ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

को कति खुशी ?

२०७८ सावन, ८  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

हिजोआज शेयर बजारले सरकारमा को छ भनेर वास्तै गर्न छाडेजस्तो छ । सरकारमा जो उकालो चढे पनि, जो ओरालो झरे पनि, शेयर इन्डेक्स भने उकालो लाग्या लाग्यै छ । तर शेयर बजार जति माथि उफ्रे पनि महँगीको उचाइलाई भने छुन सक्ला जस्तो देखिन्न है ! हरेक दुई दिन बिराएर पेट्रोलियमको भाउ बढ्ने भएसि यातायातको भाडा त बढ्ने नै भयो । सामान ढुवानी गर्ने यातायातको भाडा बढेपछि, नूनदेखि सुनसम्म आयात गरेर ल्याउने देशमा महँगी नबढेर अरू के बढ्छ त ?

यहाँ आवश्यकता चैं को कति खुशी छ भनेर जान्नुभन्दा पनि कुन ठाउँमा चैं बढी खुशी पाइन्छ भन्ने हो । बालुवाटारमा कि बूढानीलकण्ठमा, कि बालकोटमा ? कोटेश्वरमा कि खुमलटारमा ? भन्सारमा कि टक्सारमा ? करमा हुँदा कि करारमा ? मिनिस्टर हुँदा, रेक्टर हुँदा, कि बैंकको डाइरेक्टर हुँदा ?

तर रमाइलो कुरा यो छ कि महँगी बढेर सबै दुःखी भने नहुँदा रहेछन् । दिन दुई गुणा, रात नौगुणा गरेर कमाउनेहरूलाई बिचरा महँगीले के भेट्न सक्थ्यो ? त्यसरी कमाउनेहरू किन दुःखी हुन्थे ? सस्तोमा खरीद गरेको माल धेरै महँगोमा बेच्ने मौका पाउनेहरू पनि किन दुःखी भइराख्थे र ? सस्तैमा पाउने वस्तुलाई पनि महँगो तिरेर किन्नुपर्ने बाध्यतामा परेकाहरू भने दुःखी हुने नै भए । त्यसैले एउटै घटनाले पनि कसैका लागि दुःख भने कसैका लागि सुख ल्याउने रहेछ । जस्तै– हालै बालुवाटारबाट बालकोट पुग्नेहरू दुःखी भए भने बूढानीलकण्ठबाट बालुवाटार पुग्नेहरू खुशी भए । त्यस्तै एउटै दलका सदस्यमध्ये कोही पक्षलाई भोट हाल्दा खुशी भए भने कोही विपक्षीलाई भोट हाल्दा खुशी भए । त्यसमध्ये कति त अरू खुशी भएको देखेर आफू दुःखी भए ।

त्यसैले यो कुरा पत्ता नलगाई नहुने भाछ कि मान्छे किन खुशी हुन्छ र किन दुःखी हुन्छ ? खुशी हृदयमा रहन्छ कि मस्तिष्कमा, या दुवैमा ? अनि खुशी र सुखी हुनुमा के फरक छ ? अरूको खुशीमा मानिस किन दुःखी हुन्छ वा अरूको दुःखमा किन खुशी रहन्छ ? सुखीको सुख देखेर सुखी र दुःखीको दुःख देखेर दुःखी हुने मानिस कति होलान् यस धर्तीमा हँ ? अनि को कति खुशी वा दुःखी छ भनेर कसरी थाहा पाउने ?

हुुन त को कति खुशी छन् भन्ने थाहा पाउन कुन कुन संस्थाले हो निकै खोजतलास गरेर केही वर्षयता ‘ह्याप्पीनेस इन्डेक्स’ याने खुशीको सूचक सार्वजनिक गर्न थालेका छन् क्यारे । तर यहाँ आवश्यकता चैं को कति खुशी छ भनेर जान्नुभन्दा पनि कुन ठाउँमा चैं बढी खुशी पाइन्छ भन्ने हो । बालुवाटारमा कि बूढानीलकण्ठमा, कि बालकोटमा ? कोटेश्वरमा कि खुमलटारमा ? भन्सारमा कि टक्सारमा ? प्रहरीमा कि पानीजहाजमा ? आयल निगममा कि वायुसेवा निगममा ? करमा हुँदा कि करारमा ? मिनिस्टर हुँदा, रेक्टर हुँदा, कि बैंकको डाइरेक्टर हुँदा ?  

तर ठूल्ठूला पदमा पुगेका मानिस, धेरै सम्पत्ति कमाएका र सफल भनिएका मानिस पनि दिनरात बैठक, छलफल र तनावमै देखिन्छन् । यसरी सबै भौतिक सुख सुविधामा बसेर पनि धेरै मानिस सुत्नै सकिरहेका हुँदैनन् । अर्कोतर्फ, फुटपाथमा सुतेर पनि आरामको निद्रा निदाउने थुप्रै मानिस हुन्छन् । ठूल्ठूला पदधारी, डिग्रीधारी, पुरस्कारधारी मानिसलाई सुखीमा गणना गर्ने कि दुःखीमा, म रनभुल्लमा पो छु त ।

अर्को कुरा, एउटै मानिस एउटै कारणले शुरूमा खुशी हुन्छ, पछि दुःखी हुन्छ । जस्तै– उद्योगी व्यवसायीहरू हरेक सरकार परिवर्तनपछि वा बजेट वक्तव्यपछि खुशी देखिन्छन् । नयाँको स्वागतमा ताली पनि पिट्छन् । तर केही दिन वा महीनापछि त्यै सरकार, तिनै मन्त्री, तिनैका नीति कार्यक्रमबाट फेरि दुःखी हुन थाल्छन् । हिजो प्रतिपक्षमा हुँदा बजेट कार्यान्वयन नै हुन नसक्ने खालको ठूलो भयो, बजेटमा ढुँगागिट्टी निर्यात गर्ने लगायतका नीति राखेकोमा बजेट अति झुर भयो भनी छिछि दुरदुर गर्थे । तर आफू सत्तामा पुगेपछि त्यै बजेट राम्रो भन्दै फुरफुर गर्दै त्यै बजेट पास गर्दै छन् । यस्तै कुरा प्रायः विवाहित व्यक्तिमा झन् लागू हुन्छ । विवाहपूर्व तारा खसाल्नेहरू विवाहपछि बँगारा झार्नेतिर लाग्छन् । अझ राजनीतिक दल वा त्यसभित्रका गुट–उपगुटवाला जोडीहरू त सरकार बनाउने बेला देशको मुहारै बदल्ने कसम खाएर आपसमा चाटाचाट गर्छन् । तर केही समयपछि काटाकाट शुरू गर्छन् । आखिर यस्तो किन हुन्छ ?

अर्को एउटा आश्चर्यलाग्दो के छ भने, आर्थिक विकासका सूचकहरूमा एकदमै दुःखी हुनुपर्ने स्थितिमा पुगेको छ हाम्रो देश । यस्तो अवस्थामा समेत ह्याप्पीनेस इण्डेक्सवालाहरूले नेपालीलाई सार्कमै खुशीवालामा पारिदिए । यस्तो कसरी भयो ? कि नेपालीहरू जे जस्तो छ, ठीकै छ, ‘सन्तोषम् परम् सुखम्’ भन्नेतिर लागेर खुशी नै देखिएर हो ? अर्थात् भाग्यवादी भएर हो ? कि नेपालीले सार्कमै साँच्चै राम्रो गरेर हो ? लौ न कोही ह्याप्पीनेस अर्थशास्त्री हुनुहुन्छ भने बताइदिनोस् न !

एउटै कारणले एउटालाई खुशी ल्याएको हुन्छ भने अर्कोलाई अपार दुःखको सम्भावना । त्यसैले मलाई लाग्दैन कि यस्तो कुनै खुशीको मापन गर्ने इन्डेक्स या तराजु बनाउने कुरा सफल होला भनेर । किनकि एकछिनमै तोला अर्को छिनमा मासा हुने खुशी नाप्ने इन्डेक्स वा तराजु बन्यो भने त सांसद जस्तै खुशीको पनि संसद्मै किनबेच हुन थाल्छ । जुन दिन खुशीको सौदाबाजी शुरू हुन सक्छ, त्यसको लाभ उठाउनेहरू पनि पक्कै थुपै्र हुन्छन् । तर दुःखको कुरा, प्रायः धेरै सुविधाबाट वञ्चित गरीबहरू सित्तैमा खुशी हुन सकिने यो मौकाबाट पनि वञ्चित हुनेछन् । किनकि विदेशीले अनुदानमा दिएको चामल त बाँड्न नसक्ने हाम्रो राज्य संयन्त्रले गरीबलाई खुशी किनेर बाँड्ला भनेर कसरी पत्याउने ? त्यसैले सरकारले सुख वा खुशी त के देला र ? बरु, गरिबको परिचयपत्र बाँड्ने सरकारले दुःखीहरूलाई दुःखीयाको नयाँ परिचयपत्र चैं झुन्ड्याइदेला है ? होशियार !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)