ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाको प्रभावले माछा व्यवसायमा ८० प्रतिशत ह्रास

२०७८ जेठ, २४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोभिड नियन्त्रणका लागि करीब डेढ महीनादेखि लागू गरिएको निषेधाज्ञाको प्रभावले चितवनको माछा व्यवसायमा ठूलो ह्रास आएको छ । नेपाल मत्स्य व्यवसायी महासंघका अनुसार माछा व्यवसाय चितवनसहित देशभर समग्रमा ८० प्रतिशत घटेको छ ।

निषेधाज्ञापछि  होटल, रेष्टुराँ, विवाह, पार्टीजस्ता गतिविधि ठप्प हुँदा यसको असर माछा व्यवसायमा पनि परेको हो । ‘निषेधाज्ञापछि माछा विक्रीमा झण्डै ८० प्रतिशत कमी आएको छ,’ महासंघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भने । स्थानीय प्रशासनले माछा खरीदविक्रीमा छोटो समय लागू गरेको र बिहानको समयमा खुला गरिएकाले माग अनुसार विक्री गर्न नसकिएको अधिकारीको भनाइ छ । उनका अनुसार दिउँसोको समयमा पोखरीबाट निकालेर बेलुका पसलमा विक्री गर्दा कारोबार प्रभावकारी र व्यावहारिक हुनेछ ।

नेपाल मत्स्य व्यवसायी संघ, चितवनका उपाध्यक्ष लुलाराज तामाङ निषेधाज्ञाको शुरुआती समयमा अन्योलको अवस्था रहे पनि पछिल्लो समय ढुवानी र माछाको दानाका लागि भने सहज भएको बताउँछन् । ‘माछा उत्पादन पनि राम्रै छ, माग पनि छ तर उपभोक्तासम्म पु¥याउन सकिएको छैन,’ तामाङले भने, ‘पसल नै खुल्न नपाएपछि विक्री कसरी हुन्छ र ?’

यसैबीच, उत्पादन बढ्दै गएपछि पोखरीमा अक्सिजनको अभाव हुँदा माछा मर्न थालेका छन् । तयार भएका माछा किसानले पोखरीबाट निकाल्न नपाउँदा अक्सिजनको अभाव भएको हो । रत्ननगर नगरपालिका–९ का किसान भरत महतो विक्रीका लागि तयारी माछा निकाल्न नपाउँदा र माछाको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भई माछा मर्न थालेको बताउँछन् । ‘माछाको उत्पादन, आकार र वजन पनि बढेको छ, अर्डर नआई निकाल्न मिल्दैन,’ उनले भने, ‘पोखरी साँघुरो भएर माछा मर्न थाले ।’ उनका अनुसार माछामा हाल कुनै रोग तथा दानाको अभाव नभए पनि प्रायः बिहानको समयमा अक्सिजन कम भएर माछा मर्न थालेका हुन् । भरतपुर महानगरपालिका–२६ का किसान खगेन्द्र सुवेदी निषेधाज्ञाअघि नै तयार भएका माछा हालसम्म पनि विक्री नभएपछि अक्सिजनको अभाव भएको बताउँछन् । ‘एउटै पोखरीमा ठूला र साना माछा खचाखच छन्,’ उनले भने, ‘जसले गर्दा पोखरीमा अक्सिजनको मात्रा पर्याप्त हुँदैन ।’ संघका अध्यक्ष समेत रहेका सुवेदीले पानीको तह बढ्दा माछा निकाल्न नसकिने र घट्दा अक्सिजनको अभावले माछा मर्न थालेको बताए । ‘अहिले विक्री भन्दा पनि माछा कसरी बचाउने भन्ने मुख्य चुनौती छ,’ उनले भने, निषेधाज्ञा खुकुलो भयो भने नोक्सान कम होला ।’

संघका अनुसार चितवनमा २ हजार ३८६ वटा माछापोखरी छन्, जहाँ ८५४ हेक्टरमा माछापालन हुँदै आएको छ । जिल्लामा १ हजार ३०० माछापालक किसान छन् । महासंघका अनुसार देशभर २० हजारभन्दा बढी माछापालक किसान छन् । वार्षिक १० अर्बको हाराहारीमा माछाको कारोबार हुँदै आएको छ भने देशको कुल मागको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले धानेको छ । मागको २० प्रतिशत भने भारत लगायत अन्य देशबाट आउने गरेको महासंघले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)