ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हावाहुरीले केरा खेतीमा करोडको क्षति

२०७८ बैशाख, ३१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनको पूर्वी क्षेत्रमा मंगलबार राती वर्षासहित आएको हावाहुरीले  केरा खेतीमा लाखौंको  क्षति पुर्‍याएको छ ।

पूर्वी चितवनको कुमरोज, रत्ननगर, खैरहनीलगायत क्षेत्रमा लगाइएको केरा खेतीमा क्षति पुगेको हो ।

खैरहनी नगरपालिका–१२, १३ र रत्ननगरको वडा–५ मा लगाइएको केरा खेतीमा हावाहुरीले क्षति  पुर्‍याएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेले जानकारी दिए । क्षतिको एकिन विवरण नआए पनि हालसम्म १ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

केरामा क्षति हुँदा खैरहनी र रत्ननगरको दक्षिण क्षेत्रका करिब २ दर्जन किसान प्रभावित भएका छन । बजारमा लैजान केही साता मात्र बाँकी रहँदा हावाहुरीले बोटै ढल्ने गरी क्षति पु¥याउँदा उनीहरू चिन्तित छन् ।

‘मेरो २० बिघामा लगाएको केरा खेतीमध्ये ६ बिघा कामै नलाग्ने गरी हावाहुरीले ढाल्यो । यतातिर अरू साथीको एउटा बोट पनि काम लाग्ने अवस्थामा छैन,’ खैरहनी नगरपालिका–१३ का   स्वर्णिम एकीकृत कृषक समूहका अध्यक्ष ऋषि गुरुङले भने  ।

समूहमा ११ जना कृषकमध्ये सबैजसोको केरा खेती नष्ट भएको उनले बताए । उक्त समूहमा आबद्ध प्रत्येक कृषकले १० देखि २० बिघामा केरा खेती गर्दै आएका छन् । कतिपय कृषकले भर्खरै केरा खेती सुरु गरेका र बीमासमेत गर्न नभ्याएका कारण उनीहरू थप मर्कामा परेको गुरुङको भनाइ छ ।

हावाहुरीले रत्ननगर नगरपालिका तथा खैरहनी नगरपालिकामा बढी क्षति पुगेको छ । संघका पूर्वअध्यक्ष विष्णुहरि पन्तले आफ्नो सबै गरी ३५ बिघामा केरा लगाइएमध्ये १२ बिघामा लगाइएको केरामा क्षति भएको बताए ।

‘हावाहुरीले बोटसमेत सोत्तर बनायो’, उनले भने, ‘यस वर्ष उत्पादन र बोट पनि राम्रै थियो ।’

कोरोना कहरको समय हावाहुरीले क्षति भए पनि बीमा कम्पनीले विवरण संकलन गरेर गएकाले नोक्सान कम हुने आशा कृषकको छ ।

यस पटक अघिल्ला वर्षजस्तो गर्मी नभएको र केरा पाक्नै ढिला गरेका कारण हावाहुरीको चपेटामा परेको कृषक बताउँछन् ।

संघमा हालसम्म सात सयभन्दा बढी किसान आबद्ध छन् । जिल्लामा ३ हजार ५ सय बिघाभन्दा बढी क्षेत्रफलमा केरा लगाइएको छ । चितवनमा वार्षिक डेढ अर्बसम्मको केराको कारोबार हुँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)