ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनका अटोमोबाइल व्यवसायीको गुनासो :  बुकिङ्ग छ, विक्री छैन 

२०७८ जेठ, ३०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

जेठ ३०, चितवन ।  निषेधाज्ञाका कारण चितवनका अटोमोवाइल व्यवसायी थप मारमा परेका छन् ।

व्यवसायीले  वर्कसप र सर्भिस सेन्टर  खुल्ला भएपनि शोरुमबाट नयांँ गाडी तथा मोटरसाइकल विक्री गर्न पाएका छैनन् भने अधिकांश भारतबाट आउने गाडीको पनि आपूर्ति ठप्प रहेको छ । निशेधाज्ञा बीच पनि निजी कार तथा व्यवसायिक गाडीहरुको माग भए पनि शोरुम खोल्न नपाउँदा उनीहरु मर्कामा परेका हुन् ।

अधिकांश अटोमोबाइल शोरुममा गाडीको मौज्दात सकिइसकेको छ भने कतिपय शोरुममा थप नयाँ गाडीहरु आउन नसकेको व्यवसायीहरुले बताएका छन् । 

चितवन अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष एवं ह्यन्दे गाडीका विक्रेता ईश्वरकुमार श्रेष्ठ गाडीको माग भएपनि आपूर्ति हुन नसकेको बताउँछन् । ‘निषेधाज्ञा अघिपनि ग्राहकको चाप थियो । अहिलेपनि बुकिङ्ग छ तर ग्राहकलाई दिन सकिएको छैन’, श्रेष्ठले भने । 

उनका अनुसार नेपालभन्दा अघिनै भारतमा लकडाउन भएको र त्यहाँ उत्पादन हुन छाडेपछि यसको आपूर्तिको असर नेपालमा  परेको हो । ‘हामीकहाँ सबै वर्गलाई लक्षित हुने गाडीको माग जति पनि छ, उनले भने, तर विक्री भने शून्य छ । हाल उनको वर्कसपमा पनि अत्यावश्यक गाडीहरुको मर्मत सम्भारको काम मात्र भएको उनले बताए । 

गत वर्षदेखि लकडाउन र निषेधाज्ञाले व्यापार व्यवसाय प्रभावित बन्न पुग्दा हाल ठूला उद्योगी व्यवसायी घरानाले पनि मध्यम मूल्यका गाडी चढ्ने थालेका छन् । जसले गर्दा ठूला महंगा तथा विलासी गाडीभन्दा बढी साना गाडीमा आकर्षण बढेको छ । ‘कम रेञ्जका गाडीको माग राम्रै छ । माग भएर के गर्नु शोरुममा गाडीनै छैन’, थ्रिडिज मोटर्सका प्रबन्ध निर्देशक दिनबन्धु चापागाईले भने । 

प्रायः गाडी शोरुममा त्यति भीडभाड नहुने र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरिएकोले यो व्यवसायलाई सहज बनाउनु पर्ने उनको तर्क छ  । कोरोना जोखिमका कारण बन्द भएका सार्वजनिक यातायातका कारण साना ढुवानी गर्ने गाडी तथा मालबाहक गाडीको विक्री भने सन्तोषजनक रहेको छ ।

तर ग्राहकले लगिसकेको गाडी यातायात तथा सेवा कार्यालयबाट उनीहरुको  नाममा नामसारी गर्न नपाउँदा आफूहरु दोहोरो मारमा परेको बताउँछन् सफल मोटर्सका प्रबन्ध निर्देशक एवं सिप्रदी ट्रेडिङ्गका आधिकारिक विक्रेता गोपाल भट्टराई । 

‘गाडीको माग पनि छ, विक्री पनि ठिकै छ तर यातायात कार्यालयबाट नामसारी नहुँदा बैंकबाट भुक्तानी पाइएन’, भट्टराईले भने ।  यसका लागि स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालयले सहज र विकल्प अपनाउनु पर्ने उनले  बताए ।

चारपाँग्रे गाडीको विक्री र आपूर्ति ठप्प भएसँगै निशेधाज्ञाले दुईपाँग्रे सवारीसाधनमा समेत गम्भिर असर परेको छ । दुईपाँग्रे सवारीाधनको माग, मौज्दात  भएपनि कोभिडका कारण माग भएपनि बेच्न नसकेको बताउँछन्  नवीन अटो सेन्टरका प्रबन्ध निर्देशक एवं यामाहा कम्पनी नारायणगढका आधिकारिक विक्रेता  कपिल  कर्माचार्य ।

‘गाडी शोरुमभन्दा मोटरसाइकल शोरुम अलि बढी भीडभाड हुने क्षेत्र हो, उनले भने, फोनमा सोधपुछ आएपनि विक्री भने गरेका छैनौं ।’ हाल शोरुममा मोटरसाइकलको मौज्दात केही महीना पुग्ने भएकोले आपूर्तिमा समस्या भने नभएको उनको भनाइ छ । 
कामदारका लागि  कोभिड भ्याक्सिनको माग 
 

अटोमोबाइल व्यवसायीले वर्कसप खुलेपनि जोखिममुक्त अवस्थामा भने काम नहुने गरेको बताएका छन् । वर्कसप खोलेर मर्मतसम्भार र सर्भिसिङ्गको कामलाई निरन्तरता दिएपछि कोभिडको उच्च जोखिम भने कायम रहेको उनीहरुको भनाइ छ ।

थ्रीडीजका प्रबन्ध निर्देशक चापागाईंले शोरुममा भन्दा वकसर्पमा बढी जोखिम रहेको भन्दै कम्तिमा अटोमोबाईल क्षेत्रका मजदूरलाई सरकारले भ्याक्सिन उपलब्ध  गराएर सहयोग गर्नुपर्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)