ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रत्ननगरमा किसान कल सेन्टर स्थापना

२०७८ भदौ, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । किसानको समस्या फोनमार्फत समाधान गर्ने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकामा ‘किसान कल सेन्टर’ सञ्चालन गरिएको छ । नेपाल सरकार अन्तर्गत फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको सहयोगमा कृषि र पशुपालक किसानका लागि कल सेन्टर स्थापना गरिएको हो । नगरपालिकाका नगर प्रमुख नारायण वन र आयोजनाका प्रमुख चिरञ्जीवी अधिकारीले मंगलवार कल सेन्टरको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

किसानलाई आइपर्ने विभिन्न प्राविधिक लगायत अन्य समस्या समाधानका लागि निःशुल्क टोल फ्री नम्बर १६६०५६५१०११ मा फोन गर्न सक्ने व्यवस्था गरिएको छ । कल सेन्टर सञ्चालनका लागि नगरपालिकाले कृषि र पशुपालनका प्राविधिक राखेको छ । फोनमार्फत किसानले राखेको समस्यालाई पालिकास्तरका प्राविधिकले तत्काल समाधान गर्ने र प्राविधिकले समस्या समाधान गर्न नसके विज्ञहरूलाई समेत कल सेन्टरमा जोड्ने व्यवस्था मिलाइएको नगरपालिकाका कृषि अधिकृत प्रवीण लामाले जानकारी दिए । किसान, पालिका प्राविधिक, विज्ञ र विज्ञ समूह समेतलाई कल सेन्टरमा जोडेर कृषि र पशुपालनको समस्या समाधान गर्ने बृहत् योजनाका साथ किसान कल सेन्टर स्थापना गरिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि आयोजनका प्रमुख अधिकारीले रत्ननगर कृषि र पशुपालनको क्षेत्रमा अग्रणी स्थानमा रहेको र यहाँका जनप्रतिनिधिहरू कृषि र पशुपालनप्रति जिम्मेवार रहेकाले चितवनमै पहिलोपटक पालिकास्तरमा कल सेन्टर सञ्चालनमा आएको बताए । किसानलाई प्रविधिसँग जोड्न आवश्यक रहेको भन्दै उनले आगामी दिनमा जिल्लाका अन्य पालिकामा पनि यसलाई विस्तार गर्न सकिने उनको भनाइ छ  । कार्यक्रममा मेयर नारायण वनले किसानको समस्या फोनमार्फत समाधान गर्न अपरिहार्य भएकाले कल सेन्टर स्थापना गरिएको बताए । ‘हामीले यो किसानलाई उपहारको रूपमा ल्याएका हौं,’ उनले भने, ‘किसानको पहिचानका लागि परिचयपत्रको समेत व्यवस्था गर्दै छौं ।’ मेयर वनले विपन्न किसानको जीवनस्तर उकास्न ५० प्रतिशत अनुदानमा गाई वितरण गर्ने प्रक्रिया शुरू भइसकेको जानकारी दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. दयाराम चापागाईं, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख विनोद भट्टराई, चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्त लगायतको सहभागिता थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)