खोज पत्रकारहरूले प्यान्डोरा पेपर्स नामक रिपोर्ट अर्थात् प्यान्डोराको बाकस खोले । त्यो बाकसभित्रबाट कतिपय धनाढ्य नेपालीले गैरकानूनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा अफसोर कम्पनी खोलेर गोप्य लगानी गरेको कुरा बाहिर आयो । ग्रीक पौराणिक कथामा त प्यान्डोराको बाकस खोलेपछि त्यसबाट भयानक कुराहरू, जस्तै– लोभ, घृणा, ईष्र्या, रोग, भोक, शोक, गरीबी, युद्ध र मृत्यु आदि जस्ता कुराहरू निस्केर संसारलाई पूरै बदलिदिएको थियो । तर पत्रकारहरूले खोलेको प्यान्डोरा पेपर्सले अरू देशमा के भयो कुन्नि, नेपालमा भने केही भएन । र, केही हुनेवाला पनि छैन ।
चार्ल्स शोभराजले नेपालको भन्सारबाट हात्ती नै छिराइदिन्छु, कसैले थाहै पाउन सक्तैनन् भन्थे । उनले भनेको हात्तीको अर्थ त हात्तीको फोटो भएका नोट पो रहेछ ।
पहिले पहिले पनि कहिले पनामा पेपर्स, कहिले विकिलिक्स त कहिले नेपालिक्स भनेर विभिन्न नाममा प्यान्डोराज् बक्स खोलिएकै हो । तर त्यसको क्यै प्रभाव परेको छैन हाम्रो देशमा । उता विदेशमा पनामा पेपर्स लिक्स हुँदा आइसल्याण्डकी प्रधानमन्त्री लगायतले पदबाट हात धुनुपरेको थियो । पाकिस्तानका पूर्वप्रम नवाज सरिफ र उनकी छोरीलाई १०औं वर्षको जेल सजाय सुनाइएको थियो । अर्थात् विदेशमा यस्ता रिपोर्टहरूको क्यै न क्यै काम भा छ । तर नेपालमा ? बहादुरहरूको देश पो हो त ! यस्ता जाबो लिक्सले छुस्स पनि छुन सक्दैन ।
अचम्मको कुरो चैं के भने देशमा यत्तिका कानूनहरू छन्, जसले नेपालीलाई विदेशमा पैसा लैजानबाट रोक्छ र विदेशबाट आउनबाट पनि छेक्छ । हिजो राजतन्त्रमा पनि त्यस्तो कानून थियो । आज गणतन्त्रमा पनि छ । तर पैसा त सुतुसुतु छिरेर बाहिर गइरहँदो रेछ । अनि उताबाट पनि हुतुतुुतु आइराकै छ । अनि कसरी आउँदा रेछ त ? चार्ल्स शोभराजले नेपालको भन्सारबाट हात्ती नै छिराइदिन्छु, कसैले थाहै पाउन सक्तैनन् भन्थे । उनले भनेको हात्तीको अर्थ त हात्तीको फोटो भएका नोट पो रहेछ ।
अर्को अचम्म, धेरै देशका राजनीतिक नेताका नाम यो रिपोर्टमा आएको छ । तर एउटै नेपाली नेताको नाम परेको छैन । तर नेपालका नेताले प्यान्डोरा पेपर्समा आफ्नो नाम आउने हैशियत बनाएका रहेनछन् भनेर भ्रममा नपर्नु होला । प्यान्डोरा पेपर्समा आफ्नो नाम नआउने गरी चाँजोपाँजो मिलाउन सक्ने खुबी पो छ त हाम्रा नेताहरूमा । कथं नाम आइहाले पनि केही नहुने माहोल बनाउने कला पो छ त उनीहरूमा ।
नेपालीलाई खुलेआम पैसा इधरउधर गर्न चाहिँ कानूनले रोक्ने रहेछ, घुम्टो ओढेर आवतजावत गर्न चाहिँ समस्या रहेनछ । त, अनुसन्धान केमा गर्न पर्ने देखियो भने पैसा यहाँबाट जाँदा कस्तो घुम्टो लगाएर जाँदो रेछ । उताबाट आउँदा पनि कुनै देशबाट घुम्टो लगाएर मात्र आउन पाउने र कुनै त्यस्तै देशबाट चैं घुम्टो खोलेरै आउन पाउने रेछ । अलिकति आइडिया त अर्बपति बन्धुले किताबै लेखेर दिएका थिए क्यारे ! यो कत्तिले बुझे कुन्नि !
यता अहिलेको सरकारले आर्थिक विधेयकमार्फत कालो धनलाई सेतो धन बनाउने व्यवस्था गर्यो । त्यो पनि छापामार शैलीमा अर्थात् विपक्षीले गरेको संसद् अवरोधकै बीचमा । यसलाई कत्तिले ‘ला वित्यासै पार्ने भो । सरकारले कालो धनलाई सेतो बनाउन लाग्यो’ भन्ठानेका छन् । त कसैले भने, होइन, खैरोलाई चाहिँ सेतो बनाउन दिन थालेको हो भनेर यसको समर्थन पनि गरेका छन् । तर अचम्म त के भने ह्याँ स्वदेशमै जम्मा भएको खैरो धन चैं बाहिर निक्लन मनाही रे । तर सात समुद्रपारि सेन्ट किट्स एण्ड नेभिस जस्ता ट्याक्स हेभन हो कि ह्यावेनमा जम्मा भएको नक्कली धन चैं मजाले ल्याउन पाउने रे । ‘नेपालको कानून, दैवले जानून्’ भन्थे, हो रेछ । कि त नेपाली उद्योगी व्यवसायीलाई पनि अब नेपालमै नयाँ सेन्ट किट्सको सृजना गर्न सुझाउनुपर्यो ।
भन्नुहोला ह्याँ टापु छैन । कसरी बनाउने ट्याक्स हेभन सेन्ट किट्स वा ब्रिटिश भर्जिन आइल्यान्ड्स भनेर । तर चाहेमा बनाउन सकिहालिन्छ नि । समुन्द्र भए मात्र पोर्ट हुने हो र ? ड्राइपोर्ट अर्थात् सुक्खा बन्दरगाह भन्ने पनि त हुन्छ नि । हो त्यस्तै, ह्याँ पनि ‘ड्राई आइल्यान्ड’ अर्थात् सुक्खा टापु बनाउने नि । अनि त्यो सुक्खा टापुलाई ट्याक्स हेभन भनिदिने र त्यहाँबाट सबै प्रदेशमा लगानी आउन र जान दिने बनाउने । अनि हरेक प्रदेशमा लगानी सम्मेलन गरेर एउटा प्रदेशको लगानी अर्कोमा लाने र ल्याउने गरिरहने । सम्भवतः सरकारले यस विषयमा सोचिरहेको पनि होला । किनकि यहाँबाट ह्वाँ पुगेर त्यै पैसा फेरि ह्याँ आइरहेको छ । त्यसको सट्टा पैसा उता जानै नदिने । बरु ‘ट्याक्स हेभन’ ह्यैं सृजना गर्ने । हुन्न ? एपीजेड, जीपीजेडको साटो अब एमएलजेड अर्थात् मनी लण्ड्रिङ जोन खोलेमा झन् काइदा हुन्छ क्या !
यता सरकारले निश्चित क्षेत्रमा २०८० सालसम्ममा गरेको लगानीको आयस्रोत नखोज्ने व्यवस्था गर्ने भनेको थियो । उता खोज पत्रकारहरूले नेपालीको विदेशमा अवैध लगानी छ भनेर प्रतिवेदन निकाले । यो काकताली होला कि कसैको बालीनाली अर्थात् खेती होला ? खैर यो जे होला, पछि थाहा हुँदै जाला । अहिलेलाई भने यत्ति कुरा चैं बुझौं कि सरकारले स्रोत खोज्नुपर्दैन भनेको मतलव अब सरकारले देश विकास गर्ने भो भन्ने चाहिँ होइन । त्यो भ्रममा चैं पर्दै नपर्नु होला है । विगतमा देश विकास गर्न भनेर घर घरमा बन्दुक देखाएर संकलन गरेको पैसा तह लाउने उपाय चाहिँ पक्कै हो । खै कुरा बुझ्या ?
त्यसैले चिन्ता खैरो धन अर्थात् पुराना घरानाको अप्रमाणित पैसा बाहिर आउन दिने विषयमा हुनु हुँदैन । चिन्ता रगतको पैसा अर्थात् हत्या, आतंक, लुटपाट, लागूपदार्थको किनबेच, मानव बेचबिखन आदिबाट गरिएको लाल धनको चैं हो । व्यवसायीलाई फाइदा भए फरक पर्दैन । किनकि उसले त्यो फाइदाबाट फेरि लगानी गर्छ र नयाँ रोजगारी सृजना गर्छ । तर लुटेराहरूलाई फाइदा भयो भने फेरि नयाँ नयाँ बन्दुक किन्छ र मान्छेका कन्चट ताक्न थाल्छ । समस्या वा चिन्ता यसमा चैं हो । शायद सरकारको ढिलासुस्तीमा यो नै प्रमुख कारण हो ।
सुन्नेलाई सुनका माला, भन्नेलाई फूलका माला । समयमै कुरा बुझ्नोस् । प्यान्डोरा बक्स खोल्न कुद्नुस् । कतै सेतो, खैरो वा कालो धनको पोको फेला पारिहाल्नु हुन्छ कि ?
अहिलेलाई भने हिले दशैं २०७८ को हार्दिक मंगलमय शुभकामना !