अहिले देशको खाशगरी केन्द्रीय राजधानीको कुना कुनासम्म फोहर थुप्रेका छन् । आफूलाई सुकिला मुकिला ठान्ने कतिपय मानिसहरू नाक थुनेर हिँडिरहेका छन् । तर नाक थुन्नु पर्दैन । किनकि फोहरबाट मोहर बनाउने सरकारको योजना जो छ । यदि कोरोना नामको कीरा नफैलिद्या भए हाम्रा महानगरका पिता कुन शहरले कसरी फोहर व्यवस्थापन गरेछ भनेर स्थलगत अध्ययन गर्न दलबलसहित विदेश शयरमा निस्किसक्या हुन्थे । डलरमा भत्ता आउने भएपछि मोगादिशुदेखि मिसिसिपीसम्म पनि भ्याउँथे ।
सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि ।
तर कुरा नबुझ्नेहरूले ङ्यारङ्यार गर्न थालेकाले सरकारले सडकका फोहर उठाउन थालेको छ र ढिलोचाँडो केही उठ्ला पनि । तर देशबाट सबै फोहर सजिलै हट्नेवाला छैन है ! किनकि फोहरमा सरकारले धेरै सम्भावनाहरू पो देखेको छ त । त्यसमा पनि कथंकदाचित् अरू क्षेत्रका फोहर हटेछन् भने पनि राजनीतिभित्र भएको फोहर हटाउने त कुरै छैन । किनकि राजनीतिक व्यवस्था नै अन्तिम सत्य हो, अर्थव्यवस्था मिथ्या हो ।
फेरि तपाईंले साँच्चै खोजेजस्तो सफा त कहाँ छ र ? कुन क्षेत्र फोहोरबाट अछुतो छ र ? विकसित देशहरूबाट कन्टेनर भरिभरीकन हाम्रोे देशमा भित्रिरहेको अनेकखाले कवाडी फोहर त झन् कतिकति । राजनीतिमा नै हेरौं न । जहाँ राजनीति छ, त्यहाँ फोहर छ । फोहर छ र त त्यहाँ मोहर पनि छ । अर्थात् त्यहाँ गोबर पनि छ, गौरव पनि छ । जब गोबर र गौरव उछालिन्छ, तब राजनीतिमा गतिशीलताको दर्शन हुन्छ । नत्र राजनीति फोहरले भरिएको नालीजस्तै प्रवाहहीन हुन्छ । त्यसैले फोहर राजनीतिको स्थायी भाव हो । त्यसैले ‘मेरो वा हाम्रो चरित्रमा फोहर फ्याँक्ने काम भइरहेछ,’ राजनीतिमा प्रायः यस्ता कुरा खुब सुनिन्छन् ।
सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि । हैन र ? अर्थात् फाइदा फोहर हटाउनुमा भन्दा फोहर गर्नुमै छ भने किन हट्छ फोहर ? निजीक्षेत्रले फोहर व्यवस्थापन गर्छु भनेर सरकारको योजनामा भाँजो नहालेको कहाँ हो र ? तर, सरकार त सरकारै हो, कुकुर भुक्दै गर्छ, सरकारको सवारी चल्दै गर्छ ।
वास्तवमा अहिले खाली सिसी, पुराना कागजवाला वा कवाडीवालाका लागि एउटा नयाँ दुनियाँको प्रादुर्भाव भएको छ । अब कवाडीवालाहरू ठेला र थोत्रा ट्र्याक्टर धकेलेर घर घर धाउन पनि नपर्ने भएको छ । किनकि शहरमा जहाँ उभियो, त्यहीँ हरेक प्रकारका फोहर पाइने भएको छ । यसले कत्तिलाई रोजगारीको नयाँ अवसर पनि दिलाएको छ ।
रोजगारी बढाउने चिन्तामा सरकार अब दुब्लाइरहनु नपर्ने भएको छ । तर सँगसँगै कवाडी व्यवसाय पनि अब कर्पोरेट पञ्जामा जाने सम्भावना पनि बढेर गएको छ ।
साँच्चै भन्ने हो भने देश अहिले फोहरमा मात्र भने पनि आत्मनिर्भर भइसकेको छ । अब पैसा कमाउन पानीबाट बिजुली बनाएर बेचिरहनुपर्ने झन्झट लिइरहनुपर्दैन । वस्तु उत्पादन गरेर निर्यात गर्ने झन्झट पनि गरिरहनु पर्दैन । देशैभरि यत्ति फोहर थुप्रिएका छन् कि, व्यावसायिक सम्भावना खोज्न अरू क्यै गरिरहनै नपर्ने भएको छ । फोहरमा मात्र फोकस गरे पुग्छ । जलस्रोतमा धनी भनेर मात्र कति चिनाउनु नेपाललाई भनेर सरकार फोहरबाट पनि विश्व कीर्तिमान बनाउन लागिरहेछ । जलविद्युत्मा अपार सम्भावना भन्दा भन्दा थाकिसकेकाले अब फोहरबाट बिजुली निकालेर बेच्नेसम्मको योजना सरकारले बनाइरहेको छ । सरकारले सम्भावना दोहनको जग हालिरहेको छ । जनता कुरै बुझ्दैनन् अनि फोहर उठाएन मात्र भन्छन् ।
मुलुकमा फेयर व्यापारभन्दा फोहरी व्यापार बढी फस्टाएको छ । फेयर ट्रेडमा १० ओटा सिद्धान्त छन् । यो फोहर ट्रेडको त एउटै सिद्धान्त छ । जति बढी फोहर, उत्ति बढी मोहर । फोहरमा मोहर हुने भएकाले त इधरउधरवालाहरू मालामाल हुने तर उद्यमीहरू रसातल पुग्ने स्थिति बनेको हो देशमा । हुन पनि के मात्रै पाइन्न फोहर कवाडीमा ? बियर र मदिराका बोतल, एन्टिबायोटिक लगायत महँगा टनिक र औषधिका बोतल । थोत्रा किताबका साथै भर्खरै छापिएका साहित्यिक नयाँ किताबहरूदेखि कतिपय पुरस्कारप्राप्त किताबहरू सबै पाइन्छन् कवाडीमा । देशको स्थिति बुझ्न, व्यापार बुझ्न अन्त कतै जानै पर्दैन, कवाडीवालाकहाँ गए पुग्छ । समाजका मान्छेहरूको स्वास्थ्य समस्या बुझ्न ढल र फोहरका टोकरीको अध्ययन गर्ने चलन त पुरानो भैसक्यो । त्यसैले कवाडी व्यवसाय पनि अब कुशल व्यवस्थापनको विषय बनिसकेको छ । म्यानेजमेन्ट कलेजहरूका लागि ‘फोहर व्यवस्थापन’ पढाइको एउटा नयाँ विषय हुन सक्छ । कवाडीमा पनि थुप्रै किमती चीजहरू पो फेला पर्छन् त । के थाहा यो फोहरभित्र देशमा हराएका लाउडा, धमिजा, चेज एयरहरू पो भेटिइहाल्छन् कि ! बूढीगण्डकी लगायत थुप्रै राष्ट्रिय गौरवका आयोजनाहरू नै फेला पर्छन् कि ⁄ विकासे योजनाका ठूला ठूला फाइल नै फेला पर्छन् कि ?
त्यसैले फोहरमा सम्भावना अनन्त छन् । बरु आउनोस् हामी सबै मिलेर कार्पेट उल्टाएर फोहर उधिन्नतिर लागौं । त्यहाँभित्र केही पुराना केही नयाँ खजाना पक्कै भेटिन सकिन्छ । नभए दशकौंदेखि थुप्रिएर बसेका फोहरहरूलाई सिनित्त पार्न पो सकिन्छ कि ? फेरि, फोहर उठाउने ठेक्का सरकारले मात्र लिएको छ र ? त्यसैले, फोहर लगेर महानगर र सिंहदरबारको गेटमा नराखौं । बरु त्यहाँभित्र गजधम्म परेर बसेका राजनीतिक फोहरहरूलाई चैं इतिहासको डम्पिङसाइटबाटै निकालेर अन्त कतै लगेर विसर्जन गर्नतिर चैं लाग्ने कि ?