ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेढ महीनामा ११ करोडभन्दा बढी दुग्ध कारोबारमा नोक्सान   

२०७८ असार, १२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

 असार १२ , चितवन । चितवनमा निषेधाज्ञा लागू भएको जेठ महीनासम्ममा दुग्ध कारोबारमा ११ करोड रुपैयाँभन्दा बढी नोक्सान प्रक्षेपण गरिएको छ । 

चितवन दुग्ध उत्पादक सहकारी संघद्वारा शुक्रवार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा  गत वैशाख १७ गतेदेखि जेठ मसान्तसम्म ११ करोड ७ लाख ८१ हजार ३४२ रुपैयाँ नोक्सान भएको जानकारी दिएको हो । 

सो अवसरमा संघका सचिव किशोर वगालेले सो अवधिमा मात्रै किसानको २० लाख ९० हजार २१४ लिटर दूध बजारमा नजाँदा उक्त रकम बराबरको नोक्सान भएको बताए । 

उनका अनुसार संघमा ११० ओटा  सहकारी आवद्ध भएको मध्ये डेढ महीनाको अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध बजार जानु पर्नेमा ५७ लाख ६ हजार ३६ हजार लिटर दूध मात्र बजार पुगेको   हो ।

 निषेधाज्ञा लगत्तै देशका सबै बजार, होटल,चिया खाजा पसल  बन्द भएर दुग्ध डेरी उद्योगले खरीद घटाउँदा नोक्सान पुगेको उनको भनाइ छ । कतिपय किसानले दुग्ध उद्योगहरुमा विक्री नभएको दूधलाई  पाउडर र मख्खन बनाउन दिएपनि फेरी उद्योगहरुले विक्री गर्न नसकेको भन्दै सहकारीलाई फिर्ता गरेको उनले बताए । 

पाउडर र मख्खन बनाउँदा थप कति नोक्सान भयो र कति मौज्दात छ भन्ने तथ्यांक आइनपुगेको र तथ्यांक संकलनको काम भइरहेको पनि संघले बताएको छ । 
प्रतिलिटर किसानको दूध लागत ४५ रुपैयाँसम्म  पर्दछ तर डीडीसीले किसानलाई दिने दूधको मूल्य नघटाएपनि अन्य नीजि दुग्ध उद्योगहरुले प्रतिलिटर ४० रुपैयाँ पनि दूध खरीद नगरेको दुग्ध उत्पादक किसानको गुनासो छ । देशभर कुल उत्पादनको ४५ प्रतिशत डीडीसीले र बाँकी निजी दुग्ध डेरीले दूध खरीद गर्ने गर्दछन् । 

‘अहिले निश्चित समयको लागि खपत बढाउन हामी प्रतिलिटर ४० रुपैयाँमा दिन तयार छौं’, संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले भने, ‘राज्यले जिम्मा लिइदिनुपर्यो ।’ दूधको मूल्य सस्तो बनाउँदा खपत बढेको भन्दै सापकोटाले विचौलियाका कारण उपभोक्ताले भने पहिलेकै मुल्यमा दूध किन्नु परेकोे बताए । 

हाल दूध उत्पादन बढी भएर विक्री नभएको भएपनि खुद्रा मूल्य प्रतिलिटर ८० रुपैयाँसम्म उपभोक्ताले किन्नु परेको छ । चितवनमा दैनिक ३ लाख १५ हजार लिटर दूध उत्पादन हुदै आएको मध्ये ४५ प्रतिशत चितवनमा खपत हुन्छ भने बाँकी दूध काठमाडौ, पोखरालगायत अन्य शहरमा जाने गर्दछ । 

निषेधाज्ञाकै कारण मानिसको चहलपहल नहुँदा र दूध खपत हुने अधिकांश बजार बन्द नभएका कारण वर्षेनी नोक्सान बेहोर्नुपरेको उनीहरुको भनाइ छ ।
प्रदेश सरकारले गत वर्षनै दूधमा अनुदान दिएको तर हालसम्म किसानले पैसा नपाएको भन्दै संघका सचिव मणी प्रकाश खतिवडाले अनुदान तत्काल पाउनु पर्ने र आगामी आर्थिक वर्षको हरेक स्थानीय पालिकाको बजेटमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिनुपर्ने माग गरे ।

गत वर्षको लकडाउन र निषेधाज्ञाका कारण ध्यू, मख्खन, पाउडर विक्री नभई भण्डारण भएको र यसैका कारण निजी दुग्ध  डेरीले अहिलेको निषेधाज्ञामा पनि दूध खरीद नगरेको खतिवडाको बुझाइ छ । निषेधाज्ञा खुकुलो भएपनि दुग्धजन्य पदार्थका लागि पूर्णकालिन रुपमै डेरीपसल, उद्योग सञ्चालन गर्न पाउनु पर्ने किसानको माग छ । 

‘यो समय दही,दूध बढी विक्री हुने सिजन हो’, उनले भने, ‘तर झण्डै यहाँको उत्पादनको ५० प्रतिशत दूध खेर फाल्नुपर्ने अवस्था छ ।’ हाल चितवनमा ३५० ओटा दुग्ध डेरी पसल छन् भने  दुग्ध उत्पादक किसानको संख्या ६० हजारको हाराहारीमा रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)