ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्पादकत्व बढाएर लागत कम गर्न ‘डेमो नर्सरी’ प्रदर्शन

२०७८ जेठ, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनले मेसिनबाट चैते धान रोपाइँ सफल परीक्षण भएसँगै बर्खे धान बिउका लागि  तयारी थालेको छ । किसानको लागत कम गरेर उत्पादन बढाउने उद्देश्यले प्रशिक्षणसहित ‘डेमो नर्सरी’ प्रदर्शन गरिएको हो ।

बर्खे धानको बिउ लगाउने समय भइरहेका बेला निषेधाज्ञामा पनि किसानलाई ‘डेमो नर्सरी’ प्रदर्शनमार्फत प्रशिक्षण दिइएको परियोजनाले जनाएको छ ।

स–साना ट्रेमाथि प्लास्टिक बिच्छाएर पूर्वी चितवनका किसानलाई डेमो नर्सरीको प्रशिक्षण दिइएको परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले बताए ।

‘यसले एकातिर किसानको लागत कम लाग्छ भने अर्कोतिर उत्पादकत्वमा पनि वृद्धि हुन्छ,’ उनले भने । यसअघि चैते धान रोप्न परियोजनाले धान रोप्ने आधुनिक मेसिनको परीक्षण गरेको थियो ।

दुई वटा मेसिन हाल खैरहनी नगरपालिका कुमरोजको साना किसान तथा कृषि सहकारी संस्था र रत्ननगर नगरपालिकाको बच्छ्यौलीको साना किसान सहकारी संस्थालाई अनुदानमा उपलब्ध गराइएको थियो ।

‘हाम्रो खास उद्देश्य निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी प्रविधि  हस्तान्तरण गर्ने हो,’ परियोजना इकाइका सूचना अधिकारी माधव पौडेलले भने, ‘एक साता अघि चितवनका २ ठाउँमा केही कठ्ठालाई पुग्ने मात्र नर्सरी राखेका छौं । डेमो नर्सरीमा  किसानलाई यो प्रविधिको फाइदा र विधि सिकाएका हौं ।’

यो प्रविधिको प्रयोग भए बिउ राख्दा र धान रोप्दा झन्डै आधा लागत कम हुने पौडेलले सुनाए । १२ देखि २० दिनसम्म यो बिउ रोप्नका लागि तयार हुनेछ ।

‘अन्य तरिकाले लगाइएको बिउ यो मेसिनले रोप्न मिल्दैन’, उनले भने, ‘यो प्रविधिबाट रोपाइँ गर्दा गोड्न पनि सजिलो हुन्छ । एकै दिन एउटा मेसिनले ८ बिघासम्म रोप्न सक्छ ।’  

साना किसान सहकारीका व्यवस्थापक रामहरि दाहालले यस क्षेत्रका किसानले डेमो नर्सरी प्रविधिको प्रशिक्षण लिएपछि आकर्षण बढेको बताए । ‘हामीले किसानको लागत, जनशक्ति र थोरै क्षेत्रफलमा बढी उत्पादकत्व दिनलाई अभिमुखीकरण गरेका हौं’, उनले भने, ‘चैते धानको सिजनमा भन्दा यो प्रविधि प्रयोग गर्ने किसान बढेका छन् ।’ कुमरोजमा पनि किसान यो प्रविधिका लागि अवलोकन र परामर्श लिन आउने गरेका छन् । जुनसुकै बिउ र मौसममा पनि बढी उत्पादकत्व दिने भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)