थोरै समय काम गर्नु परेमा कर्मचारी बढी खुशी हुने आममानिसको धारणा रहेको छ । कहिलेकाहीँ धेरै काम गर्दा दिक्क लागेर कामबाट छुट्टी पनि लिइने गरिन्छ । तर हालै भएको एक अध्ययनले काम गर्ने समय घट्दैमा कर्मचारी खुशी हुने कुराको कुनै ग्यारेण्टी नभएको देखाएको छ । दक्षिण कोरियाको सोलस्थित कोरिया युनिभर्सिटीका रोबर्ट रुडोल्फले गरेको अधययनले यस्तो बताएको हो । अध्ययनमा काम गर्ने समयमा भएको कटौतीका कारण कर्मचारी खुशी हुन्छन् भन्ने जरूरी नभएको पाइएको छ । तथापि काम गर्ने समय घट्दा काम गर्ने वातावरणमा थप तनावको स्थिति सृजना गर्ने बताइएको छ । यस अध्ययनले कोरियाले हालै मात्र ल्याएको काम गर्ने नीतिको पाँचदिने कार्यशालाले कर्मचारीमा पारेको प्रभावबारे दिएको जानकारीलाई समेत समावेश गरेको बताइन्छ । यस अध्ययनको प्रतिवेदन ‘जर्नल अफ ह्यापिनेश स्टडिज’को पछिल्लो संस्करणमा छापिएको छ । यस प्रतिवेदनले बालबच्चासहित बस्ने दम्पतीबीचको खुशीको स्तर र काम गर्ने समयले कर्मचारीको खुशी र जीवनप्रतिको सन्तुष्टिमा पार्ने प्रभावलाई अध्ययन गरेको छ ।
कोरियाले सन् २००४ मा काम गर्ने नीतिमाथि औपचारिक सुधार अभियानको थालनी गरेको थियो । यसअन्तर्गत कोरियाले शनिवारलाई आधिकारिक रुपमा काम नगर्ने दिनका रुपमा घोषणा गर्दै हप्तामा काम गर्ने समयलाई पनि ४४ घण्टाबाट घटाएर ४० घण्टा पुर्याएको थियो । कोरियाको जीवनशैली उकास्न, कुनै कामविना बसिरहेका कमजोर उद्योगलाई बढावा दिन र धेरै समयसम्म काम गर्दा हुने कम उत्पादकत्व र औद्योगिक हानिजस्ता नकारात्मक असरलाई कम गर्न यो कार्यनीतिमा सुधार ल्याइएको थियो । यो काम गर्ने नीति सुधारको पाँचदिने कार्ययोजनाले काम गर्ने समयले कर्मचारीमा पार्ने प्रभावलाई प्रस्ट्याएको थियो । रुडोल्फले गरेको यस अध्ययनले काम गर्ने समय घटाउँदा त्यसले पार्ने व्यक्तिगत र पारिवारिक प्रभाव देखाउने सम्भवतः यो नै पहिलो अध्ययन हो । उनले सन् १९९८ र २००८ बीचमा ग्रामीण कोरियाली घरधुरी, कोरियाली श्रम र आम्दानीसम्बन्धी राष्ट्रियस्तरको सर्वेक्षणका आधारमा यो अध्ययन तयार पारेका हुन् ।
यस सुधार अभियानबाट पुरूषको तुलनामा कामकाजी महिला बढी खुशी भएको सर्वेक्षणमा पाइएको छ । कोरियाली पारम्परिक समाजमा महिलामाथिको पारिवारिक जिम्मेवारी पुरूषको तुलनामा बढी हुने भएकाले लामो समय काम गर्नु उनीहरुका लागि बढी पीडादायी हुने गरेको छ । उनीहरुको काम गर्ने समयमा औसत ४ घण्टाको कटौती भएकाले उनीहरु खुशी छन् । यसले उनीहरुको समग्र काम र जीवनप्रतिको सन्तुष्टिमा त्यति ठूलो प्रभाव नपार्ने बताइन्छ । बढी समय काम गर्नाले व्यक्तिगत खुशीको स्तरमा नकारात्मक प्रभाव पार्ने कुराको कुनै तुक छैन । त्यस्तै, काम गर्ने समयमा हुने कटौतीले पनि मानिसलाई व्यक्तिगत रुपमा खुशी दिनेमा कुनै ग्यारेण्टी नभएको अध्ययनको निष्कर्ष छ ।