ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेढ महिनामा दुग्ध कारोबारमा ११ करोडभन्दा बढी नोक्सान

२०७८ असार, १३  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा वैशाखदेखि लागू भएको निषेधाज्ञासँगै जेठ महिनासम्मको अवधिमा दुग्ध कारोबारमा ११ करोड रुपैयाँभन्दा बढी नोक्सान प्रक्षेपण गरिएको छ ।

चितवन दुग्ध उत्पादक सहकारी संघले भरतपुरमा आयोजना गरेको पत्रकार भेटमा वैशाख १७ देखि जेठ मसान्तसम्म ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ नोक्सान भएको जानकारी दिइएको हो ।

दुग्ध कारोबारको तथ्यांक प्रस्तुत गर्दै संघका सचिव किशोर वगालेले सो अवधिमा मात्रै किसानको २० लाख ९० हजार २ सय १४ लिटर दूध बजारमा नजाँदा उक्त रकम बराबरको नोक्सान भएको बताए ।

उनका अनुसार संघमा आबद्ध ११० वटा सहकारीमध्ये डेढ महिने अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध बजार जानुपर्नेमा ५७ लाख ६ हजार ३६ हजार लिटर दूध मात्र बजार पुगेको हो । निषेधाज्ञालगत्तै देशका सबै बजार, होटल, चिया, खाजा पसल बन्द भएर दुग्ध डेरी उद्योगले खरिद घटाउँदा नोक्सान पुगेको उनको भनाइ छ । कतिपय किसानले दुग्ध उद्योगमा बिक्री नभएको दूधलाई पाउडर र मख्खन बनाउन दिए पनि पुनः उद्योगहरूले बिक्री गर्न नसकेको भन्दै सहकारीलाई फिर्ता गरेको उनले बताए ।
पाउडर र मख्खन बनाउँदा थप कति नोक्सान भयो र कति मौज्दात छ भन्नेबारे तथ्यांक संकलनको काम भइरहेको संघले जनाएको छ ।

प्रतिलिटर किसानको दूध लागत ४५ रुपैयाँसम्म पर्दछ तर डिडिसीले किसानलाई दिने दूधको मुल्य नघटाए पनि अन्य निजी दुग्ध उद्योगले प्रतिलिटर ४० रुपैयाँमा पनि दूध खरीद नगरेको दुग्ध उत्पादक किसानको गुनासो छ ।

देशभर कुल उत्पादनको ४५ प्रतिशत डिडिसीले र बाँकी निजी दुग्ध डेरीले दूध खरिद गर्ने गर्छन् । ‘अहिले निश्चित समयका लागि खपत बढाउन हामी प्रतिलिटर ४० रुपैयाँमा दिन तयार छौं’, संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले भने, ‘राज्यले जिम्मा लिइदिनुपर्‍यो ।’ दूधको मूल्य सस्तो बनाउँदा खपत बढेको र बिचौलियाका कारण उपभोक्ताले भने पहिलेकै मूल्यमा दूध किन्नु परेकोे भन्दै सापकोटाले बताए ।

हाल दूध उत्पादन बढी भएर बिक्री नभए पनि खुद्रा मूल्य प्रतिलिटर ८० रुपैयाँसम्म उपभोक्ताले किन्नुपरेको छ ।

चितवनमा दैनिक ३ लाख १५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यसमध्ये ४५ प्रतिशत यही खपत हुन्छ भने बाँकी दूध काठमाडौं, पोखरालगायत अन्य सहरमा जाने गरेको छ ।

निषेधाज्ञाकै कारण मानिसको चहलपहल नहुँदा र दूध खपत हुने अधिकांश बजार बन्द भएका कारण बर्सेनि नोक्सान बेहोर्नुपरेको किसानको भनाइ छ ।

‘कहिले मूल्यवृद्धि नभएर, कहिले भुक्तानी नपाएर त कहिले बिक्री नहुँदा मार खेप्नुपरेको छ,’ संघका उपाध्यक्ष सापकोटाले भने । प्रदेश सरकारले गत वर्ष नै दूधमा अनुदान दिए पनि किसानले हालसम्म पैसा नपाएको संघका सचिव मणिप्रकाश खतिवडाले बताए । गत वर्षको बन्दाबन्दी एवं हालको निषेधाज्ञाका कारण घ्यू, मख्खन, पाउडर बिक्री नभई भण्डारण भएकाले निजी दुग्ध डेरीले अहिलेको निषेधाज्ञामा पनि दूध खरीद नगरेको खतिवडाको बुझाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)