ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा एक वर्षमा २ हजार ४०० ओटा उद्योग थपिए 

२०७८ सावन, ११  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

साउन ११, चितवन । चितवनमा एक वर्षमा झण्डै २ हजार ४०० उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय, चितवनका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा सबै प्रकृतिका उद्योग गरी २ हजार ९९६ ओटा उद्योग दर्ता भएका हुन् । 

सबैभन्दा बढी कृषिजन्य उद्योग 
जिल्लामा गत आवमा दर्ता भएका उद्योगहरुमध्ये सबैभन्दा बढी कृषिजन्य एक हजार ७०२ उद्योग दर्ता भएका छन् भने सबैभन्दा कम एउटा मात्र उद्योग उर्जामुलक उद्योग दर्ता भएको छ । यसैगरी सेवामुलक उद्योग २९० ओटा, उत्पादनमुलक उद्योग २४५ ओटा, पर्यटनमुलक उद्योग १५८ ओटा दर्ता भएका छन् । 
कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्र सरकारको र वित्तीय संस्थाहरुको समेत प्राथमिकताको क्षेत्र परेकोले कृषिजन्य उद्योगको संख्या अन्य उद्योग क्षेत्रको भन्दा बढी भएको बताए । 

‘कृषिक्षेत्रमा अनुदान पनि छ, सहुलियत ऋण पनि उपलब्ध छ, उनले भने, अन्य व्यवसाय भन्दा जोखिम कम र काम गर्न सजिलो पनि छ ।’ कृषि क्षेत्र परिवारको कुनै पनि सदस्यले न्यूनतम ज्ञानको आधारमा पनि गर्न सकिने भएकोले र चितवन कृषिको लागि उर्वर भूमि भएकोले पनि कृषिजन्य उद्योग दर्ता गर्नेको संख्या अन्यको तुलनामा बढी देखिएको हो । 

गत आवमा खनिजजन्य उद्योग, निर्माणमुलक उद्योग र विज्ञान तथा सूचना प्रविधिजन्य उद्योग शीर्षकमा भने उक्त वर्ष कुनैपनि उद्योग दर्ता नभएको तथ्यांक छ । गत आव दर्ता भएका उद्योगहरुको स्थिर पूंँजी २ अर्ब ९६ करोड ९६ लाख ३२ हजार रुपैयाँ, चालू पूँजी २ अर्ब ६६ करोड २३ लाख ९३ हजार र कुल पूँजी ५ अर्ब ६३ करोड २० लाख २५ हजार रुपैयाँ रहेको कार्यालयले जानकारी दिएको छ । ती उद्योगहरुको वार्षिक उत्पादन क्षमता १६ अर्ब १३ करोड ३६ लाख ७ हजार ५०० रुपैयाँ बराबर रहेको छ । 

कार्यालयका लेखा प्रमुख नारायण लम्सालले लकडाउन र निषेधाज्ञाका  कारण गत आवमा झण्डै ६ महीना कार्यालय बन्द भएकोले अघिल्ला वर्षहरुभन्दा गत आवमा उद्योग दर्ताको संख्यामा कमी आएको जानकारी दिए । सोही अनुसार कार्यालयको राजस्व संकलन, पूंँजी, उत्पादन क्षमतामा समेत ह्रास आएको लम्सालको भनाइ छ ।  

महिला उद्यमी संख्या बढी 
गत आवमा दर्ता भएको उद्योगहरुमा पुरुष उद्यमीको संख्याभन्दा बढी महिला उद्यमीको संख्यामा वृद्धि भएको पाईएको छ । कार्यालयको तथ्यांक अनुसार सो आवमा १ हजार ४६९ महिला उद्यमी र १ हजार १५२ पुरुष उद्यमी थपिएका छन् । 

उक्त वर्षमा थपिएका उद्योगहरुमा महिला र पुरुष गरी ७ हजार ६५७ जनाले रोजगारी पाएका छन् । पुरुषको तुलनामा महिलालाई सरकारी निकाय तथा वित्तीय संस्थाबाट थप सहुलियत उपलब्ध हुने भएकोले महिला उद्यमीको संख्या पुरुषको तुलनामा बढी भएको लम्सालले बताए । 

‘महिलालाई सहुलियत र सुविधा  पनि बढी छ उनले भने, दर्ता भएका उद्योगहरुमा महिलाले उद्यम गर्ने प्रकृतिका उद्योगहरु पनि बढी दर्ता छन ।’ अधिकांश महिलाहरुले आफ्नो नाममा उद्योग दर्ता गर्ने र श्रीमान वा घरका अन्य सदस्यहरुलाई सक्रिय बनाउने गरेको उनको भनाइ छ । 

उद्योगमा हाल ५ लाख देखि पाँचकरोड पूँजी भएका उद्योगहरु दर्ता हुँदै आएका छन् । पाँच लाखभन्दा तल पूँजी भएका उद्योग स्थानीय तहमा दर्ता हुने गर्दछ ।

कार्यालयमा हाल पांँचलाख देखि २० लाख पूँजी भएका उद्योग दर्ता गर्न १२ हजार रुपैयाँ, २० लाख ५० लाख पूँजी भएका उद्योग दर्ताका लागि २० हजार, ५० लाखदेखि १ करोडसम्म ३० हजार र १ करोड भन्दा माथि पाँच करोडसम्मका उद्योगका लागि ५० हजार रुपैयाँ दर्ता शुल्क लाग्ने गर्दछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)