ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना : ६ करोडको कार्यक्रमका लागि प्रस्ताव आह्वान

२०७८ सावन, ३१  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले करीब ६ करोड रुपैयाँ बराबरको कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ । बिहीवार कार्यालयले एक सूचना जारी गर्दै ५ करोड ६४ लाख ९० हजार रुपैयाँ बराबरका २१ ओटा कृषि कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको हो ।

कार्यालयले सिँचाइ, पूर्वाधार निर्माण तथा मर्मत, संस्थागत भण्डारण गृह तथा प्रशोधन केन्द्र निर्माण, चक्लाबन्दीमा आधारित खेतीमार्फत उत्पादन वृद्धिका लागि पूँजीगत सहयोग, कृषि यान्त्रिकीकरण प्रवर्द्धन, बीउ उत्पादनलगायत क्षेत्रमा कार्यक्रमका लागि कृषकलाई दरखास्त दिन आह्वान गरिएको जानकारी दिएको छ ।

२३ ओटा सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि कार्यालयले ४६ लाख बजेट विनियोजन गरी दरखास्त आह्वान गरेको छ । तीनओटा संस्थागत भण्डारण गृह तथा प्रशोधन केन्द्र निर्माण सहयोगका लागि ७५ लाख, ८ ओटा चक्लाबन्दी सम्बन्धी कार्यक्रमका लागि कार्यालयले ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । चक्लाबन्दी कार्यक्रममा भने लाभग्राहीको आधा लगानी हुनुपर्ने शर्त छ । यान्त्रिकीकरण प्रवद्र्धनका लागि ५० लाख बजेट छ ।

यस कार्यक्रममा धानको यान्त्रिकीकरणमा लागेका समूह, सहकारी, कृषि फर्महरूलाई दरखास्त दिन भनिएको छ । प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यक्रमअन्तर्गत तरकारी, माछापालन, कुखुरापालन, च्याउ खेतीलगायतका लागि दरखास्त आह्वान गरिएको छ । यस शीर्षकमा चारओटा कार्यक्रमका लागि कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरिएको छ । मौरी जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण, घार वितरण, रानी मौरी उत्पादन गर्न आवश्यक उपकरण सहयोगसम्बन्धी कार्यक्रमका लागि पनि प्रस्ताव आह्वान गरिएको छ । यी कार्यक्रमका लागि ३४ लाख ४० हजार रुपैयाँ बजेट रहेको कार्यालयको सूचनामा जारी गरिएको छ ।

यस्तै तरकारी जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रिकीकरण, बजार प्रवद्र्धन, प्रांगारिक तरकारीको प्रवद्र्धन, कृषि प्रविधि सिकाइ तथा प्रदर्शनी केन्द्र निमार्णका लागि दरखास्त आह्वान गरिएको छ । यी ६ ओटा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको कार्यालयले ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यी कार्यक्रममा ५० देखि ८० प्रतिशतसम्मको अनुदान उपलब्ध गराइएको छ ।

धान जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रिकीकरण, कष्टम हायरिङ सेन्टर स्थापना, सिँचाइ पूर्वाधार निर्माण, धानमा सहभागितात्मक कृषि प्रविधि सिकाइ तथा प्रदर्शनी केन्द्र र बीउ उत्पादन सहयोग कार्यक्रमसम्बन्धी प्रस्ताव आह्वान गरिएको छ । यी कार्यक्रम सञ्चालन गर्न १ करोड २९ लाख ५० हजार बजेट छुट्याइएको छ ।

केरा जोन क्षेत्रअन्तर्गत कृषि यान्त्रिकीकरण सहयोग, राइपेनिड च्याम्बर निर्माण, उन्नत प्रविधि सहित केरा क्षेत्र विस्तार, केरा खेतीमा यान्त्रिकीकरण र बगैंचा व्यवस्थापन प्रदर्शन कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको छ । यी कार्यक्रम सञ्चालन गर्न कार्यालयले ७५ लाख बजेट विनियोजन गरेको छ ।

परियोजना कार्यान्वयन एकाइ चितवनले दरखास्त आह्वान गरेका अधिकांश कार्यक्रम ५० देखि ८५ प्रतिशतसम्म अनुदानका छन् । यी कार्यक्रममा सहभागी हुन परियोजनामा सूचीकृत इच्छुक कृषि समूह, सहकारी, कृषि फार्म र कम्पनीलाई आवश्यक कागजात सहित ३० दिन (भदौ २५) भित्र आवेदन दर्ताको अन्तिम समय तोकिएको छ ।

परियोजनाका कार्यक्रममा सहभागी हुन संस्थाको नवीकरण भएको प्रमाणपत्र, जग्गाको स्वामित्व खुल्ने करारनामा, कार्यसमितिको निर्णयको प्रतिलिपि, स्थायी लेखा नम्बर दर्ताको प्रतिलिपि, कर चुक्तालगायतका प्रमाणपत्र पेश गर्न कार्यालयले भनेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)