ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रत्ननगरमा मातृशिशु अस्पताल निर्माण प्रक्रिया शुरू

२०७८ असार, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनको रत्ननगर नगरपालिकामा साढे १४ करोड रुपैयाँ लागतमा  मातृशिशु अस्पतालको निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा पूर्वी चितवनमै पहिलो मातृशिशु अस्पताल निर्माणको प्रक्रिया सुरू गरिएको हो ।

बकुलहर रत्ननगर अस्पतालको परिसरमा निर्माण हुने सो अस्पतालको भवन निर्माणका लागि ठेक्का प्रक्रिया शुरू भइसकेको नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । वनका अनुसार सुरक्षित रूपमा सुत्केरी गराएर आमा र बच्चाको मृत्युदर न्यूनीकरणका लागि अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

साढे तीनतले भवनमा आईसीयू, भेन्टिलेटर, जनरल वार्ड, अपरेसन कक्ष, ओपीडी कक्ष र सुत्केरी कक्ष रहनेछ । लिफ्टसहित अपांगतामैत्री बन्न अस्पताल ५० शय्या क्षमताको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिने प्रमुख वनले बताए । हाल रत्ननगर अस्पतालमा दैनिक तीनजना महिलाको मात्र सुत्केरी गराउन सक्ने क्षमता छ ।

अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य उपकरण विदेशबाट ल्याउने नगरपालिकाको योजना छ । ‘अस्पतालमा प्रयोग हुने उपकरण अत्याधुनिक हुनेछन्,’ नगर प्रमुख वनले भने । अस्पतालमा आईसीयू, भेन्टिलेटरसहित मेडिकल पाइपलाइन जडित हुने उनले जानकारी दिए ।

अस्पतालको भवनको ठेक्का प्रक्रिया सुरू भइसकेकाले अबको डेढ महीनामा निर्माण शुरू गरिने बताइएको छ । २ वर्षमा सम्पन्न गर्ने योजनासहित निर्माण थालिने र सम्पन्न भएलगत्तै अस्पताल सञ्चालनमा ल्याइनेछ । सो अस्पताल सञ्चालनमा आएपछि सुत्केरी गराउन र बच्चाको उपचारका लागि सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता हट्ने नगर प्रमुख वनको भनाइ छ ।

पूर्वी चितवनका तीन लाख जनताले प्रत्यक्ष सेवा उपभोग गर्ने गरी रत्ननगर नगरपालिकाको पहलमा मातृशिशु अस्पताल सञ्चालनमा ल्याइने बताइएको छ । प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताललाई प्रदेशस्तरको मान्यता दिएर ५० शøयामा स्तरोन्नति गरेको छ । केन्द्र सरकारले प्रदान गरेको ३ करोड रुपैयाँबाट आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि काम भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)