ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२२ करोड लगानीमा चितवनमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना

२०७८ असार, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार १, चितवन । भरतपुर महानगरपालिका - ४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना गरिएको छ । 

मनकामना ग्रुपले सञ्चालनमा ल्याएको दरबारफुड इन्डिष्ट्रिजबाट हाल ‘मेहक’ ब्राण्डका १६ प्रकारका मसला उत्पादन हुन थालेको छ । स्वदेशमै उच्च गुणस्तरको खाद्यसामाग्री उपलब्ध गराउने उद्धेश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले बताएको छ ।

मसला लगायत अन्य खाद्य वस्तुको उत्पादन शुरु गर्दासम्म २२ करोड रुपैयाँ लगानी अनुमान गरिएको यो उद्योग नौ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निषेधाज्ञा बीचनै मसलाजन्य उत्पादन शुरु गरिएको र अन्य उत्पादनहरु निषेधाज्ञापछि शुरु गरिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए ।

‘एक महीनादेखि नै मसलाजन्य उत्पादन र विक्री पनि शुरु भइसकेको छ’, उनले भने, ‘निषेधाज्ञा पछि अन्य उत्पादनको मेशीन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन,चियापत्ती, कन्फेल्क्स, कुरकुरे, आलुचिप्स लगायतका उत्पादन शुरु गरिने अर्यालले बताए ।

 उक्त समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योगहरु सञ्चालन गर्दै आएको थियो । कम्पनीलाई विस्तार गर्ने र अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्धेश्यले खाद्यवस्तु उद्योगमा पनि  लगानी गरिएकोे उनको भनाइ छ ।

उक्त समूहले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट र एभोकाडो ईन्टरनेशन मार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्तिको काम गर्दै आएको छ । ‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, ‘अहिले नयाँ सोच र उद्धेष्यका साथ खाद्यजन्य उद्योगमा हात हालेका हौं । अब क्रमश: निर्याततर्फ बढ्नेछौं ।’

हाल जर्मन प्रविधिमा आधारित भारतमा बनेको उक्त मेशीन बढी अत्याधुनिक र बढी उत्पादन क्षमता रहेको छ । कम्पनीका अनुसार प्रतिदिन यो मेशिनले प्रतिघण्टा ४०० केजी मसला उत्पादन गर्नेछ । स्वचालित मेशीन भएकोले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेशीनले मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङ्गसमेत मेशीनबाटनै हुर्ने  अध्यक्ष अर्यालले  जानकारी दिए । 

लामो समयको बजार अनुसन्धान, माग, र आपूर्ति र अन्तरराष्ट्रिय बजारको अवस्थालाई समेत ध्यानमा राख्दै निर्यात गर्ने उद्धेश्यले उद्योग स्थापना गरिएको दरबार फुड इन्डिष्ट्रिजका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुषालले बताए । ‘हामीले धेरैसमय लगाएर बजार अनुसन्धान गर्‍यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं’, प्रबन्धक भुषालले भने ।

उनका अनुसार निम्न वर्गको भान्सादेखि तारे होटलहरुलाई लक्षित गरी मसलाजन्य उत्पादन शुरु गरेको र अब गरिने  अन्य उत्पादन पनि सबै  वर्ग लक्षित हुने र उच्च गुणस्तरको हुनेछ । हाल निषेधाज्ञाका कारण मसलाको माग अनुसारको आपूर्ति गर्दै आएको र निषेधाज्ञा खुलेपछि देशभर आपूर्ति हुनेगरी उत्पादन हुने भुषालको भनाइ छ । 

हाल मसला उद्योगमा प्रत्यक्षरुपमा ३५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।सबै उत्पादन शुरु भएपछि १५० जनाले रोजगारी पाउने पनि उनले बताए ।
 नेपालमै उच्च गुणस्तर, प्रकार र स्वाद अनुसार मसला उत्पादन गरिएकोले उत्पादहरुले राम्रो बजार पाएको दाबी कम्पनीले गरेको छ ।

अझै पनि ४० प्रतिशत हाराहारीमा  नेपाली तयारी मसलाको पहुँचमा नपुगेको भन्दै गुणस्तरीय कायम राख्दै मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्धेश्य रहेको भुषालले बताए । 

‘तयारी मसलाको पहुँच ६० प्रतिशतको हाराहारीमा होला । बाँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ बाँकी बाहिरबाट आउँछ’, उनले भने, ‘यसको बजार र संभावना बढिरहेको मसला उत्पादनबाट शुरु गरेका हौं ।’ 

यो उद्योगको पूर्वाधार निर्माण दुई वर्षअघिदेखि शुरु गरिए पनि गत महीनाबाट मसलाको उत्पादन शुरु गरिएको हो । नेपालमा वार्षिक मसलाको मात्रै सांढे १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)