ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकार कहाँ छ ?

२०७८ जेठ, १४  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

जनतालाई चाहिएको छ उपचार र खोप, सरकारलाई  चुनाव । संसदीय व्यवस्था रे, संसद् चैं चल्नै नपाउने । कोही संसद् विघटन गर्ने । कोही अदालत जाने । संसद्को पुनरुत्थान गर्ने रे । देश र जनताको उत्थान चैं कहिले र कस्ले गर्ने होला ? छिमेकीहरू अन्तरिक्षको फन्को मार्दै गर्दा हामी चैं संसद् र अदालतकै फन्को लाइरहने हो कि ? एउटै दलका नेताहरू एकअर्कालाई कारबाही र स्पष्टीकरणको दोहोरी । छ्या ! राजनीति किन यत्ति फोहोरी ?

हाम्रो देशमा यो सरकार भन्ने कुनै तत्वको अस्तित्व छ कि छैन । यदि छ भने त्यो कहाँ बस्छ ? उसको रूप कस्तो देखिन्छ ? ऊ दौरासुरुवाल लाएर बस्छ कि धोतीकुर्ता ?

सरकार भगवान् जस्तै भएर हो कि ‘छ’ भन्ने चाहिँ सुनिने, तर कतै नदेखिने । एकजना वृद्ध निषेधाज्ञामा पनि सरकारको खोजी गर्दै गाउँबाट राजधानीसम्म जसोतसो आएछन् । उनी चाहन्थे सरकारलाई भेटेर आफ्ना दुःखेसोहरू सुनाऊँ । तर उनले कि त सरकारका नोकरचाकरहरू भेटे, कि त जोकरहरू मात्र भेटे । सचिव, मुख्यसचिव र मन्त्री भनिनेलाई पनि भेटे । मेरो सरकार भनिरहने सरकारका मालिकलाई पनि भेटे । तर, सरकारको चैं दर्शन पाउन सकेनन्, सरकार चिन्न पनि सकेनन् ।

सरकार भनेको उनीजस्ता सामान्यजनको दुःखहर्ता, तिनका प्रश्नको उत्तरकर्ता हुन्छ भन्ने उनले सुनेका थिए । तर त्यो कतै भेटिएन । निराश, थकित र गलित भएपछि यी वृद्ध पशुपतिनाथ मन्दिर छेउ पुगेर एउटा कुनामा ढलेछन् । गहिरो निद्रामा उनको सपनामा स्वयं पशुपतिनाथ अर्थात् भोलेबाबा प्रकट हुनुभएछ ।

वृद्धले सोधेछन्– ‘हे भोलेबाबा ! तपाईं त्रिकालदर्शी हुनुहुन्छ, सर्वज्ञ हुनुहुन्छ । कृपया मलाई बताइदिनोस् कि हाम्रो देशमा यो सरकार भन्ने कुनै तŒवको अस्तित्व छ कि छैन । यदि छ भने त्यो कहाँ बस्छ ? उसको रूप कस्तो देखिन्छ ? ऊ दौरासुरुवाल लाएर बस्छ कि धोतीकुर्ता ? वा अरू केही ? ऊ कसरी हिँड्छ ? दुई खुट्टाले कि चारखुट्टाले ? उड्छ कि गुड्छ ? उसले काम चैं के गर्छ ? कसले अह्राएको गर्छ ? के बोल्छ ? बोलेको अनुसार गर्छ ? कहाँबाट बोल्छ, मुखबाट कि अन्य अंगबाट बोल्छ ?’

भोलेबाबाले गम्भीर भएर बोल्न थाल्नुभएछ – ‘हे बालक ! सरकारहरूलाई बुझ्न असम्भवप्रायः छ । यो छ पनि, छैन पनि । कर उठाउँदा दृश्य, जनता समस्यामा पर्दा अदृश्य । हामीले चाहेजस्तो नगर्ने, हामीले नचाहेको चाहिँ गर्ने । म त कुनै धन सम्पत्तिमा आशक्त छैन मात्र होइन, विरक्त नै छु । तर देखेनौ, म बाघको छालामै रमाउनेलाई एकाएक सुनको जलहरी भिराइदिएर कलंकित गरेको ? दुःखीहरूलाई दिनु नि । मन्दिरको कोषमा दिनु नि । मलाई यो के काम ? मलाई किन ?’

उहाँले थप्नुभएछ, ‘मैले हेर्दाहेर्दै सजिलै पाउन सक्ने स्वास्थ्य उपचारबाट हजारौं मनुवालाई वञ्चित गराइयो । मेरो आँगनमा ल्याइएका शवहरूको राम्रोसँग दाहसंस्कार समेत हुन पाएन ।

‘जो अगुवा उही बाटो ...के भनेझैं, देशकै कार्यकारी प्रमुखमाथि जालसाझीलगायत झण्डै आठ सय मुद्दाहरू परेका छन् । अनादिकालदेखि जताततै यति धेरै अत्याचार, चित्कार र हाहाकार मैले कहिल्यै देखेको थिइनँ । बालक ! के सरकार भएको भए यस्तो हुन्थ्यो र ?’

वृद्धले फेरि सोधे– ‘प्रभु ! अदृश्य नै सही, कतै न कतै त सरकारको अस्तित्व त होला नि  । नत्र यो केन्द्रीय सरकार, प्रान्तीय सरकार, स्थानीय सरकार आदि अनेक नामको सरकार के हुन् त ? ’ भोलेबाबा भन्नुहुन्छ– ‘हो, सरकार विभिन्न रूपमा भने छ । तर अदृश्य रूपमा । कहिले त्यो बिजुलीका पोलमा देखिन्छ, कहिले अक्सिजनका सिलिण्डरमा भेटिन्छ । तर त्यसरी भेटे पनि काम लाग्दैन । त्यस्तो रूप त सरकारका नोकरचाकरको फाइदाका लागि मात्र हो । सरकार त आफ्नै नोकरचाकरझैं भूतप्रेतजस्तै हुन्छ ।’

वृद्धले फेरि सोधे– ‘प्रभु ! त्यसो भए सरकार चल्छ कसरी ?’ भोलेनाथले भन्नुभयो– ‘सरकार धेरैजसो हेलिकोप्टर या कारमा हिँड्छ, अर्थात् विनाखुट्टै हिँड्छ । त्यसैले कहिलेकाहीँ लड्छ पनि । कहिले ऊ कामचलाऊ बनेर बस्छ । त्यसो भएपछि झन् मनपर्दी काम गर्न पाउँदो रहेछ । उसको कान हुँदैन, त्यसकारण कसैको सुन्दैन पनि । अनि त दुःखी, आपत्मा परेकाहरूको चित्कार उसले सुन्ने कुरै भएन । उसको आँखा पनि हुँदैन । त्यसैले जनताको दुःख देख्दै देख्दैन । तर, आफूलाई फाइदा हुने कुरा चाहिँ सुन्छ र देख्छ पनि । उसको हात पनि हुँदैन, तर नानाभाँती उपद्रो कर्महरू भने गरिरहन्छ ।’

वृद्धले फेरि जिज्ञासा राखे– ‘त्यसो भए यो सरकार भन्ने जीवले खान्छ चैं के त ?’

भोलेबाबाले उत्तरमा भन्नुभयो – ‘मुख छैन । तर सबैथोक खान सक्छ । सरकारको सुँघ्ने र खाने शक्ति बेजोड हुन्छ । ऊ सबै प्रकारका रसको पनि उपभोग गर्छ । खान अयोग्य भनेका वस्तुहरू त बढी नै खाइदिन्छ, जस्तै घूस । सिंगै पुल क्वाप्प पार्छ । सिमेण्ट, इँटा, छड पनि खाइदिन्छ । कहिले हवाईजहाज खाइदिन्छ, कहिले पानीजहाज र रेल । भेन्टिलेटर, खोप, सिरिन्ज, पञ्जा, मास्क, सिलिण्डर, औषधि त झिनामसिना भइहाले । यी सबै खाएर पचाइदिन्छ पनि । तर मुखै नदेखिने भएकाले खाएको हो भनेर प्रमाणित गर्न चैं सकिन्न । सरकारलाई प्रत्यक्ष रूपमा देख्न, अनुभव गर्नै पाइँदैन । खासमा सरकारको आकार ठूलै हुन्छ । तर त्यो प्रकटीकरण हुँदैन, अर्थात् देखिँदैन । हामी देवताहरू जस्तै बन्न खोजेर होला, ऊ पनि निराकार भएर पो बसेको छ त ।’

दुःखी वृद्ध अलमलमा पर्छन् । यो देखेर भोलेबाबा फेरि भन्नुहुन्छ– ‘त्यसैले हे मनुष्य ! तिमी सरकारको खोजी गर्नै छाडिदेऊ । बाहिर बाहिर भट्किएर नहिँड । बरु आँखा बन्द गरेर आफैभित्र खोज । सरकार तिमी आफैभित्र फेला पर्छ ।’

यति भनिसकेर भोलेबाबा अन्तरध्यान हुनुभएछ । सामुन्ने प्रहरीले हकार्दै थियो, ‘ओई निषेधाज्ञामा तँ यहाँ किन ? जाक्दिम जेलमा ?’ वृद्ध झल्याँस्स बिँउझिएछन् । तपाईं हामी पनि बिँउझिने बेला भएन र ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

krishna pradhan

[May 28, 2021 03:50am]

Madanji, Excellent Byanga. I advise you to collect all your Byanga articles (published in Abhiyan )into a book form. Congratulations! K.Pradhan



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)