अमेरिकामा गाँजाको प्रयोग तथा खेतीले कानूनी मान्यता पाएलगत्तै त्यहाँका बैङ्कहरुले पनि गाँजाखेतीसँग सम्बन्धित व्यक्तिको बैङ्क खाता खुलाउन अनुमति पाएका छन् । पछिल्लो समय अमेरिकाका केही राज्यहरुमा गाँजा प्रयोगले मान्यता पाउने क्रम तीव्र रुपमा अघि बढेको थियो । अमेरिकी नियामकहरुले बैङ्कहरुलाई यस्तो अनुमति दिएका हुन् । गाँजाको प्रयोगले कानूनी मान्यता नपाउञ्जेल त्यसको विक्रीवितरणबाट प्राप्त हुने रकमलाई समेत आपराधिक तरीकाले प्राप्त भएको भन्दै बैङ्कहरुले यस व्यवसायमा संलग्न व्यक्तिको खाता खुलाउनु जोखीमयुक्त मान्ने गरेका थिए । गत जनवरीमा अमेरिकाको कोलोराडो राज्यले मनोरञ्जनका लागि गाँजाको विक्रीलाई मान्यता दिएपछि यस्तो जोखीम हटेको बताइएको छ । गाँजासँग सम्बन्धित व्यवसाय गर्ने व्यक्तिले खाता खुलाउन अनुमति पाए पनि बैङ्कहरुले केही प्रक्रिया पूरा हुनुपर्ने बताएका छन् ।
अमेरिकी सङ्घीय सरकारले विरोध गर्दागर्दै त्यहाँका २० ओटा राज्यले गाँजासँग सम्बन्धित केही नियम खुकुल्याएको भए पनि बैङ्कहरुले भने गाँजा विक्री र खेतीका लागि लाइसेन्स प्राप्त डिलरहरुसँग मात्र कारोबार गर्नुपर्ने बताइएको छ । बैङ्कहरुले यस्ता व्यक्तिसँग कारोबार गर्दा सावधानी अपनाउनुपर्ने अमेरिकी ट्रेजरी फाइनान्सियल इन्फोर्समेण्ट नेटवर्क (फिनसिन)का अधिकारीहरुको भनाइ छ । त्यस्तै, बैङ्कले त्यस्ता गाँजा व्यापारीसँग कारोबार गर्दा उनीहरुले गाँजा व्यवसायको लाइसेन्स प्राप्त गरे/नगरेको ध्यान दिनुपर्ने पनि फिनसिनको भनाइ छ । त्यस्तै, गाँजा व्यापारीले बालबालिकालाई गाँजा वितरण गर्न नपाउने सङ्घीय नियमको पनि पालना गर्नुपर्ने बताइन्छ । त्यस्तै, बैङ्कले आफ्ना ग्राहकका गतिविधि शङ्कास्पद रहेको पाएमा उनीहरुले ग्राहकविरूद्ध मुद्दा दायर गर्न पाउने पनि नियम बनाइएको छ । कानूनी कारबाहीमा परिने डरले बैङ्कहरुले आफूलाई सेवा प्रदान गर्न रूचि नदेखाएको गाँजा व्यवसायको लाइसेन्स प्राप्त गरेका व्यापारीहरुको गुनासो रहेको छ । ‘बैङ्कमा लगाइएको नयाँ नियमले गाँजा व्यवसायमा आर्थिक पारदर्शितालाई बढावा दिनुका साथै यस व्यवसायसँग सम्बन्धित जोखीम न्यूनीकरण गर्न सहयोग पुर्याउने छ,’ फिनसिनले भनेको छ । अमेरिकाका राज्यहरुमा गाँजा व्यवसायले कानूनी मान्यता पाउने क्रम तीव्र रुपले अगाडि बढेकाले गाँजा व्यवसायसँग सम्बन्धित आर्थिक कारोबारको पुरानो प्रक्रियाबाट अघि बढ्न जरूरी रहेको फिनसिनका निर्देशक जेनिफर स्यासी काल्भेरीले बताएका छन् । रासस/एएफपी