ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाह ! यस्तो पो लोकतन्त्र

२०७८ असार, ४  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary

जनतालाई महामारीबाट जोगाउन दुई वर्षमै तीन तीन स्वास्थ्यमन्त्री । अरू मन्त्री त कतिकति । अझ प्रदेशका मन्त्री त कस्ले गन्ने ? देशैभरि मन्त्री नै मन्त्री । कोही भूतपूर्व, कोही वर्तमान । प्रधानमन्त्रीलाई नै कति मन्त्री छन्, थाहा छैन । अब केही वर्षमा एकपटक मन्त्री नभएको नेपाली पाउन हम्मे पर्ला । त्यसपछि अन्यत्रबाट मन्त्री बन्न मानिसहरू नेपाल आउन लालायित हुनेछन् । अनि त गिट्टी, ढुंगा मात्र किन ? भिसा, नागरिकता आदि बेचेरै देश धनी बन्नेछ ।

वास्तवमा लोकतन्त्र भनेकै दलहरू र नेताहरू मिलेर आफूहरू पनि खाने, आफ्नाहरूलाई पनि खुवाउने तन्त्र न हो । तर एक थाल मार्सीको मूल्य थाहा नपाउनेहरूलाई खाने र खुवाउने कुरा के थाहा ?

लोकतन्त्रमा चाहिने के छैन यहाँ ? सबै कुरा छन् । विश्वकै उत्कृष्ट संविधान छ । कानूनहरू छन् । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका छन् । संवैधानिक निकायहरू छन् । जनताका खातिर अहोरात्र १८ घण्टा खटिने प्रधानमन्त्री छन् । दलहरू छँदै छन् । चुनाव पनि भइरहन्छ । अस्ति भर्खर माथिल्लो सदनका लागि दुईटा चुनाव भए । कांग्रेस नामधारी पार्टीकोे पनि चुनाव हुनेवाला छ । यी दुवै चुनाव कहिले होलान् त भनेर चिन्ता नगर्नोस् । कुनै न कुनै दिन त यी चुनाव होलान् नै ।

देशमा अभिव्यक्ति स्वतन्त्रता पनि पूरै छ । संसद्भित्रै नाथुराम गोड्से बन्छु भन्न नि पाइन्छ । उपप्रधानमन्त्रीले बहुराष्ट्रिय देश बनाउँछु भन्न पाइन्छ । प्रधानमन्त्रीले मेरो ज्यानमाथि खतरा भयो भन्न पनि पाइन्छ । प्रधानमन्त्री भइसकेका मान्छेहरूले एकस्वरले देशमाथि विदेशी हस्तक्षेप भयो भन्न पाइन्छ । देशको कार्यकारी भइसकेको व्यक्तिले सत्ता बाहिर आएपछि फलानाले यति भ्रष्टाचार ग¥यो भनेर ठोकुवै गर्न पाइन्छ । आफ्नो भनाइलाई पुष्टि गर्ने तथ्य देखाउनै नपर्ने । मेरो भनाइ त्यस्तो होइन भनेपछि चोखो बन्ने स्वतन्त्रता पनि पाइन्छ ।

देशमा बौद्धिक समुदाय पनि छ । नागरिक समाज पनि छ क्यारे । संघ र राज्यका बजेटहरू संविधानले तोकेकै दिनमा बन्छन् र सार्वजनिक पनि हुन्छन् । तिनमा के लेखिन्छ, जनताले चिन्ता लिनै पर्दैन । किनकि त्यो काम गर्न बनाइएकै होइन । जनता त भ्यूटावर, स्वागत गेट, ठूल्ठूला मूर्ति, मन्दिर, डोजर हेरेर यसै दंग छन् ।

यसरी नेपाल लोकतन्त्रमा आफूलाई अब्बल सावित गर्दै छ । त्यसैले लोकतन्त्रमा अग्रणी देशहरू हंगेरी, टर्की, रूस, चीन, उत्तर कोरिया, कम्बोडिया, मलेसिया, फिलिपिन्स, भेनेजुएला, इरान आदिकोे सिको गर्दै छ । विधि, पद्धति, संविधानमा भएका त्रुटिहरूलाई अध्यादेशबाटै सच्याउँदैै नेपाललाई पनि तिनै देशहरूका लाममा उभ्याउने प्रयासमा सबै लागेका छन् । यसमा केवल प्रधानमन्त्री होइन, सरकारका सहयोगीहरू मात्र होइन, प्रतिपक्षीहरू समेत यस्तो गज्जबको लोकतन्त्रमा आफूलाई अभ्यस्त बनाउन यथोचित र यथासम्भव योगदान दिइरहेकै छन् । यस्तो कार्यगत एकता छ र पो विश्वकै नमूना लोकतन्त्र छ मुलुकमा । सत्तापक्ष र प्रतिपक्ष दुवै यसरी एउटै लक्ष्यप्रति कटिबद्ध भएर लागेको अन्त कतै देख्नुभएको छ ?

अनि अरू देशमा जस्तो सत्ता र प्रतिपक्षको माराकाट पनि छैन यहाँ । बडो सुमधुर सम्बन्ध छ । संवैधानिक अंगमा नियुक्ति मिलेरै गरिन्छ । हेर्नुस् त, प्रमुख प्रतिपक्षी कांग्रेस प्रदेश वा केन्द्र कतै पनि सत्तामा हुन पाएन भन्ने सत्ताधारी दलको कत्रो चिन्ता ? कांग्रेस जोगाउनुपर्छ भनेरै गण्डकीमा सत्तापक्षले हुँदाखाँदाका मन्त्रीलाई मन्त्रीपद त्यागेरै कांग्रेसलाई सरकार बनाउने मौका दिन लगायो । कर्णालीमा एमालेका सांसद बागी नै भएर कांग्रेसकालाई मन्त्री बनाइछाडे । सत्तापक्षले योभन्दा त्याग र बलिदान गरेको देख्न पाइन्छ त दुनियाँमा अन्त कतै ? वर्तमान सत्ताधारी पार्टी जति लोकतन्त्रवादी छन् अरू कोही ?

होइन, शासनमा लोकतन्त्र विरोधीहरू पोे देखिन्छ त भन्नुहोला । त्यसो होइन । अहिले जो सत्तामा छन्, ती सबै सारमा पक्का लोकतन्त्रवादीहरू हुन् । रूपमा मात्र लोकतन्त्र विरोधी देखिएका हुन सक्छन् । हो, यदाकदा लोकतन्त्रको नाम लिएर लोकतन्त्रविरोधीहरू पनि देशको सर्वोच्च स्थानमा पुग्न त सक्छन् । राष्ट्रवादको माला जप्दै जोकरहरू पनि आउन सक्छन् र केही समय बलशाली देखिन सक्छन् । तर जनताले जसलाई रोजेका हुन्छन्, तिनै त माथि पुग्छन नि । त्यसैले त यसलाई लोकतन्त्र भनेकोे । कोही लोकतन्त्र सिध्याउने मतियार पनि बन्लान् । कोही छद्मवेशी होलान् । यस्ताले आफूलाई निर्विकल्प बताउलान् । तर नमूना लोकतन्त्रमा यस्तो त भइहाल्छ नि ।

लोकतन्त्रमा त सबै कुरा संविधानमै लेखेर राखिदिएकै हुन्छ । संविधानमा नलेखिएको वा नबुझिएको कुरा अदालतले बुझाइदिहाल्छ । अनि त लोकतन्त्र आफै हुर्किंदै गइहाल्छ । बिरुवा हो र यसलाई स्याहारसुसार गर्नुपर्ने ? झारपात हो र यसलाई गोडमेल आदि गर्नुपर्ने ? वास्तवमा लोकतन्त्र भनेकै दलहरू र नेताहरू मिलेर आफूहरू पनि खाने, आफ्नाहरूलाई पनि खुवाउने तन्त्र न हो । तर एक थाल मार्सीको मूल्य थाहा नपाउनेहरूलाई खाने र खुवाउने कुरा के थाहा ?

देशमा लोकतन्त्रको यति राम्रो अभ्यास रहेसम्म अरू कुराको टेन्सन लिने कामै छैन । अब जतिसुकै छद्मवेशी शासकहरू, दलहरू, नेताहरू आए पनि लोकतन्त्रलाई बन्दी बनाउन कसका बाउको के तागत ? संविधानका बाबु भन्नेले त केही गर्न सकेनन् । त्यसैले लोकतन्त्र नाम राखेर यसको माला जपिरहे पुगिहाल्छ नि !

त्यही भएर त प्रतिपक्षीहरू न केही बोल्छन् न केही गर्छन् । किनकि केही गरिरहनुपर्ने आवश्यकता नै छैन । त्यसैले अधिकांश बौद्धिक, प्राज्ञ र पत्रकारहरू समेत आनन्दसँग बसिरहेकै छन् । एकप्रकारले रामराज्य पो छ त हो । ठोरीमा राम जन्मेपछि उनको जन्मस्थान रामराज्य त त्यसै हुने नै भयो । अनि कसले, किन र केका लागि बोल्ने ? कस्को, कस्ले र किन विरोध गर्दै हिँड्ने ? शासकहरू र बौद्धिक वर्गको यति सुमुधुर सम्बन्ध भएपछि अझ शासकहरू नै आफ्ना भएपछि कसैले केही गर्ने आवश्यकता नै रहेन नि त !

वाह ! यस्तो पो लोकतन्त्र । छ त अन्त दुनियाँमा कतै यस्तो महान् लोकतन्त्र ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)