ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भरतपुर महानगरपालिकाको बजेट ४ अर्ब ८१ करोड १२ लाख :  कृषि,  शिक्षा र स्वास्थ्य प्राथमिकतामा 

२०७८ असार, १०  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

असार १०, चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि चार अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बिहीवार आयोजित नवौँ नगरसभामा आगामी आवको बजेट प्रस्तुत गरेकी हुन् । 

नगरसभामा प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ १ अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, मर्मतसम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट ३–३ करोड आय हुने अनुमान गरिएको छ ।

आगामी आवमा महानगरले कृषि पर्यटन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतमा दिएको जानकारी दिएको छ । जसअनुसार शिक्षामा १२ करोड ५० लाख, महानगरपालिका कोभिड कोष स्थापना गर्न एक करोड ५० लाख, अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि नौ करोड, कृषिमा ८ करोड, पशुपंक्षी विकासतर्फ ८ करोड ७० लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै शहरी पूर्वाधार, भू–उपयोग तथा वस्ती विकास शीर्षकमा ४१ करोड छुट्याइएको छ जसमध्ये संघ तथा प्रदेशको साझेदारीमा महानगरको मुख्य प्रशासकीय भवन निर्माण गर्न १० करोड रुपैयाँ विनियोजन भएको छ ।

युवाहरुको रोजगारी प्रवर्द्धन गर्न सहकारी तथा बैंकमार्फत लिने तीन लाख र पाँच लाख रुपैयाँको ऋणको ब्याजमा तीन वर्षसम्मको लागि क्रमशः शतप्रतिशत र ८० प्रतिशत अनुदान दिने कार्यक्रम सञ्चालन गरिने महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तुत गरेको बजेट वक्तव्यमा भनिएको छ । 

निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार निर्माण गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरले चालू आव ०७७/७८ मा चार अर्ब १५ करोड ६४ लाखको बजेट ल्याएको थियो । 

आगामी आवको लागि आन्तरिक आयबाट एक अर्ब २० करोड रुपैयाँ (घरजग्गा रजिष्ट्रेशन, खानी तथा खनिजजन्य पदार्थ बाँडफाँडबाट प्राप्त आयसमेत) र अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ७७ करोड २९ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने महानगरको अनुमान छ ।

त्यस्तै, अधुरा योजनाहरुको निरन्तरताका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई दुई करोड र अन्य बाँकी योजनाहरुलाई ९८ करोड रुपैयाँ छुट्याइएको छ । वडाबाट हुने योजनाका लागि प्रति वडा एक करोड ७० लाखका दरले एकमुष्ठ ४९ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभामा महानगर प्रमुख रेनु दाहालले निती तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । दाहालले चालू आवमा ऐन, नियमावली, निर्देशिका र कार्यविधि समेत गरी ९८ ओटा कानून निर्माण गरेर कार्यान्वयनमा ल्याइएको बताइन् ।

आगामी आवमा महानगरको मुख्य ९० किमी सडकमा स्मार्ट स्ट्रिट लाइट जडान कार्य शुरु गरिने र विद्युतीय सवारी साधनको लागि उपयुक्त स्थानमा रिफ्रेस सेन्टर सहितको चार्जिङ स्टेशन निर्माण गरिने उनले बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)