जेठ १९, चितवन । विभिन्न पेशासँगै अन्य व्यवसायमा हात हाल्नु नौलो विषय होइन ।
विभिन्न सरकारी निकाय तथा निजी संस्थामा काम गरेर पनि यसको अतिरिक्त कतिपयले अलग्गै व्यवसाय पनि अंगाल्दै आएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १० का दुई जना शिक्षकले अध्यापनको साथै कुखुरापालन व्यवसाय पनि अंगालेका छन् ।
यी हुन् स्थानीय नगेन्द्रराज पाण्डे र विष्णुबाबु जोशी । उनीहरुले नाताले मामाभान्जा हुन् । उनीहरुले रत्ननगरकै कलेजमा पढाउँछन् । शिक्षण पेसाले आर्थिक अवस्थामा सुधार नआएपछि उनीहरुले रत्ननगर–११ मा व्यावसायीकरुपमा कृषि फार्म शुरू गरेका हुन् । ‘के गर्नु पढाएर मात्र परिवार पाल्न सकिएन । त्यसैले यो व्यवसायलाई सँगै लगेका हौं। उनीहरुले एकै स्वरमा भने’ ।
उनीहरुको कुखुरापालन गर्ने तरिका अन्य किसानको भन्दा फरक छ । अधिकांश कुखुरापालक किसानले व्यवस्थित खोरसहित कुखुरा पालन गर्दै आएपनि उनीहरुले खुला आकाशमा कुखुरा पाल्न शुरु गरेका हुन् ।
फार्ममा उनीहरुले चारओटा सामान्य प्रकारका खोेर बनाएका छन् । खोर कुखुरा राख्न बनाइएको होइन । खुल्ला चौरमा रमाइरहेका कुखुरालाई पानी पर्दा ओत लाग्न मात्र खोर बनाइएको छ। कुखुरालाई चौरमै दाना हालिन्छ । चोरमै चर्न छाडिन्छ । उनीहरु कलेजको अध्यापनको काम सकिएपछि पाण्डे र जोशीको आफ्नै नमस्ते एकीकृत कृषि फार्ममा कुखुरा रमाउने गरेका छन् । तारजालीले कम्पाउन्ड गरिएको फार्ममा लोकल र कडकनाथ प्रजातिका कुखुरा रहेका छन् । लोकलमा साकिनी, घाँटीखुइले, उल्टे, लोकल मिक्स प्रजातिका कुखुराहरु व्यावसायीक रुपमा पालिएका छन् ।
उनीहरुले केही महीना अघिबाट कुखुरापालन शुरू गरेका हुन् । पहिलो लटमा ५०० लोकल र ५०० कडकनाथका चल्ला हालेका उनीहरुले पहिलो आम्दानी लिइसकेका छन् । ‘स्थानीय जातको कुखुरामा माग पनि बढी छ, मूल्य पनि राम्रै छ । पाल्न पनि सजिलो लाग्यो ।’ कृषक नगेन्द्रराज पाण्डे भन्छन् ।
एक बिघा जग्गा भाडामा लिएर शुरू गरेको एकीकृत कृषि फार्ममा अहिले लोकल र कडकनाथ गरी एक हजार ५०० कुखुरा रहेका छन् । लोकल र कडकनाथ जातका कुखुरा ५ महीनामा खानका लागि तयार हुन्छ । पाँच महीनाको अवधिमा एउटा कुखुरा भाले २ किलो र पोथी डेढ किलो हुन्छ ।
लोकल भाले प्रतिकिलो ७००, पोथी ६००, कडकनाथ प्रतिगोटा २ हजार ५०० रूपैयाँमा विक्री हुँदै आएको छ । हाल बजारको समस्या नभएको भन्दै फार्मबाटै कुखुरा विक्री हुने गरेको जोशीले बताए ।
‘फोनमार्फत नै कुखुराको माग हुने गरेको छ’, उनले भने, ‘अधिकांश मान्छेहरु फार्ममै कुखुरा लिन आउँछन् ।’ यी दुई प्रजातिको कुखुरा विक्रीका लागि बजारीकरणको समस्या नहुने जोशीको अनुभव छ । यसका लागि शुरुमा २० लाख लगानीबाट शुरु गरिएको र विस्तार गर्दै लैजाने उनीहरुको योजना छ ।
‘यी जातको कुखुरामा रोगको संक्रमण पनि कम हुने र दाना, औषधी पनि त्यति खर्च हुदैन ।’ अर्का कृषक पाण्डेले भने । मासिक तलब बुझेको पैसाले गुजारा चले पनि आर्थिक उन्नति नहुने भएकोले यसतर्फ आफ्नो आकर्षण रहेको उनीहरुको भनाइ छ । कुखुरासँगै फार्ममा बाख्रापालन, कालिज र लौकट व्यवसायिक रुपमा पाल्ने योजना रहेको पाण्डेले बताए ।
कृषि फार्म शुरू गरे पनि पाण्डे र जोशीले शिक्षण पेसा भने छाडेका छैनन् । बिहान कलेज पढाउने र अधिकांश समय कुखुरापालनमा खर्चिने गरेका छन् ।