत्पादन लागत १५ रुपैयाँजति पर्छ, प्रतिकेजी ४ रुपैयाँमा बारीबाटै लैजानुस् भन्दा पनि ग्राहक आएनन्,’ उनले भने । उत्पादित गोलभेँडा बारीमै कुहिएर खेर जाने भएपछि सित्तैमा लैजान अनुरोध गरिएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको तरकारी जोनको सञ्चालक समितिका सहसचिव तथा किसान रामचन्द्र रेग्मी किसानले गोलभेँडा टिप्नै छाडेको बताउँछन् । ‘गोलभेँडा बेचेर लागतको त कुरै छाडौँ, टिपाइ खर्च र बजारसम्म लैजान खर्च समेत उठ्दैन,’ उनले भने, ‘यस्तोमा गोलभेँडा टिपेर के फाइदा ?’

कतिपय किसानले प्रतिक्रेट गोलभेँडा मुश्किलले १०० देखि २०० रुपैयाँमा बेचिरहेको उनको भनाइ छ । हाल भरतपुर महानगर तरकारी बजारमा गोलभेँडा प्रतिकिलो १० देखि २० रुपैयाँमा विक्री भइरहेको त्यहाँका व्यवसायीहरू बताउँछन् ।

महानगर तरकारी बजारका सञ्चालक एवं फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले गोलभेँडाको उत्पादन बढी भएको र उत्पादन भएका सबै गोलभेँडा एकैपटक बजारमा आएकाले भाउ नपाएको बताए ।

यसपटकको सिजनमा चितवनमा गोलभेँडाको उत्पादन बढेको र मौसमका कारण एकैचोटि पाकेकाले बजार पाउन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले बताए । ‘गोलभेँडा निश्चित समयमा बेच्नुपर्छ, धेरै दिन टिकाइराख्न सकिन्न,’ उनले भने, ‘तत्काल बेच्नुपर्ने हुँदा पनि भाउ पाउन समस्या भएको हो ।’ परियोजनाको तरकारी जोनअन्तर्गत चितवनमा यतिबेला दैनिक ४० टनभन्दा बढी गोलभेँडा उत्पादन भइरहेको छ ।

चितवनमा दैनिक तीन टन गोलभेँडा खपत हुन्छ । बाँकी उत्पादन सस्तो मूल्यमा पोखरा, काठमाडौंलगायत बजारमा गइरहेको छ ।

गोलभेँडाबाहेक चितवनमा अन्य तरकारीको भाउ भने पछिल्लो एक महीना अवधिमा २० देखि ३० प्रतिशतसम्म बढेको छ । अहिले किसानको बोडी बारीबाटै प्रतिकिलो १२० रुपैयाँ र घिउसिमी प्रतिकिलो ११० रुपैयाँमा विक्री भइरहेको छ ।

एक महीनाको बीचमा करेला, खुर्सानी, भेडेखुर्सानी, मूला, गाजर, बन्दा, काउलीलगायत तरकारीको मूल्य पनि १० देखि १५ प्रतिशतसम्म बढेको छ । उत्पादन कम भएका तरकारीको मूल्य बढी हुने र उत्पादन बढी भएको तरकारीको मूल्य कम हुने सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘मूल्य बढेको होइन, उत्पादनको असर हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)