जहाँ वालमार्टको पसल खुल्छ, त्यहाँको अपराध दरमा आउने कमी अन्यत्रको भन्दा थोरै हुने गरेको पाइएको छ । अमेरिकाको साउथ क्यारोलिन विश्वविद्यालयका अनुसन्धाताहरुले गत महीना ‘ब्रिटिश जर्नल अफ क्रिमिनोलोजी’मा प्रकाशित गरेको ‘मूल्यमा कमी र अपराध दरमा वृद्धि : अमेरिकाभित्र अपराधमा वालमार्टको प्रभाव’ शीर्षकको एक अनुसन्धान प्रतिवेदनले सन् १९९० मा वालमार्ट विस्तारित भएका जिल्लाको अपराध दरमा कमी आउन नसकेको देखाएको छ । सन् १९९० मा अमेरिकाभर नै अपराध दरमा अप्रत्याशित कमी आउँदासमेत वालमार्ट विस्तारित काउण्टीका अपराधमा खासै कमी नभएको उक्त अध्ययनले देखाएको छ । ‘वालमार्ट कर्पोरेशनले नयाँ स्टोर बनाएका स्थानमा प्रति १० हजार मानिसमा १७ ओटा थप चोरी र लूटपाटका घटना भएको तथा दुई अरु थप हिंसाजन्य अपराध भएको पाइयो,’ अनुसन्धानका सह–लेखक, अपराधशास्त्र तथा फौजदारी न्यायका उपप्राध्यापक स्कट उल्फले भने ।
वालमार्टले समुदायमा रोजगारी, गरीबी दर तथा खुद्रा मूल्यजस्ता धेरै तङ्खवमा पारेको प्रभावलाई ‘वालमार्ट इफेक्ट’ भन्ने प्रचलन छ । तर, यो अध्ययन वालमार्टको आलोचनाका लागि नभएर वालमार्टले अपराधसँग कतिको समीकरण बनाएको छ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयत्न भएको उनको तर्क छ । ‘वालमार्ट इफेक्ट’बारे दर्जनौं अध्ययन भएका छन् । यसले कम्पनीको अपराधसँग नजिकको सम्बन्ध पुष्टि गरे पनि आफ्नो अध्ययनको उद्देश्य एउटा महत्वपूर्ण ऐतिहासिक कालखण्डको अपराध दरमा वालमार्ट विस्तारले पारेको प्रभावलाई बुझ्नु भएको जिकीर उल्फले गरेका छन् । उल्फ र साम हष्टन युनिभर्सिटीका अपराधशास्त्र तथा फौजदारी न्यायका सहप्राध्यापक डेभिड पेरुजले अमेरिकाको ३ हजार १ सय ९ काउण्टीलाई अध्ययनमा समावेश गराएका थिए । उनीहरुले वालमार्ट विस्तारको महत्वपूर्ण अवधि ९० को दशक र राष्ट्रव्यापी रुपमा अपराधको घट्दो दरमा अध्ययन केन्द्रित गरेका थिए ।
यो दशकमा वालमार्ट ७ सय ७६ काउण्टीमा विस्तारित भएको थियो । अमेरिकी इतिहासमा वालमार्ट सबैभन्दा सफल बन्नुमा शाखा विस्तारमा धेरै रणनीतिक हुनुले भूमिका निर्वाह गरेको उल्फले बताएका छन् । अनुसन्धाताहरुले वालमार्ट विस्तार भएका काउण्टीलाई विस्तार नभएकासँग तुलना गरेर सो अवधिमा ती काउण्टीहरुमा भएका अपराध दर केलाएर हेरेका थिए । वालमार्टले गरीबी, बेरोजगारी, बसाइँसराइ, जनसङ्ख्याको संरचना तथा स्थानीय कारोबारजस्ता अपराधसँग सम्बन्धित सूचकहरुमा प्रभाव पारेको अध्ययनको क्रममा फेला परेको छ । यद्यपि, यस अध्ययनले गरीबी र अपराधसँग सम्बन्धित कारक तङ्खवहरुको वृद्धिलाई भने पुष्टि गर्न सकेको छैन । वालमार्टले औसतभन्दा उच्च अपराध दर रहेका काउण्टीमा आफ्नो शाखा विस्तार गरेको पाइएको छ । कम्पनीको आगमनलाई खासै विरोध गर्न नसक्ने यस्ता काउण्टीहरुमा वालमार्ट निकै सफल रहेको पनि अध्ययनले देखाएको छ । सामाजिक पूँजी धेरै भएका काउण्टीका नागरिक समुदायको हितबारे बोल्न इच्छुक हुने भएकाले त्यहाँ अपराध न्यून हुने पेरुजको भनाइ छ । उता, अपराध बढी हुने काउण्टीमा सामाजिक पूँजी कम हुने भएकाले त्यहाँ वालमार्टको विरोध गर्ने क्षमता कम भएको बताइएको छ । वालमार्ट विस्तार र अपराधसँगको सम्बन्ध खोतल्न अझ बढी अनुसन्धान आवश्यक भएकोमा उल्फले जोड दिएका छन् । सबै काउण्टीमा वालमार्टको प्रभाव नराम्रो मात्रै नभएको र आर्थिक रुपमा कमजोर काउण्टीका समुदाय वालमार्टबाट लाभान्वितसमेत भएको बताइएको छ । ‘आर्थिक अवस्था निराशाजनक रहेका समुदायमा कम्पनी विस्तारमा वालमार्टले अनिच्छा देखाउनु भने समस्या हो’, उल्फको भनेका छन् ।