ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा उद्योग दर्ता गर्ने तीन गुणाले घटे

२०७८ जेठ, २१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोरानो महामारी नियन्त्रणका लागि चितवनमा गत वैशाख दोस्रो सातापछि गरिएको निषेधाज्ञाका कारण उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले कमी आएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय चितवनको तथ्यांकअनुसार चैतमा सबै उद्योग गरी ३८७ वटा उद्योग दर्ता भएकामा वैशाखमा जम्मा १२३ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी वन तथा कृषिजन्य उद्योग रहेका छन् ।

चैत महिनामा यो शीर्षकमा २५६ वटा उद्योग दर्ता भएका थिए भने वैशाखमा ८७ वटा उद्योग दर्ता भएका छन् । यस्तै, चैत्र महिनामा उत्पादनमूलक उद्योग ५३, वैशाखमा १३, चैतमा सेवामूलक उद्योग ७१ र पर्यटनमूलक उद्योग ७ वटा दर्ता भएका थिए ।

वैशाखमा सेवामूलक २२ वटा उद्योग र पर्यटनमूलक उद्योग एउटा मात्र दर्ता भएको छ । दुई महिनामा ऊर्जामूलक उद्योग, निर्माणमूलक उद्योग र विज्ञान तथा सूचना प्रविधिजन्य उद्योग भने दर्ता भएका छैनन् ।

कार्यालयका लेखाप्रमुख नारायण लम्सालले निषेधाज्ञाले गर्दा नै उद्योग दर्ता गर्नेको संख्या न्यून रहेको बताए । ‘कोरोना महामारीको हल्लासँगै वैशाख पहिलो सातादेखि नै उद्योग दर्ता गर्ने कम हुँदै गएका थिए,’ उनले भने, ‘वैशाख १६ देखि  निषेधाज्ञा जारी भयो ।’

गत वर्षको कोरोना महामारीको समयभन्दा यसपटक उद्योग दर्ता गर्नेको संख्या उल्लेख्य रहेको उनको भनाइ छ ।

कार्यालयमा सबै शीर्षकभन्दा बढी वन तथा कृषिजन्य उद्योगमा आकर्षण बढेको पाईएको छ । ‘कृषि सरकारको प्राथमिकता परेको क्षेत्र पनि भयो’, लेखा अधिकृत लम्सालले भने, ‘यो क्षेत्रमा अनुदान र सहुलियत ब्याजदर पनि उपलब्ध छ ।’

चितवन कृषि क्षेत्रको हब भएको र उत्पादनको प्रशस्त सम्भावना रहेकाले पनि यो शीर्षकमा बढी उद्योग दर्ता हुने गरेको उनले बताए । कार्यालयले उद्योगबाट चालू आर्थिक वर्ष वैशाखसम्म  ८ करोडभन्दा बढी राजस्व संकलन गरिसकेको छ ।

‘यो आवमा ८ करोड संकलन गर्ने अनुमान थियो । अहिले नै ८ करोड रुपैयाँ नाघिसकेको छ’,  उनले भने, ‘निषेधाज्ञा नभएको भए असार मसान्तसम्म १० करोड पुग्थ्यो ।’

अबका दिनमा निषेधाज्ञा खुकुलो भए पनि उद्योग दर्ता गर्नेको संख्यामा उत्साह नहुने उनको भनाइ छ ।

‘चालू आर्थिक बर्ष सकिने बेला पनि भयो’, उनले भने, असारमा क्लोजिङ सुरु हुने हुँदा बैंकले ऋण प्रवाहमा पनि कडाइ गर्छन् ।’

हाल यो कार्यालयबाट ५ लाखदेखि ५ करोड पुँजी भएका उद्योग दर्ता हुँदै आएका छन् । कार्यालयले उद्योग दर्ता गरेबापत न्यूनतम १२ हजार एक सय रुपैयाँ राजस्व लिने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)