ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौरीपालनमा निषेधाज्ञाको असर : उत्पादनमा ह्रास, विक्री पनि छैन

२०७८ जेठ, २३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको १ महीनाभन्दा बढी भइसकेको छ । निषेधाज्ञाका कारण अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र ठप्पप्रायः छन् । कोरोना महामारीका कारण सबै गतिविधि प्रभावित भइरहँदा यसको असर कृषिक्षेत्रमा पनि परेको छ ।

चितवनमा अघिल्लो वर्षदेखि नै मह उत्पादनमा ह्रास आएकोमा यसपटकको निषेधाज्ञाले मौरीपालक किसानलाई थप चिन्तित बनाएको छ । चरनको अभाव हुँदै जाँदा यस वर्ष पनि उत्पादन खुम्चिएको छ । ‘चरनको अभावले मह उत्पादन घटेको छ, निषेधाज्ञाको प्रभावले उत्पादन विक्रीमा पनि समस्या छ,’ भरतपुर महानगरपालिका–९ का मौरीपालक विष्णु भुसालले भने । अहिले वन लगायत स्थानीय बारी तथा खेतहरूमा फूल नफुल्ने भएकाले मह उत्पादन नहुने र भएका मौरीलाई चिनी÷चास्नी खुवाएर पाल्नुपर्ने उनले बताए ।

‘अहिले मौरीका लागि खर्च मात्र हुने बेला हो, आम्दानी शून्य,’ उनले भने । यस्तै विगत केही दिनदेखि परेको हावाहुरी, पानीले घारभित्रका मौरी मर्न थालेको र रानो पनि उत्पादन हुन नसकेको खैरहनी नगरपालिका–४ का किसान श्याम गुरुङले बताए । गतवर्षदेखि बन्दाबन्दीको मार खेपिरहेका मौरीपालक किसान यस वर्ष निषेधाज्ञाका कारण थप मारमा परेका छन् । जिल्लाका मौरीपालक किसानले मौरी चरनको अभावले उत्पादनमा ह्रास, उत्पादन हुँदा समेत उचित मूल्य नपाउने लगायत समस्या खेप्दै आएका छन्, जसकारण कतिपय किसान यो पेशाबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् ।

‘अहिले महको माग भए पनि उत्पादन छैन, चरन पनि छैन । मौरीलाई बचाउन पनि उत्तिकै गाह्रो छ,’ मौरीपालक किसान गुरुङले भने । स्थानीय उत्पादन प्रवद्र्धनमा प्रोत्साहनका लागि सरकारले विशेष योजना नल्याउँदा यस व्यवसायप्रति निराशा बढेको उनको भनाइ छ ।

जिल्लामा मौरीपालन तथा उत्पादनमा वर्षेनि ह्रास आएको छ, जसकारण उपभोक्ताले विदेशी महँगो मह वा सस्तोमा कम गुणस्तरको मह उपभोग गर्नुपर्ने बाध्यता छ ।

‘मौसममा व्यापक परिवर्तन छ । न मौसममा फूल फुलेका छन्, न त प्रशस्त रूपमा मौरीले चरन गर्न पाएका छन्,’ मौरीविज्ञ डा. खेमराज न्यौपानेले भने, ‘यसले मौरीपालनमा चुनौती सृजना भएको छ ।’ स्वदेशी उत्पादनको प्रवद्र्धनमा राज्यको ठोस नीति तथा कार्यक्रम नहुँदा मोरीपालन क्षेत्र पनि उपेक्षामा परेको उनको भनाइ छ । ‘वर्षेनि मौरी गोला विस्तार र महकै उत्पादनमा ठूलो ह्रास आएको छ, यो चिन्ताको विषय हो,’ उनले भने ।

मौरीको भूमिका मह उत्पादन गर्ने मात्र नभई परागसेचनको कारण खाद्यान्न बाली उत्पादनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । केही वर्षदेखि महको उत्पादन घट्दै गएपछि माग धान्न सकेको छैन । नयाँ किसान यस व्यवसायमा थपिए पनि उत्पादन अपेक्षित रूपमा बढ्न सकेको छैन । ‘मूल्य बढ्यो, माग बढ्यो भनेर नयाँ किसान आउनुभएको छ,’ मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले भने, ‘तर घारको संख्यामा वृद्धि भए पनि मह उत्पादन बढेको छैन । उनका अनुसार गतवर्षभन्दा यस वर्ष मह उत्पादन ३० प्रतिशतले घटेको छ । विगतका वर्षमा प्रतिघार वार्षिक २२ केजी मह उत्पादन हुने गरेकोमा हाल प्रतिघार १५ देखि १६ केजी मात्र उत्पादन हुने गरेको शर्माले बताए । चितवनमा मौरीका ३५ हजार घार रहेका छन् भने मौरीपालक किसानको संख्या ५०० को हाराहारीमा छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)