डार्बिन काकाले बाँदर सुध्रेर मानिस बनेको भनेका थिए । भनेपछि मानिस बिग्रेपछि पुनः बाँदर त हुने नै भयो । हैन र ? न्युटनको गतिको तेस्रो नियम क्या ! तर यसको शुरुआत चाहिँ नेपालबाटै भए जस्तो छ । पहिला पहिला नेपालमा प्रजातन्त्र ‘बाँदरको हातमा नरिवल’ भयो भन्थे । यो के भन्या होला ? किन भन्या होला जस्तो लाग्थ्यो । तर संसद्मा सांसदहरूले बेला बेलामा देखाउने हर्कत देखेपछि भने अलि अलि बुझेजस्तो लाग्न थाल्याथ्यो । अचेल त शीर्ष भनिएका अगुवा नेताहरूले नै एक–अर्कालाई राक्षस, छट्टु, गद्दार, बाँदर भनेर सार्वजनिक रूपमै बारम्बार भन्ने गरिरहेका छन् । दुवैथरीले भन्न थालेपछि हामी सर्वसाधारणले पत्याउनै पर्यो !
बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बिगार्छ भन्छन् । हाम्रा नेता चाहिँ अरूको घर भत्काएर पनि आफ्नो घर चाहिँ भव्य बनाउँछन् ।
नेता वा सांसदको भेषमा उनीहरू साँच्चै बाँदर हुन् वा उनीहरूको व्यवहार मात्रै बाँदरजस्तो हो भन्ने विषयमा अनुसन्धान गर्न सकिन्छ । तर मेरो चिन्ता अर्कै छ । ठूला भनिएका मान्छेहरूलाई बोल्ने कसरी हो समेत सिकाउन सकिएन । त्यसैले होला विगत धेरै वर्षदेखि कतिपय वैज्ञानिकहरू आआफ्ना प्रयोगशालामा बाँदरलाई प्रशिक्षण दिन थालेका छन् । बाँदरलाई पनि सभ्य बनाउन सकिन्छ कि र अझ सभ्य मानिसले जस्तै बोल्ने बनाउन सकिन्छ कि भनेर लागिपरेका छन् । यदि त्यो प्रयोग सफल भयो भने बाँदरहरू आफै पनि थप सिक्न थाल्लान् । र उनीहरू मान्छेका विचार र मनका इच्छा आदि पनि बुझ्ने र व्यक्त गर्न सक्ने होलान् । त्यसो भयो भने नेपालजस्तो देशको राजनीतिक सामाजिक ढाँचामा कति गडबडी आउला भनेर सोचिरहेको छुु, आत्तिइरहेको छु । उहिले त्रेता युगमा बोल्न जान्ने बाँदरले कत्रो कत्रो काण्ड मच्चाएका थिए भन्ने कुरा त नेपालीहरूलाई के भनिरहनु पर्ला र ?
यदि बाँदरहरूले मान्छेका भाषा र मनका कुरा सबै बुझ्न थाले भने उनीहरूले मान्छेका खोपडीभित्र कस्ता कस्ता खिचडी पाक्छन्, त्यो पनि थाहा पाउँछन् । बाँदरहरू यसै पनि मान्छेका पुर्खा न ठहरिए । भलै वर्षौं पहिले हाम्रा तत्कालीन पिढीले आफ्ना पुर्खाको आँखामा छारो हाल्न नयाँ भाषा गढेर, अनुहारमा मुखुण्डो ओढेर आफ्नाहरूलाई नै झुक्याउँदै आए होलान्, हाम्रा नेताहरूले जनतालाई झुक्याए झैं । तर यदि वैज्ञानिकहरू आफ्ना यी अनुसन्धानमा सफल भए भने त के होला ? हाम्रा पुर्खा अर्थात् बाँदरहरूले हामी मानिसहरूका बारेमा के सोच्लान् ?
बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बिगार्छ भन्छन् । हाम्रा नेता चाहिँ अरूको घर भत्काएर पनि आफ्नो घर चाहिँ भव्य बनाउँछन् । अनि उनीहरू भन्छन् एउटा । गर्छन् अर्कै । यो कुरा बाँदरहरूलाई थाहा भयो भने हाम्रो व्यवस्थाप्रति उनीहरूको विश्वास पक्कै हराउनेछ । हामी जनता त परिस्थितिलाई विचार गरेर आँखा चिम्लीदिन्छौं । वा ताली पिटिदिन्छौं । ताकि नेताहरूको कृपा हामीमाथि परि पो हाल्छ कि भनेर । तर बाँदरले त आँखा चिम्लेर किन बस्ला र ? ताली किन बजाउला र ? बाँदरहरू हामीजस्ता भोटर हुन् र जो प्रतिक्रिया दिँदैनन् वा विरोध गर्दैनन् । र, न त बाँदर कुनै जागीरे प्राणी हुन्, जो बढुवाको लोभ वा सरुवाको डरमा आफ्नो इमान दाउमा लाउँछन् । बाँदरहरूले खाने दानामा ‘सब्सिडी’ दिन्छु भनेर उनीहरूलाई कसैका लागि जिन्दावाद वा मुर्दावादको नारा लगाउन राजी गराउन पनि सकिन्न । बाँदरका लागि आत्मसम्मान नै सबै थोक हुन्छ । यो त हामीले देखि नै रहेका छौं । त्यसैले यी वैज्ञानिकहरूले बाँदरलाई बोल्न सिकाइहाल्छन् कि भन्ने कुराले म बडो चिन्तित पो छु त !
‘प्लानेट अफ द एप्स’ भन्ने फिलिममा मान्छेभन्दा जंगली बाँदर चाहिँ सभ्य अनि विकसित भएकोले बाँदरले चैं मान्छेलाई थुनेर अनुसन्धान गरेको र सभ्यता सिकाइरहेको देखाइएको छ । अब यदि बाँदरले मान्छेका भाषा सिके भने बाटोमा हिँडिरहेका मान्छेलाई उसकै भाषामा शिष्टाचार र विवेक प्रयोग गर्न सिकाउँदै हिँड्न थाल्नेछन् । यदि मान्छेले रिसाएर झर्कोफर्को गर्यो भने उल्टै बाँदरबाटै एउटाको सट्टा ४–५ ओटा गाली सुन्नुपर्नेछ । कस्तो अजीव दृश्य हुन्छ होला त्यसबेला । एकचोटि कल्पना गरी हेर्नुस् त । मान्छेले तलबाट ‘हेरौंला’ भनेर धम्की दिइरहेको हुनेछ । अनि बाँदर चैं रूख वा मन्दिरमाथि बसेर ‘गाली पुराण’ वाचन गरिरहेको हुनेछ । अनि हाम्रो सामाजिक ढाँचाको कस्तो हालत हुन्छ होला ? जब झगडा बढ्दै जानेछ अनि समाजशास्त्री र बाँदरविज्ञहरू बाँदरहरूसँग ‘वार्ता’ गर्दै हिँडिरहेका हुनेछन् । अनि बाँदरसँग अनुरोध गरिनेछ कि ‘हे हनुमानजी ⁄ तपाईं त हामो पुर्खा हो, हामीभन्दा वरिष्ठ र ज्ञानी हो । त्यसैले आफ्ना सन्तानलाई माफ गरिदिनुहोस् है ।’
बाँदरहरूले मान्छेको भाषा बुझ्न थाले भने र मान्छेका मनका कुरा थाहा पाउन थाले भने मान्छेका कुटिल विचारहरू बाँदरहरूसँग लुक्न सक्तैन । अनि बाँदरहरूले सडक वा गल्लीमा ठूल्ठूलो स्वरमा कराउन थाल्नेछन्– ‘फलानाले देशमाथि यसरी गद्दारी ग¥यो । उसले त्यसरी दलाली गर्यो । तिलानोले यति घुस दियो । उसले यति लियो । ढिस्कानाले समाजसेवाको नाममा संकलन गरेको धन आफ्ना भाइ, भतिजा, साला–सालीका सेवामा लगाएको छ । फलानाले आफ्नै दलभित्र अन्तरघात गरिरहेको छ । फलाना चैं अर्को डुंगामा हाम्फाल्ने तयारीमा छ । फलानाले कोशी बेच्यो । फलानाले कर्णाली बेच्यो । फलानाले लाउडा खायो । फलानाले नेवानि पचायो ।’
त्यस्ता बाँदरहरूबाट तपाईं के लुकाउन सक्नुहुन्छ ? ती जोडीहरूको हालत सबैभन्दा खराब हुन्छ, जो घरबाहिर मायाजाल बुन्दै हिँड्छन् र घरमा चाहिँ मुनाममदन भएजस्तो नाटक गर्छन् । बाँदरहरूले त्यस्ताको पोल उनीहरूको घरघरमा गएर खोलिरहेको देखिनेछन् । जंगलमा गएर प्रेमलीला गर्नेहरूको चयन पनि बिथोलिनेछ । किनकि रूखमाथि बसेको बाँदरको आँखाबाट ओझेलमा पर्न कति सम्भव होला र ?
बाँदरहरूले शहरका उपद्रोका कथा गाउँमा र गाउँका फट्याइँका कथा शहरमा सुनाइहिँड्नेछन् । जंगलमा प्रहरी र अपराधीबीच कस्तो कस्तो खिचडी पाक्छ, बाँदरलाई सबै थाहा हुन्छ । अझ पार्टी, कार्यालय, सिंहदरबार, संसद् भवनभित्र, नेताका घर, रिसोर्ट, सरकारी अफिस आदिभित्र हुने काम र कुराहरू थाहा पाएर बाँदरहरूले नेपाली जनताको निरीहता देखेर हाँस्छन् कि रुन्छन् होला ? वा के गर्छन् होला ? अहिले म केही भन्न सक्ने स्थितिमा छैन । त्यसैले बरु बाँदरहरूलाई मान्छेका भाषा सिकाउने गल्ती नगर्नुस् न भनेर वैज्ञानिकहरूलाई अनुरोध गर्ने पो हो कि ? बाँदरलाई बाँदरै रहन देऊ भनेर माइतीघर मण्डलातिर मैनबत्ती बाल्ने पो हो कि ? नत्र वित्यास पर्ला है !