ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक राजस्व कार्यालय भरतपुर : लक्ष्यभन्दा १२ प्रतिशत कम राजस्व असुली

२०७८ सावन, ६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब ६१ करोड ५० लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले उक्त वर्ष १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजारको लक्ष्य दिएकोमा १२ प्रतिशत कम अर्थात् ८७ दशमलव ७४ प्रतिशत राजस्व असुली गरेको हो ।

कार्यालयले आयकर, ब्याजकर, मूल्यअभिवृद्धि कर, बहालकर, अन्तःशुल्क, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर शीर्षकबाट राजस्व असुली गर्दै आएको छ । यी शीर्षकमध्ये आयकर, ब्याजकर र मूल्यअभिवृद्धि करतर्फ लक्ष्यभन्दा बढी असुली गरेको छ भने अन्य शीर्षकमा लक्ष्यभन्दा कम असुली भएको छ ।

कार्यालयलाई आयकर शीर्षकमा २ अर्ब २१ करोड १८ लाख राजस्वको लक्ष्य दिइएकोमा २ अर्ब ३३ करोड १९ लाख संकलन गरेको छ । यस्तै ब्याजकर शीर्षकमा ३ करोड ६७ लाखको  लक्ष्यमा तेब्बरभन्दा बढी १२ करोड ७३ लाख र मूल्य अभिवृद्धि कर शीर्षकमा १ अर्ब ७८ करोड ३५ लाख असुलीको लक्ष्य रहेकोमा २ अर्ब ३१ करोड ८६ लाख संकलन गरेको छ ।

बाँकी अन्य कुनै पनि शीर्षकमा कार्यालयले राजस्व असुली लक्ष्य अनुसार गर्न सकेको छैन । सामान्य अवस्थामा सबैभन्दा बढी राजस्व संकलन हुने गरेको अन्तःशुल्क शीर्षकको लक्ष्य पूरा नहुँदा कुल राजस्व संकलनमा असर परेको हो । यो शीर्षकमा १४ अर्ब ८० करोड ५० लाख असुलीको लक्ष्य रहेकोमा ११ अर्ब ७८ करोड ५८ लाख संकलन भएको छ । यस्तै कार्यालयले बहाल कर शीर्षकमा ६ करोड ३० लाखको लक्ष्यमा ४ करोड ६९ लाख, शिक्षा सेवा करमा ६८ लाखको लक्ष्य रहेकोमा २ लाख र स्वास्थ्य सेवा कर शीर्षकमा ८७ लाख संकलनको लक्ष्यमा ३९ लाख उठाएको छ ।

कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले यो वर्षको निषेधाज्ञा अघिल्लो वर्षको जस्तो कडा नभएकाले राजस्व संकलनमा खासै असर नपरेको बताए । ‘पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रबाट नियमित जस्तै कर उठेको छ,’ उनले भने, ‘हाम्रो मुख्य स्रोत नै अन्तःशुल्क भएकाले कुल राजस्व असुलीमा प्रभाव परेको हो ।’

आयकर, मूल्यअभिवृद्धि र ब्याजकरतर्फ अघिल्ला वर्षको बक्यौता रकम यस वर्ष असुली भएकाले सो शीर्षकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरिएको उनको भनाइ छ । उनका अनुसार अन्य शीर्षकको कर अघिल्लो वर्ष दिइएको लक्ष्य र संकलन अनुसार पछिल्ला वर्षहरूमा तय गरिने भएकाले लक्ष्य र असुलीको अनुपातमा धेरै फरक परेको हो । शिक्षा सेवा कर शीर्षकमा विदेश पढ्न जाने विद्यार्थीले सटही गरेबापत बैंकबाट लिइने र स्वास्थ्य सेवा कर आन्तरिक राजस्व कार्यालयले खारेज गरिएकाले सो शीर्षकको बक्यौता मात्र असुली भएको जानकारी उनले दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)