ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा दूध उत्पादन घट्यो, खपत बढ्यो

२०७८ भदौ, ७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो ।

भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’

हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् ।

भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’

राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् ।

‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो  देखिएको मात्र हो ।’

विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ ।

चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ ।

‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र  खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने ।

हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए ।

उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरेको  छ ।

‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने ।

यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)