ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगमैत्री औद्योगिक नीति बनाउन माग

२०७८ असोज, १७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका उद्योगीहरूले औद्योगिक नीति परिमार्जन गरी उद्योगमैत्री बनाउन माग गरेका छन् । भरतपुरमा शुक्रवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीहरूसँग गरेको अन्तरक्रियामा कच्चापदार्थ आयातमा भन्सार शुल्क घटाउनुपर्ने र आयात घटाई स्वदेशी उद्योगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

चितवन उद्योग संघका पूर्वअध्यक्ष हरिप्रसाद सुवेदीले ऐनमा उद्योगको परिभाषा नै नभएको भन्दै औद्योगिक नीति व्यावहारिक बनाइनुपर्ने बताए । यस्तै रिजाल फुड एण्ड बेभरेज प्रालिका अध्यक्ष पुरुषोत्तम रिजालले कच्चापदार्थ आयात गर्दा उद्योगीले सामान झारेपछि फर्किएको रित्तो कन्टेनरको समेत भाडा तिर्दा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकिएको गुनासो गरे ।

उद्योगी गणेश उप्रेतीले नीति कार्यान्वयन पारदर्शी हुनुपर्नेमा जोड दिए । उद्योगको नीतिगत सुधार अपरिहार्य भएको भन्दै उनले साना उद्योग र ठूला उद्योगलाई करको दरमा न्यूनतम ५ प्रतिशतको अन्तर हुनुपर्ने बताए । पोल्ट्री व्यवसायी महासंघका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको अण्डा र मासुमा देश आत्मनिर्भर भए पनि कच्चा पदार्थमा भने परनिर्भरता बढ्दै गएको बताए । ‘पोल्ट्री क्षेत्रमा डेढ सय अर्ब लगानी छ, ५ लाखले रोजगारी पाएका छन्,’ उनले भने, ‘तर धान प्रतिकेजी १६ रुपैयाँमा बेचेर ढुटो प्रतिकेजी ३५ मा आयात गर्नुपर्ने बाध्यता छ ।’

नेपाल कपास उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष चन्दना कोइरालाले अवैधानिक रूपमा सञ्चालित घुम्ती उद्योगलाई बन्द गर्नुपर्ने बताइन् । उद्योग संघ, मकवानपुरका अध्यक्ष लेखाराम पोख्रेलले नीति बनाउन अन्तरविभागीय समन्वयको नै अभाव भएको औंल्याए ।

नवलपुर उद्योग संघका अध्यक्ष केवी रानाले आयात प्रतिस्थापनका लागि कच्चापदार्थमै देश आत्मनिर्भर हुनुपर्ने बताए । आत्मनिर्भर भएका वस्तु निर्यात गर्न सहजीकरण गर्नुपर्ने, स्थानीय करलाई घटाउनुपर्ने र बजार सुरक्षित गर्नुपर्नेमा उनले जोड दिए ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले नेताहरूले भाषणमा औद्योगिक क्रान्ति ल्याउनुपर्ने बताए पनि व्यवहार र बजेटमा भने उद्योगलाई न्यून प्राथमिकतामा राखिएको बताए ।

अन्तरक्रियामा उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले उद्योगीहरूको राय सल्लाह बमोजिम नै औद्योगिक नीति परिमार्जन हुने बताए । बजेट र मौद्रिक नीतिमा कतिपय नीति समावेश हुँदै गएको र कार्यान्वयनको चरणमा गएको उनको भनाइ छ । उद्योगीहरूले राखेका जायज माग सरकारले सम्बोधन गर्ने भन्दै भुसालले अन्तरमन्त्रालय र विभागबीच छलफल भइरहेको बताए ।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोख्रेरेलले सरकारले समयानुकूल नीति परिर्वतन, परिमार्जन गर्दै लगिने बताए । ‘हामीसँग समस्या धेरै छन्, तर साधनस्रोत कम छ ।

निजीक्षेत्रसँगको सहकार्य र समन्वयमा अघि बढ्छौं,’ उनले भने । औद्योगिक सुरक्षा र लगानीको सुरक्षामा सरकार केन्द्रित रहने उनको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सहसचिव नारायणप्रसाद ढुंगाना, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका सचिव डा. सिन्धुप्रसाद ढुंगाना, उद्योग परिसंघ बागमतीका अध्यक्ष ऋषिराम घिमिरे लगायतको सहभागिता थियो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)