पैसाले मानिसलाई स्वार्थी बनाउने त हामी सबैलाई थाहै छ । पैसाकै कारण मानिसको घरबार बिग्रिएको पनि हामीले देखेकै छौं । पैसा कमाउनकै लागि मानिसले दिनरात नभनी मेहनत पनि गर्ने गरेको छ । यद्यपि, बेलायतमा भएको एउटा अनुसन्धानले भने पैसाले मानिसलाई अप्रजातान्त्रिकसमेत बनाउने नयाँ तथ्य देखाएको छ । वारविक विश्वविद्यालयका प्राध्यापक एण्ड्र्यू वोस्लाण्ड र लण्डन स्कूल अफ इकोनोमिक्स तथा मेलवर्न विश्वविद्यालयका प्राध्यापक नाताभुद पोदथाभेले गरेको अनुसन्धानमा यस्तो पाइएको हो ।
कुनै पनि मानिस चिठ्ठाको विजेता बनेपछि अप्रजातान्त्रिक बन्ने र उनीहरुको झुकाउ दक्षिणपन्थी राजनीतिक दलको समर्थनतर्फ हुने गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धानकर्ताले वारविक विश्वविद्यालयको कार्यपत्रका रुपमा ‘के पैसाले मानिसलाई दक्षिणपन्थी र अप्रजातान्त्रिक बनाउँछ : चिठ्ठा विजेताको एक देशान्तरीय अध्ययन’ भन्ने शीर्षकमा प्रकाशित गरेको अध्ययनमा यस्तो पाइएको हो । अध्ययनअनुसार धेरै रकमको चिठ्ठा जित्दा दक्षिणतर्फ ढल्कने मानिसहरुको सङ्ख्या पनि धेरै हुने देखिएको छ । हजारौं मानिसको जानकारी तथा २ लाख पाउण्ड स्टर्लिङभन्दा धेरैको चिठ्ठा विजेतामाथि गरिएको अनुसन्धानबाट प्राप्त जानकारीका आधारमा तयार गरिएको यस अध्ययनमा यस्तो पाइएको हो ।
यसैक्रममा मानिसहरुको राजनीतिक झुकावका कारण धेरै अज्ञात रहेको अनुसन्धाकर्ताको भनाइ छ । राजनीतिक झुकावको व्यक्तिगत प्रवृत्ति भने नैतिक दृष्टिकोणबाट प्रेरित हुने अध्ययनले देखाएको छ । ‘मतदानको छनोट स्वहितबाट हुने गरेको तथ्य हाम्रो अध्ययनले दिएको छ,’ लेखकले टिप्पणी गरेका छन् । बेलायतका चिठ्ठा विजेताहरुको राष्ट्रव्यापी प्रतिनिधि नमूनामा गरिएको ब्रिटिश हाउसहोल्ड प्यानल सर्भेबाट अनुसन्धानताहरु ठूला विजेता र साना विजेताहरुको राजनीतिक निष्ठामा आएको देशान्तरीय परिवर्तनलाई अवलोकन गर्न सक्षम भएका छन् । यसको प्रभाव महिलाको दाँजोमा पुरूषमा निकै बलियो हुने गरेको पाइएको छ ।