ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कच्चा पदार्थको अभाव भएपछि चितवनका दाना तथा औषधिजन्य उद्योग संकटमा 

२०७८ जेठ, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी


जेठ १३, चितवन । झण्डै एक महीनादेखिको निशेधाज्ञाका कारण चितवनका दाना तथा औषधीजन्य उद्योग संकटमा पर्न थालेका छन् ।

विशेषतः यस्ता उद्योगहरुलाई चाहिने कच्चापदार्थ  भारत तथा तेस्रो मुलुकमा निर्भर हुने हुँदा यसको असर यस्ता उद्योगमा परेको हो । अब पुनः एक हप्ता निशेधाज्ञा थपिएमा सबै कच्चा पदार्थको मौज्दात सकिने उद्योगीहरुले बताएका छन् ।

हाल कच्चा पदार्थको आयात सहज नभएको र मूल्य वृद्धि हुँदा थप समस्या झेल्नु परेको उनीहरुको भनाइ छ । अनमोल फिड्स प्रालि नारायणगढका प्रबन्ध निर्देशक शंकर कंडेल अब एक साता निशेधाज्ञा थप भए पूर्णरुपमा उद्योग बन्द गर्नुपर्ने अवस्था आउने बताउँछन् ।

‘अबको एकसाताको लागि त जेनतेन कच्चा पदार्थ त पुग्ला त्यसपछि त उद्योग बन्द गर्नैपर्ने स्थिति आउँछ । भटमास, पीना अन्य औषधीजन्य कच्चा पदार्थ भारतबाटनै आउनै कम भएको छ’, कंडेलले भने । उनका अनुसार मानिसको दैनिक खाद्य बस्तु उत्पादन र विक्रीमा समस्या नआएपनि पशुंपक्षीको दाना उत्पादनमा भने समस्या देखिन थालेको हो । 

‘निशेधाज्ञा भनेर नत कुखुराले दाना खान कम गर्छन् न अन्य पशुपंक्षीले’, उनले भने, ’ ब्रोइलर कुखुरा र अण्डा मासु विक्री भएन भने थप दाना, औषधीको उपभोग बढ्छ ।’ 

निशेधाज्ञाले पशुपंक्षीको मात्रै होइन अन्य कृषि खेतीमा प्रयोग हुने मल, बिषादी र पोषणजन्य उद्योगमा समेत असर पर्दै गएको छ । ‘अहिले भन्सारबाट सामान छुटाउन पनि गाह्रो छ । बजारमा माग पनि कम छ’ , उद्योग संघका उपाध्यक्ष एवं गोल्डेन एग्रो प्रालिका प्रबन्धक मदन घिमिरेले भने, ‘उत्पादन पनि पूर्ण क्षमतामा गर्न सकिएको छैन ।’ 

अन्य सामान्य अवस्थामा भन्दा निशेधाज्ञाको समयमा उत्पादन र बिक्रीको अनुपात झण्डै ५० प्रतिशतले  ह्रास आएको घिमिरेले बताए । हाल बर्षायाम शुरु हुँदै गर्दा धान,तथा अन्य तरकारी तथा फलफूल लगाउने सिजन भएपनि किसानमै नैराश्यता र अन्यौल हुंँदा उत्पादन, खरीदविक्रीमै असर परेको उनको भनाइ छ । 

दाना र औषधीजन्य उद्योगहरुमा निशेधाज्ञाले असर पुगेपनि अन्य निर्माणजन्य र अन्य मानिसको दैनिक उपभोग्य उत्पादनमा भने असर पुगेको छैन । मानिसको चहलपहल र आर्थिक गतिविधि सुस्सता आएपछि नत त्यस्ता उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छन नत बजारमा मागनै छ । 

उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ कृषि र पशुपंक्षी उद्योगमा केही असर पुगेपनि अन्य उद्योगहरु आंशिक तथा पूर्ण रुपमा चलेको बताउँछन् । ‘पोहोरजस्तो उद्योगहरु ठप्प छैनन, सबै उद्योगहरु आंशिक  रुपमा भएपनि चलेका छन्,’ श्रेष्ठले भने ।  

कृषिजन्य उद्योगको उत्पादनलाई निशेधाज्ञाले असर परे पनि अन्य दैनिक उपभोग्य बस्तुको उत्पादनमा असर परेको छैन । मानिसको उपभोग्य जन्य बस्तुको उपभोगमै कमी आएका कारण उत्पादन र विक्रीको सन्तुलन मिलेको छैन । ‘उद्योगको प्रकृति अनुसार उत्पादन र विक्रीमा निशेधाज्ञामा असर पर्नु स्वभाविक हो’, उनले भने, ‘तर पोहोर जस्तो दयनीय अवस्था भने छैन ।’ 

बजारमा खरीदविक्री नै कम भएपछि फूड एण्ड वेभरेज जन्य उद्योगको उत्पादन र उपभोगमा असर परेको छ । यस्ता वस्तुहरु लामो समयसम्म भण्डारण गर्न नसकिने र उत्पादित बस्तुको बजार पनि अन्यौल हुँदा बन्द हुने अवस्था आएको हो । 

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल निशेधाज्ञा थपिदै जाँदा आगामी साता ५० प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने बताउँछन् ।  
‘उद्योगलाई पहिलेकै अवस्थामा फकाएउन कर्जा पुर्नतालिकिकरण र पुनरकर्जा बिशेष राहत प्याकेज विना सम्भव छैन’, पौडेलले भने । 

उद्योगहरुमा कच्चा पदार्थको अभावसँगै बजार ठप्प रहेकोले उत्पादन भएर पनि उपभोगमा सन्तुलन आउन सकेको छैन । चितवनमा साना मझौला, ठूला उद्योग सबै गरी २ हजारभन्दा बढी उद्योग छन् जहाँ २ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)