ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय चितवन : लक्ष्यभन्दा १५ प्रतिशत कम राजस्व असुली

२०७८ जेठ, १९  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले वैशाख महीनामा लक्ष्यभन्दा कम राजस्व असुली गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख दोस्रो सातादेखि निषेधाज्ञा लागू गरिएपछि यसको असर राजस्व असुलीमा परेको हो ।

वैशाख महीनामा कार्यालयले २ अर्ब ३३ करोड ७ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा १ अर्ब ८९ करोड २३ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो, जुन लक्ष्यभन्दा १५ दशमलव १७ प्रतिशत कम हो ।

कार्यालयले वैशाखमा अन्तःशुल्कतर्फ सबैभन्दा बढी राजस्व असुली गरेको छ भने स्वास्थ्य सेवा शीर्षकमा राजस्व असुली शून्य छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्क शीर्षकमा १ अर्ब ९६ करोड १३ लाख ४ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ५५ करोड ८७ लाख ६२ हजार रुपैयाँ असुली गरेको हो ।

कार्यालयले आयकर, बहालकर, ब्याजकर र मूल्य अभिवृद्धि कर शीर्षकमा मात्रे लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर, शिक्षा सेवा करमा लक्ष्य भेट्न सकेको छैन ।

आयकर शीर्षकमा ११ करोड ४५ लाख ३५ हजार रुपैयाँको लक्ष्य दिइएकोमा १२ करोड ९३ लाख ४५ हजार, मूल्य अभिवृद्धि करतर्फ १५ करोड १५ लाख ३८ हजार रुपैयाँको लक्ष्य रहेकोमा १९ करोड ८७ लाख ६२ हजार र ब्याज कर शीर्षकमा ९६ लाख ५२ हजार रुपैयाँ असुली गर्ने लक्ष्य पाएकोमा कार्यालयले १५ लाख ९२ हजार रुपैयाँ मात्र असुली गर्न सकेको छ । यस्तै बहाल कर शीर्षकमा १ लाख ८९ हजार रुपैयाँको लक्ष्यमा २२ लाख ३५ हजार रुपैयाँ र शिक्षा सेवा करमा १ लाख ७१ हजार रुपैयाँ लक्ष्य रहेकोमा ७ हजार रुपैयाँ राजस्व असुली भएको छ ।

कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले कार्यालयको कर असुलीको मुख्य स्रोत नै अन्तःशुल्क भएको र यस शीर्षकमै कम राजस्व असुली भएकाले लक्ष्य भेट्न नसकिएको बताए । ‘वैशाख लागेदेखि नै निषेधाज्ञाको हल्ला र त्रास फैलियो,’ उनले भने, ‘निषेधाज्ञापछि मदिरा पदार्थको विक्रीवितरण रोकियोे, जसको प्रत्यक्ष असर अन्तःशुल्कतर्फको राजस्व संकलनमा पर्‍यो ।’ अन्य शीर्षकमा लक्ष्यभन्दा बढी संकलन भए पनि अन्तःशुल्क शीर्षकको कर असुलीमा असर परेकाले राजस्व संकलन लक्ष्यभन्दा कम भएको उनको भनाइ छ ।

चालू आवको १० महीना अवधिमा विभागले १५ अर्ब ६ करोड ३१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा १४ अर्ब ४ करोड ८७ लाख ३१ हजार रुपैयाँ असुली भएको छ । विभागले कार्यालयलाई चालू आवमा १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)