ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिक्रियामा समेत लैङ्गिक भिन्नता !

Feb 24, 2014  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हामी शपिङ गर्दाको आफ्नो अनुभव अरुलाई सुनाउँछौं । कहिलेकाहीँ आफूले किनेको सामान कमसल वा नराम्रो परे त्यसबारे नकारात्मक टिप्पणी पनि दिने गरेकै छौं । यस्तो व्यवहार सामान्य हो । तर, युनिभर्सिटी अफ टेक्सासका यिनलङ्ग जाङ, युनिभर्सिटी अफ पिटरबर्गका लरेन्स फेइक र राइस युनिभर्सिटीका विकास मित्तलले गरेको संयुक्त अध्ययनले भने महिला र पुरूषले कुनै पनि वस्तु वा सामग्रीबारे दिने प्रतिक्रियाबीच भिन्नता पाइने देखाएको छ । ‘वस्तुको नकारात्मक टिप्पणी गर्नु मार्केटिङ सञ्चारको महत्वपूर्ण प्रेरक तत्व हो, नकारात्मक टिप्पणीमा संलग्न हुने व्यक्ति महिला वा पुरूष, उसले नजिकको साथीसँग कुरा गरिरहेको छ वा अरुसँग भन्ने कुराले समेत उनीहरुले दिने प्रतिक्रिया निर्धारण गर्दछ,’ अनुसन्धानकर्ताहरुले भनेका छन् । त्यसैगरी, आफू स्मार्ट उपभोक्ता हो भन्नेबारे सजग हुनु/नहुनुले समेत प्रतिक्रिया प्रभावित हुने बताइएको छ ।

महिला र पुरूषको व्यवहार अध्ययन गर्न अनुसन्धानकर्ताहरुले शृङ्खलाबद्ध परीक्षणहरु गरेका थिए । परीक्षणकै क्रममा सहभागीहरुलाई उनीहरुले गरेको किनमेलमध्ये सबैभन्दा मन नपरेको खरीददारी स्मरण गर्न र यसको अनुभूतिबारे अरुलाई कसरी बताउनेबारे सोधिएको थियो । अनुसन्धानकर्ताले सहभागीहरुले बोलेको कुरालाई तोडमरोड गरेर उनीहरुबारे अरु सहभागीहरुको सोचाइको विभिन्न स्तर मापन गरेका थिए । यसैक्रममा गरिएको एक अध्ययनले पुरूषहरु आफ्नो छविप्रति बढी संवेदनशील पाइए पनि आफूले किनिसकेको सामानबारे नकारात्मक टीकाटिप्पणी गर्न उनीहरु उत्सुक नरहेको देखाएको छ । नकारात्मक टिप्पणी दिँदा अरुले आफ्नोबारे के सोच्छन् भन्नेप्रति बढी सजग भएका पुरूषले नकारात्मक प्रतिक्रिया नै नदिनेसमेत अध्ययनकै क्रममा भेटिएको छ । तर, यस्तै अध्ययनमा महिलामा भने भिन्न प्रवृत्ति भेटिएको बताइएको छ । आफ्नो प्रतिष्ठाबारे सजग भएको बेलामा किनमेलबारे अपरिचितहरुसँग नकारात्मक टिप्पणी दिने सम्भावना कम भेटिए पनि साथीसङ्गी वा नजिकका व्यक्तिहरुसँग भने उनीहरुले खुलेरै नकारात्मक टिप्पणी गर्ने अध्ययनको क्रममा पाइएको छ ।

यसअघि भएका अध्ययनहरुमा नकारात्मक मौखिक सञ्चार मूलतः उत्पादन प्रदर्शनको एउटा रुप भएको र यसमा सामाजिक तत्वको भूमिका नगन्य रहने मानिएको थियो । ‘तर यसको विपरीत हाम्रो यो अध्ययनले भने लैङ्गिक विविधता जस्तो सामाजिक तत्वले मानिसले असन्तुष्टि व्यक्त गर्छ वा गर्दैन भन्नेमा ठूलो भूमिका निर्वाह गरेको स्पष्ट पारेको छ,’ अध्ययनको निष्कर्ष छ । यसका अतिरिक्त फेशनसँग सम्बन्धित वस्तु वा यस्तै खाले उत्पादनका बारेमा नकारात्मक टिप्पणी दिँदा मानिसहरु आफ्नो छविका बारेमा बढी सोचमग्न हुने र केही गलत भइहाले त्यसलाई स्वीकार गर्ने सम्भावना कम हुने अनुसन्धानकर्ताहरुको दाबी छ । यो अध्ययन प्रतिवेदन ‘जर्नल अफ कञ्ज्युमर रिसर्च’को डिसेम्बर महीनाको संस्करणमा प्रकाशित भइसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)