ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाका कारण ट्राफिक कार्यालय भरतपुरको राजस्व संकलन घट्यो 

२०७८ जेठ, ८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

जेठ ८, चितवन । चितवनमा वैशाखको दोस्रो सातापछि जारी निषेधाज्ञाका कारण राजस्व संकलनमा गिरावट आएको छ । आर्थिक वर्ष ०७७/०७८ को चैत्र महीनामा ३८ लाख १५ हजार ५०० संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुरले वैशाख महीनामा २२ लाख २५ हजार मात्रै राजस्व संकलन गरेको हो  । 

कार्यालयले सवारीसाधनको प्रकृति र ट्राफिक उल्लंघन गरेको आधारमा सवारीसाधनको कारवाहीबाट राजस्व संकलन गर्दै आएको छ । जसअनुसार कार्यालयले चैत्र महीनामा ट्रक टिपरबाट ६ लाख ८ हजार ५०० संकलन गरेको थियो भने वैशाख महीनामा यी सवारीसाधनबाट ४ लाख १ हजार ५०० मात्रै संकलन भएको छ । 

यस्तै, कार्यालयले बस, माइक्रोबाट चैत महीनामा ६ लाख २० हजार ५०० र वैशाख महीनामा ३ लाख ३३ हजार, जीप, कारबाट चैत महीनामा ९ लाख ३७ हजार र वैशाख महीनामा ५ लाख ३४ हजार, ट्याक्टरबाट चैत्र महीनामा १ लाख ८९ हजार र वैशाख महीनामा १ लाख १४ हजार, मोटरसाइकल कारवाहीबाट चैत्र महीनामा ११ लाख ६१ हजार रुपैयाँ र  वैशाख महीनामा ६ लाख ७७ हजार ५०० र टेम्पो र अन्य कारवाही गरी चैत्र महीनामा २ लाख ९९ हजार ५०० रुपैयाँ संकलन गरेको थियो भने वैशाख महीनामा १ लाख ६५ हजार संकलन गरेको छ । 

कार्यालयका प्रमुख भगवानराज थापाले निषेधाज्ञाका कारण सार्वजनिक तथा निजी सवारीसाधन नचलेकाले राजस्व संकलनमा कमी आएको बताए । ‘अहिले सवारीसाधनको आगमन न्यून पनि छ, थापाले भने, कारवाही गरिएका सवारी धनीले पनि जरीवाना रकम बैंकमा जम्मा गर्न पाएका छैनन् ।’

निषेधाज्ञा उल्लंघन र होल्डिङमा गरि कारवाही गरिएका सवारीसाधनको जरीवाना रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा हुने भएकोले पनि राजस्व संकलनमा असर परेको प्रमुख थापाको भनाइ छ । 

२ हजार ४०० सवारीसाधन कारवाहीमा 
चितवनमा वैशाख महीना अवधिभर सबै सवारीसाधन गरी २ हजार ३९९ कारबाहीमा परेका छन् । तर चैत्र महीनामा ४ हजार ७७ ओटा सवारी साधन कारवाहीमा परेका थिए । 

वैशाख १६ देखिनै अत्यावश्यक बाहेक सवारी साधन बन्द रहेकाले स्वतः कारवाही संख्यामा कमी आएको ट्राफिक प्रहरी प्रमुख थापाले बताए । ‘सरकारी सवारी साधन र अन्य अत्यावश्यक सवारी साधन मात्र चलेका छन्, थापाले भने, हामी अहिले सवारीसाधन कारवाही भन्दा पनि कोभिड न्यूनीकरणमा केन्द्रीत छौं ।’ 

हाल ट्राफिक प्रहरीले अन्य प्रहरीका सुरक्षा संयन्त्रसँग कोभिड न्यूनीकरण र सचेतनामा खटिएकाले नियमित ट्राफिक संकलनको काम समेत प्रभावित भएको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)