ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के यो मजाक हो र !

२०७८ सावन, २२  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

देउवा नेतृत्वको सरकारले एकजना व्यवसायीलाई राज्यमन्त्रीमा नियुक्त मात्र गर्न के भ्याथ्यो, चारैतिरबाट सरकारको विरोधमा व्यंग्यवाण शुरू भइहाल्यो । अनि मैले भनेँ– अहिले त एउटा राज्यमन्त्री मात्र न बनाको हो, मन्त्री वा प्रधानमन्त्री नै त होइन नि । यति धेरै विरोध केका लागि ? ‘वाह ! हाम्रो मनको कुरा गर्नु भो’ भने कतिपय उद्योगीहरूले । मैले भनेँ– यो तपाईंको मनको मात्र होइन, यो त धनको कुरा पनि हो । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड ।

सरकारी अधिकारीहरू भन्छन्– देशमा व्यवसायीले कर छलिरहेका छन् । बिजुलीलगायत विविध प्रकारका चोरी भइरहेका छन् । चोरी जसरी पनि रोकिनुपर्छ । ठीक कुरा हो । तर, डकैती पनि रोक्नुपर्छ नि हाकिमसाब !

नेपाली लोकतन्त्रको खुबी नै यै हो कि मन्त्रालय जानै नसक्ने मान्छे प्रधानमन्त्री हुन पाउँछ, अस्पतालबाटै देश चलाउन पाइन्छ । शारीरिक र मानसिक रूपमा रोगी पनि स्वास्थ्यमन्त्री बन्न सक्छ, एउटा अशिक्षित, गँवार शिक्षामन्त्री बन्न सक्छ, भूमाफिया भूमिसुधार मन्त्री बन्न सक्छ । अहिले नियुक्त स्वास्थ्य राज्यमन्त्री त हेर्दैमा स्वस्थ र खाइलाग्दो पो हुनुहुन्छ । मन्त्री बनेपछि उहाँलाई खाइरहनुपर्ने आवश्यकता नै के पर्ला र ? त्यसमा पनि उहाँले सुरक्षा बाहेकका सरकारी सुविधा नलिने घोषणै गरिसक्नुभा छ !

बरु आफूलाई भाग्यमानी नै सम्झनुपर्छ कि हामीले पाँचौंपटक प्रधानमन्त्रीमा एकजना यस्तो व्यक्ति पाएका छौं, जो धेरै बोल्नुहुन्न । र, उहाँले बोल्न जरुरी पनि छैन । किनकि अब आउने ४–५ जना प्रमका लागि पुग्नेगरी निवर्तमान प्रधानमन्त्रीले बोलेर गैसक्नु भएको छ । जहाँसम्म कामको कुरा छ, उहाँले काम गर्नुहोला भनेर कसले पो आशा गरेको छ र ? बरु उहाँले केही नगरे बेश हुन्थ्यो । किनकि डर चैं उहाँले फेरि के के गर्दिनुहोला भन्ने चैं हो । किनकि, उहाँको विगत पनि छ नि त !  फेरि हाम्रो देशै यस्तो छ कि केही नगरे पुरस्कार पाक्छ, गरे अख्तियार लाग्छ ।

उहाँका पूर्ववर्ती नेतृत्वले सुखी नेपाली, समृद्ध नेपाल बनाएर गैसकेकै छन् । उहाँले अब किन केही गरिरहन प¥यो र ? तर केही मान्छे देशमा अझै समृद्धि आएन भनिरहेका छन् । समृद्धि किन आएनछ त भने जहाँ समृद्धि छ, त्यहाँ जनता छैनन्, जहाँ जनता छन्, त्यहाँ समृद्धि पुग्दै पुग्दैन रहेछ । तर देशमा विकासै नभाको भन्न चैं मिल्दैन है ! उदाहरणका लागि, ३० वर्ष अगाडि जो बेरोजगार जम्मा २० वर्षका कलिला ठिटा थिए, ऊनीहरू आज ५० वर्षको जवान भइसके । यो विकास नभए के हो त ? हुन पनि बेरोजगारीको विकास देशमा यति तीव्र गतिमा भइरहेको छ कि बिचरा विकास स्वयं बेरोजगार छ । नपत्याए केही विकास बहादुर, विकास कुमार, विकास प्रसाद वा विकास राजलाई भेटेर सोधिहेर्नुस् त !
 
पेट्रोलियमलगायत अत्यावश्यक वस्तुको मूल्य प्रतिदिन उकालो लागिरहेछ । सामान्य जनता के बुझ्दैनन् भने सरकारले बचत र कमाइमार्फत नै विकास गर्ने हो । सरकारले बेरोजगारमार्फत बचत गरिरहेको छ भने महँगीबाट कमाइ । किनकि बेरोजगारले खर्च गर्न सक्दैन भने महँगी बढाइदिँदा सरकारले थप आम्दानी गर्छ । यो त सामान्य अर्थशास्त्र हो नि । तर चिन्ताको कुरा के छ भने केही दिनयता पेट्रोलियमको मूल्य बढेको छैन । यसरी सरकारको कमाइमा ढिलासुस्ती हुने हो भने देशको विकास कसरी हुन्छ हँ ?

विकास राम्रोसँग हुन सबै दलहरूको सबैसँग तालमेल मिल्नुपर्छ । तर दलहरूको तालमेल दलसँग भन्दा दलालहरूसँग बढी हुन पुग्यो । उनीहरू तालमेलभन्दा जालझेलको खेलमा रमाउन थाले । हाम्रो देशका नेताहरूको ताल देख्दा लाग्छ कि उनीहरूले लक्ष्मीका चैं माया पाएका, तर सरस्वतीबाट चैं सधैं झापट खाएका मात्र परेछन् ।

सरकारी अधिकारीहरू भन्छन्– देशमा व्यवसायीले कर छलिरहेका छन् । बिजुलीलगायत विविध प्रकारका चोरी भइरहेका छन् । चोरी जसरी पनि रोकिनुपर्छ । ठीक कुरा हो । तर, डकैती पनि रोक्नुपर्छ नि हाकिमसाब ! किनकि हामीकाहाँ त चोरीभन्दा डकैती नै बढी हुन्छ नि । काहाँ काहाँ ककसले भन्ने त हाकिमसाबहरू र नेताज्यूहरू बढी जानकार नै हुनुहुन्छ । किनकि डाँकाहरूसँग सबैभन्दा नजिकमा त प्रायः यहाँहरू नै हुनुहुन्छ क्यारे ।

हेर्नुस् त, देशको जीडीपीमा कृषिको योगदान ८० बाट झरेर ३० प्रतिशतमा आइसक्यो । तैपनि तपाईंहरूले नेपाल कृषिप्रधान देश हो भनेर भट्याउन छाड्नुभा छैन । यता उखु किसान उखु बेचेको पैसा पाऊँ भन्दै धुरुधुरु रुँदै वर्षौंदेखि मन्त्रालय धाउँछ । तर प्रत्येक पटक तपाईंहरूबाट आश्वासन मात्र पाउँछ । धेरै वर्षदेखि यो देशमा धेरै कामहरू उल्टोपुल्टो भइरहेको देख्छौं हामी त । तपाईंहरू देख्नुहुन्न र ? जस्तै– लोकतन्त्रमा जनतासँग सरकार डराउनुपर्ने हो । तर यहाँ सरकार देखेपछि जनता कुलेलम ठोक्नुपर्ने स्थिति छ । लोकतन्त्र तलतल भासिँदै गैरहेको छ, अनि भ्यूटावरहरू माथि माथि आकाश नापिरहेका छन् ।

विगत २ दशकलाई मात्रै फर्केर हेर्ने हो भने पनि सार्क राष्ट्रभित्रका देशहरूमध्ये श्रीलंका, भुटान, मालदिभ्स, बंगलादेश लगायतले निकै लोभलाग्दो गरी विकासमा जम्प गरेका छन् । तर तपाईंहरू भन्नुहुन्छ, ‘निराश हुनु जरुरी छैन ।’ यसको मतलव यदि अहिले जापानमा भइरहेको ओलम्पिक्समा बेरोजगारी र महँगी पनि प्रतिस्पर्धामा राखिएको भए तिनको लङजम्प र हाईजम्पमा नेपालले स्वर्णपदक नैै पड्काउँथ्यो । ओलम्पिक कमिटीमा अलि लबिङ पुगेन र पो ? हैन्त हाकिमसाब ?

त्यसैले कि त आउनोस् बसेर अब के गर्ने भनेर गम्भीर सल्लाह गरौं । नत्र अहिले देशमा विकास भएन भनेर ठूल्ठूलो स्वरमा हल्ला नगरौं । बरु अहिलेलाई अलि विस्तारै बोलौं । किनकि हाम्रा नवनियुक्त प्रधानमन्त्री हनिमुनमा हुनुहुन्छ क्या ! जसै उहाँको हनिमुन सकिन्छ, उहाँ काममा पक्कै जुटिहाल्नु होला । विगतमा पनि राम्रो काम गरेकै कारणले त उहाँ पाँच पाँच पटक प्रधानमन्त्रीमा चुनिनुभएको हो । के यो मजाक हो र ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)