ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक करोड लगानीमा कृषि घाँस उद्योग स्थापना

२०७८ सावन, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । रत्ननगर नगरपालिका–१२ जमुनापुरमा १ करोड लगानीमा कृषि घाँस (साइलेज) उद्योग स्थापना गरिएकोे छ । दूध र मासु उत्पादनमा लागत कम गर्दै पशुपक्षीको आहाराको अभाव पूरा गर्न उक्त उद्योगको स्थापना गरिएको हो ।

‘जय माँ लक्ष्मी कृषि घाँस उद्योग, साइलेज निर्माण तथा कस्टम हायरिङ सेन्टर’को बुधवार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र आत्मनिर्भरताका लागि नगरपालिकाले कृषिक्षेत्रलाई प्राथमिकता दिँदै आएको बताए । आगामी दिनमा पनि नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण लगायत अन्य प्राविधिक सहयोग गर्दै जाने वनको भनाइ छ ।

प्रेम थापा, शिव थापा र सुजिन्द्रबहादुर थापाको संयुक्त लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याइएको हो । गाई, भैंसी, बाख्रा लगायत पशुचौपायालाई खुवाउने घाँस उत्पादन तथा प्याकेजिङ गरी कृषकलाई सहुलियत दरमा उपलब्ध गराउने  उद्देश्यले उद्योग सञ्चालन गरिएको अध्यक्ष प्रेम थापाले बताए ।

उनका अनुसार हरियो मकैसहितको बोटलाई काटेर मेशिनको माध्यमबाट प्याकेजिङ गरिन्छ । घाँस प्याकेजिङ गर्दा नै वस्तुभाउलाई आवश्यक पर्ने खाद्यवस्तु तथा मिनरल समेत राखिने उनले बताए । यसरी प्याकिङ गरिएको घाँस ५ वर्षसम्म प्रयोग गर्न सकिने बताइएको छ ।

स्थानीय किसानले लगाएको मकैको हरियो बोटसहित प्रतिकट्ठा २ हजारदेखि ३ हजार रुपैयाँमा खरीद गरी उद्योगले ल्याउने गरेको उद्योगका अर्का सञ्चालक शिव थापाले बताए । उनका अनुसार हाल जिल्लाका पदमपुर, जमुनापुर र पिठुवा क्षेत्रबाट हरियो मकै सहितको घाँस खरीद गर्ने गरिएको छ । माग बढ्दै गएमा अन्य जिल्लाबाट पनि मकैको बोट खरीद गरेर ल्याइने बताइएको छ ।

किसानले उत्पादन गरेको मकै बजार मूल्यभन्दा महँगोमा उद्योगले लिने भएकाले किसानहरू यस उत्पादनप्रति आकर्षित भएको सञ्चालकहरूको भनाइ छ । उद्योगबाट उत्पादित साइलेज बजारमा पाइने ढुटो, चोकर, दानाको तुलनामा सस्तो हुँदा माग समेत बढेको उनीहरू बताउँछन् ।

हाल उद्योगमा ७५ लाख रुपैयाँ लगानी भइसकेको छ भने थप २५ लाख लगानी हुने चरणमा रहेको उद्योगका सञ्चालक सुजिन्द्रबहादुर थापाले बताए । उद्योगलाई रत्ननगर नगरपालिकाले कस्टम हायरिङ सेन्टर र उपकरण खरीदका लागि करीब २५ लाख रुपैयाँ अनुदान दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)