ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

२०७८ सावन, १४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । कोरोना महामारी कारण चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक आधा घटेका छन् । निकुञ्ज कार्यालयको तथ्यांक अनुसार अघिल्लो आवमा कुल १ लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेकोमा गत आवमा यो संख्या घटेर ९२ हजार २०९ मा झरेको हो । कार्यालयका अनुसार अघिल्लो आवमा नेपाली महिला पुरुष गरी ८९ हजार ४४१ जनाले निकुञ्ज घुमेका थिए । यस्तै सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ जना पर्यटकले निकुञ्ज घुमेका थिए ।

गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका छन् । यस्तै सार्क राष्ट्रका १ हजार ३६४ पर्यटक र अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्ज घुमेको तथ्यांक छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले अघिल्लो वर्षदेखि फैलिएको कोरोनाका असर हालसम्म रहेको र कोरोनाको दोस्रो लहर हालसम्म नरोकिएकाले पर्यटकको संख्यामा कमी आएको बताए । ‘अघिल्लो वर्ष सिजनमा आउने पर्यटक आइहाले र त्यसपछि लकडाउन भयो,’ उनले भने, ‘अहिले पनि वैशाख दोस्रो हप्तादेखि निषेधाज्ञा जारी छ ।’ विशेषगरी सिजनमै निषेधाज्ञा भएको र पर्यटकलाई निकुञ्ज प्रवेशमा रोक लगाइएकाले पर्यटकको संख्या घटेको अधिकारीको भनाइ छ । ‘एक त बाहिरबाट पर्यटक आउन पाएनन्,’ उनले भने, ‘अर्कोतर्फ, आन्तरिक पर्यटकका लागि पनि निकुञ्ज खुला हुन पाएन ।’

लकडाउनका कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो भने गत वैशाखदेखि निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ ।

आम्दानीमा पनि घट्यो
अघिल्लो आवमा निकुञ्ज घुम्ने पर्यटकसँग लिइने शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयाँ आम्दानी गरेको निकुञ्जले गत आवमा यस्तो शुल्क २ करोड ५५ लाख ३७ हजार ८२८ रुपैयाँ मात्र उठाउन सकेको छ । निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आवमा १ करोड १८ लाख ७० हजार ६१७ रुपैयाँ राजस्व संकलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेर १ करोड ८८ लाख २४ हजार ३३८ रुपैयाँ आम्दानी गरेको छ ।

सूचना अधिकारी सहायक संरक्षण अधिकृत अधिकारीले निकुञ्जको मुख्य आम्दानीको स्रोत नै पर्यटक शुल्क भएकाले पर्यटक नआउँदा र निषेधाज्ञाका कारण आम्दानीमा ठूलो असर परेको बताए । ‘हाम्रो मुख्य आम्दानीको स्रोत पर्यटक, तीमध्ये पनि विदेशी पर्यटक हुन्,’ उनले भने, ‘निकुञ्जको अन्य आम्दानी नदीजन्य पदार्थ उत्खनन शुल्क, ठेक्कापट्टा, दण्ड जरीवाना हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)