ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तर्राष्ट्रिय चलचित्र नगरी डाङडुंगेडाँडामा संरचना निर्माणले गति लिँदै

२०७८ सावन, २२  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–९ को डाङडुंगेडाँडामा प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीकालागि आवश्यक संरचना निर्माण प्रक्रिया अगाडि बढेको छ । त्यसैको पहलस्वरूप प्रशासनिक भवन तथा गेट निर्माण गरिने भएको छ ।

बागमती सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि उक्त संरचना निर्माण गरिने भएको हो  ।

प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माणका लागि बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिकामार्फत ३ करोड ५० लाख रकम विनियोजन भएको नगरपालिकाका आर्थिक प्रशासन प्रमुख जगदीश अर्यालले बताए ।

भवन तथा गेट निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।

यस्तै, लामोसाँघु–जिरी सडकको खरिढुंगादेखि प्रस्तावित फिल्म नगरीसम्म पुग्न खनिएको ६ दशमलव ५ किलोमिटर बाटो कालोपत्रे गर्न चालू आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट ३ करोड रकम विनियोजन भएको अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माणका अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिए ।

केन्द्र सरकारको प्राथमिकतामा नपरे पनि प्रदेशले चलचित्र नगरीका लागि बजेट विनियोजन गरेको अभियन्ता श्रेष्ठको भनाइ छ ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा समेत बाह्य लगानीका लागि प्रस्तुत अन्तर्राष्ट्रिय चलचित्र  नगरी आयोजना अगाडि बढ्नै लाग्दा निवर्तमान प्रधानमन्त्री केपी ओलीबाट घामै नलाग्ने ठाउँमा फिल्मसिटी नबन्ने अभिव्यक्ति आएपछि आयोजना ओझेल परेको  थियो ।

अब भने यो आयोजना पुनः अगाडि बढ्ने भीमेश्वर नगरपालिका–९ खरिढुंगाका स्थानीयको आशा छ । चलचित्र नगरी निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउने वातावरण बनाउन लागिरहेको अभियन्ता श्रेष्ठले बताए ।

अहिले भारत मुम्बईका केही लगानीकर्ताले प्रस्तावित चलचित्र नगरीको अवलोकन गर्न आउने  तथा उपयुक्त लागे लगानी गर्न सकिने बताएको उनले सुनाए । प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २ अर्ब ७५ करोड लागत अनुमान रहेको छ ।

यस्तै, फिल्मसिटीका सम्पूर्ण संरचना निर्माणका लागि ७६.२५ हेक्टर जमिन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । भीमेश्वर नगरपालिका–९ साविक लाँकुरीडाँडा गाविस–८ र ९ को सेतीदेवी दादर सामुदायिक वनको ६४ हेक्टर र सिन्धुपाल्चोक पिस्कर–६ को १२ हेक्टर जमिनलाई उपयोग गरिने प्रतिवेदनमा उल्लेख छ ।

इन्डोर र आउटडोर सुटिङका लागि धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९.६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ । अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माणका लागि चलचित्र विकास बोर्डबाट परामर्शदातामार्फत डीपीआर तयार गरिएको थियो ।

काठमाडौंबाट १ सय ५ किलामिटर पूर्व रहेको प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरी बन्ने डाङ्डुङेडाँडाबाट जुगल तथा रोलवालिङ हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)