मन्त्रिपरिषद् पनि शेयर बजारजस्तै आज बढ्ने भोलि घट्ने, कुनै ठेगान नभएकोे पो भो त । हिजो मन्त्री भए, सम्मान लिँदा लिँदै भूतपूर्व । हरे ! हिजोको त्यत्रो बडेमानको माला सुक्नै नपाई जागीर चैट । हैट, असंवैधानिक छ भनेर जान्दाजान्दै कुर्सीमा बस्न कत्रो रहर ? डाँटेर, छलेर, धम्क्याएर, थर्काएर, फुक्र्याएर, अनेक थोक गरेर कुर्सी चाहिने, तर एकपल्ट पाएपछि छाड्न नहुने । ज्यान र इज्जतभन्दा ठूलो कुर्सीमा त्यस्तो कुन शक्ति छ हँ ?
उहिले त्रेतायुगमा रावणको नाभीमा अमृत थियो रे । शायद अहिले नेताहरू बस्ने कुर्सीमा अमृत छ र त कुर्सीका लागि यत्रो महाभारत छ ।
कतिपय नेताले आफ्नो प्राण सांसदको पदमा राखेका छन् । जसै तिनको सांसदको पद खोसिन्छ, हाल यस्तो हुन्छ कि तिनको प्राण अहिले निक्ल्यो वा भरे नै निक्ल्यो जस्तो हुन्छ ।
दन्त्यकथामा दैत्यहरूसँग यस्तो जुक्ति हुन्थ्यो कि आफ्नो प्राण कुनै सुगा, मैना वा कुनै चराभित्र राखेर आफू सुरक्षित हुन्थे । जति नै पटक उसलाई पहाडबाट तल खसाले पनि, उल्टो बनाएर झुन्ड्याए पनि, टाउको तरबारले छुट्याए पनि दैत्यको रौं समेत बांगिदैनथ्यो रे । तर जसै दैत्यको प्राण राखेको सुगाको घाँटी निमोठिन्थ्यो, दैत्यको तत्क्षण मृत्यु हुन्थ्यो रे ।
आधुनिककालमा पनि हाम्रा नेता मन्त्रीहरूमा आफ्नो प्राण जोगाएर राख्ने शक्ति कुर्सीमा हुँदो रहेछ । त्यसैले उनीहरू हरतरहले कुर्सी जोगाउन वा गुमेको कुर्सी पुनः पाउन मरिहत्ते गर्दा रहेछन् । जुन जुन नेता, मन्त्रीसँग यो कुर्सी जोगाउने वा गुमेको कुर्सी पुनः पाउने जुक्ति छ, तिनलाई इन्द्रका बाबु चन्द्रै आए पनि केही बिगार्न सक्तैन । उनीहरूलाई न त महँगीले छुन सक्छ, न दुर्घटनाले ज्यान लिन सक्छ, न भूकम्प वा कुनै महामारीले ।
तर मन्त्रीबाट खुस्केपछि चाहिँ जे पनि हुन सक्छ । त्यसैले मन्त्री बन्न मारामार छ । तर ग्रहदशा बिग्रियो र समयमै ग्रह शान्ति पूजा गर्न छुट्यो भने तात्तातै मन्त्री खुस्कन पनि बेर नलाग्ने रहेछ । ग्रहदशा ठीक छ भने चैं ५/५ मन्त्रालय पनि एक्लैले पाइने रहेछ । जबसम्म आफ्नो प्राण कुर्सीमा राखेका मानिसका कुर्सीलाई केही हुन्न, तिनलाई पनि कुनै आपत् नआउने रहेछ ।
केही समययता केही नेताले कुर्सीका लागि यतिसम्म तल गिरेर, यति धेरै हुरुक्क हुनुको मुख्य कारण नै कुर्सीमा उनको प्राण अडेकोले रहेछ । कुर्सी गयो भने उनको आन, मान र शान मात्र होइन, ज्यानै पनि फुत्त जाने रहेछ । त्यसैले विगतमा कतिपय मन्त्री भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्ने प्रमाणहरू हुँदा हुँदै पनि तिनका ज्यान बचाउनकै लागि सरकारले उनीहरूको कुर्सी नखोसेको रहेछ । पाए त आर्यघाटमा पनि कुर्सीमै जान्थे कि ?
जसरी कतिपय मन्त्रीले कुर्सीमा आफ्ना प्राण राखेका छन्, त्यसरी नै कतिपय नेताले आफ्नो प्राण सांसदको पदमा राखेका छन् । जसै तिनको सांसदको पद खोसिन्छ, हाल यस्तो हुन्छ कि तिनको प्राण अहिले निक्ल्यो वा भरे नै निक्ल्यो जस्तो हुन्छ ।
प्रतिनिधिसभाको पछिल्लो चुनावमा हार बेहोरेका कारण सांसदको सिट पाउनबाट वञ्चित कतिपय नेताको ज्यान बचाउन कुनै उपाय निकालेर उनीहरूलाई राष्ट्रियसभाको सिट दिएर जिउँदो राख्ने बन्दोबस्त पनि गरियो । राष्ट्रियसभामा सिट पाउनेबित्तिकै तिनीहरू बौरिए । तर त्यसरी सिट सुरक्षित गर्न नसकेका केही नेता, मन्त्री भने अहिले फेरि भूपू अर्थात् भूतलोकमा भूतप्रेतजस्तो भएर भौंतारिइरहेका छन् । यसरी त्यस्ता पुराना थुप्रै नेताहरू अझै न स्वर्गमा, न त पृथ्वीमा छन् । बेलाबेलामा उनीहरूको चित्कार पृथ्वीसम्म पनि आइपुग्छ ।
धेरैको त कुर्सीको पनि प्राण अन्तै हुँदो रहेछ । केही समयअघि एकजना ठूलै नेताको कुर्सी धरापमा पर्यो । उनले सो कुर्सी जोगाउन विश्व इतिहासमै कसैले प्रयोग नगरेका उपायहरू गरिरहेका छन् । उनको क्रियाकलापले स्पष्ट देखाउँछ कि उनको प्राण कुर्सीमै अडेको छ । कुर्सीविना उनी एक सेकेन्ड पनि बाँच्न सक्तैनन् । त्यसैले उनी आफू बसेको कुर्सीलाई कहिले रातारात कुनै ठूलै निवासभित्र लगेर लुकाउँछन् । कहिले उनी त्यो कुर्सीलाई लगेर कुनै इजलाशभित्र घुसाइदिन्छन् । अनि कहिले अदालतलाई धम्क्याउँछन् त कहिले शीतल भवनमा रातिराति गएर सुस्ताउँछन् ।
आप्नो प्राण बसेको सो कुर्सी जोगाउन उनी जे जे गर्न पनि तयार देखिन्छन् । चाहे त्यसको ठूलै मूल्य ती देशका नागरिकले तिर्न किन नपरोस् । वास्तवमै उनको कुर्सी जोगाउने यो हर्कतबीच थुपै निर्दोष शहीद भइसकेका छन् ।
हो, यी नेता अमर छन् । उनको कतिपटक ठूलै अपरेसन पनि भए । यिनी मानसिक रूपमा त ठीक देखिँदैनन् । तर उनको गाथमा भने आरामै आराम छ । उनको अनुहार, हाउभाउले पनि यो बताइरहेकै हुन्छ । किनकि उनको प्राण उनको कुर्सीमा अडेको छ र त्यो कुर्सी अन्त कसैमा अडेको छ । ती कतिपय बिचौलिया, कालाबजारी, तथाकथित ठूला व्यापारी र ठूलै छिमेकी हुन् रे । जबसम्म तिनलाई केही हुन्न, यिनको कुर्सीलाई पनि केही हुन्न । केही समययता भने यिनको कुर्सीमा पनि ग्रहण लाग्न लागेको छनक देखिँदै छ । तराजु ढल्केर हो वा शान्तिस्वस्ति गरेको नमिले जस्तो छ ।
यी उदाहरणहरूबाट प्रस्ट हुन्छ कि केही मानिससँग आफ्नो प्राणलाई कहिल्यै नाश नहुने कुरामा स्थानान्तरण गर्ने प्रविधि छ । सरकारले पनि ‘सर्वजन हिताय, सर्वजन सुखाय’को भावनाको परिचय दिँदै यस्ता अमर हुने प्रविधि सामान्यजनका लागि पनि सर्वसुलभ बनाउन थाल्नुपर्छ । त्यसो गरेमा उनीहरूले पनि आफ्नो प्राणलाई लगेर कहिल्यै नाश नहुने चीजमा राखेर सुरक्षित हुन सक्थे । चाहे महँगीले आकाश छोओस्, चाहे स्वाइन फ्लू, डेंगी वा कोरोना फैलियोस्, वा बाढी, पहिरो आओस्, भोकमरी छाओस्, त्यसले उनीहरूलाई केही फरक पर्दैनथ्यो । अहिलेजस्तो विना कुनै आफ्नो कसुर अकालमा ज्यान त जाँदैनथ्यो !
त्यसैले, हे शक्तिशाली, सुरक्षित, महान् आत्माहरू, लौ न ! कुर्सी नभाका हामी सामान्यजनलाई पनि आप्mनो प्राण सुरक्षित राख्न सक्ने उपाय बताइदिनोस् र हाम्लाई पनि अलिकति बाँच्ने अवसर दिनोस् न !