ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केको खुशीमा दशैं ?

२०७८ कार्तिक, ५  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

यो वर्षको दशैं भर्खरै सिद्धिएको छ । तर सडक, बजार हेर्दा दशैंको ह्याङओभर अझै सिद्धिएको देखिँदैन । तिहार शुरू नभै दशैं सिद्धिने छाँट पनि छैैन । दशैं सिद्धिए पनि नेपालीका दशा भने अझै उस्तै छन् । अर्थात् नेपालीको दशकौंदेखिका समस्या ज्यूँका त्यूँ छन् । अझ यसपालि त मनसून सकिएपछि भएको असाधारण वर्षाले किशानलाई जोगी बनायो र खाद्यान्न आयात झन् बढने अवस्था देखिइसक्यो । तर नेपालीलाई खुशी हुन केही चाहिँदैन । बहाना पाए पुग्छ । दशैं, तिहार त्यस्तै बहाना बन्छन् ।

पुरानो रावणका दशओटा शिर थिए रे, ती पनि राम्रा राम्रा काम गर्नका लागि । हाम्रा रावणहरू त सय शिरवाला पो छन्, जहाँ जस्तो पर्छ ठ्याक्कै त्यस्तै बनिदिने, बकिदिने ।

फोहोर, धूलो र हिलोले पुरिएका सडक टेकेरै नेपालीले यो वर्षको दशैं पनि गुजारे । खानेपानीको आपूर्तिको हालत उस्तै छ । शिक्षाक्षेत्र यत्ति धेरै रसातलमा धँसिसकेको छ कि मान्छेहरूले चर्चासम्म पनि गर्न छाडेका छन् । जता हेर्‍यो त्यत्तै भताभुङ्ग छ । तैपनि नेपाली दंग छ । अघिल्लो सरकारले के को कानून बनाउने ? भन्दै प्रतिनिधिसभा भंग गर्‍यो । संसद् थमौती भएपछि दंग परेकाहरूले पनि दर्जनौं विधेयक अलपत्रै पारेका छन् । आफैले मारेको संसद्लाई कानून बनाउन किन दिने भनेर प्रतिपक्षले संसद् नै चल्न दिएका छैनन् । खासगरी लगानी तथा विकाससँग जोडिएका दर्जनौं विधेयक सरकार र राजनीतिक दलहरू जस्तै अलपत्र छन् । कोरोनाले प्रभावित यो दशैं काम र माम गुमाउनेका लागि त औपचारिकता मात्रै देखियो ।

पोहोर कोरोनाले गाँजेको बेला परेर खुम्चिएका नेपालीहरूले यसपालि भने जसोतसो टीको लगाउन पाए, आफन्तहरूसँग भेटघाट गर्न भ्याए । तैपनि सडकमा निस्किएका धेरै मान्छेको निधार खाली थियो । किनकि कोरोनाले लगेका आफन्तको बरखी सकिएकै छैन, कसरी टीकाटालो गर्दे हिँडून् ?

दशैंका कुरा गरेपछि राम र रावणको कुरा उठिहाल्छ । कति ठाउँमा त रावणको पुत्ला बनाएरै जलाइन्छ । अर्थात् रावण भनेको खराब । रावण राज्य खराब, रामराज्य असल । तर राम वा रावण उतिबेला पनि थिए, हिजोआज पनि छन् ।

रामायणको रावणले बहिनीको नाक लक्ष्मणले काटिदिएको रिसमा सीता हरण गरेको थियो । अहिलेका हाम्रा रावणहरूको त पेशा नै आफ्नै नाक काट्ने रहेको छ । रावण आफ्नो बेलाको सबैभन्दा पढे लेखेको दार्शनिक शासक थियो । हाम्रा रावण भने ‘कमिला नपढेर सानो भा हो र हात्ती पढेर ठूलो भा हो र’ भन्ने दर्शन बोकेकाहरू छन् । हाम्रोमा त स्कुल जलाउने, किताब पोल्ने र शिक्षक मार्ने रावणहरूकै बोलबाला छ ।  

पुरानो रावणका दशओटा शिर थिए रे, ती पनि राम्रा राम्रा काम गर्नका लागि । हाम्रा रावणहरू त सय शिरवाला पो छन्, जहाँ जस्तो पर्छ ठ्याक्कै त्यस्तै बनिदिने, बकिदिने ।

रामायणको लंकामा एउटा विभीषण थियो । हाम्रा लंकामा त विभीषणै विभीषण छन् । बरु को चाहिँ विभीषण हैन भनेर खोज्नुपर्ने बेला पो छ । उसबेलाको रावणको लंका हनुमान्ले जलाउँथे, यता हाम्रा रावणहरू आफ्नै लंकामा आफै आगो लगाई हिँड्छन् ।

हाम्रो देशमा प्रत्येक शासक आफूलाई ‘राजा राम मै हो’ भनेजस्तो गर्छन् । तर व्यवहारमा चाहिँ रावणराज्य बनाउँछन् । हाम्रा शासकहरू रामको भेष धरेर रावणको कर्तुत गर्दछन् । यसरी जताततै रावणकै बोलवाला छ । सच्चा रामहरू गुमनाम र असान्दर्भिक छन् । बरु पहिलेको रावणले भगवानलाई खुशी पारेर आफू र आफ्नो जातिलाई वैभव दिलाए । तर हाम्रा रावणहरूले आफ्नालाई मारेर आफू मोज गर्छन् । रावण लंकाको राजा हुनुअघि नै चौध विद्या र ६४ कलामा पोख्त थिए रे । हाम्रा रावणहरू शासक हुन जेल बसेको प्रमाणपत्र बनाए पुग्छ ।

बरु पुराणका रावणले आफ्ना भक्तहरूलाई स्वर्गसम्म लाने थुप्रै आयोजना पनि शुरू गर्‍याथे । रावणको स्मार्टसिटी लंकामा रावणभक्तहरूका सुनका महल बनाइएका थिए । र, रावणले आफ्ना लागि आलिशान दरबार बनाएकै थिए । रावण शानदार पुष्पक विमानमा उड्ने गर्दथे । महँगा वस्त्र तथा आभूषणको प्रयोग गर्दथे ।

पुराणको रावणको देशमा जनतालाई पुगिसरी थियो । भोकै पेट सुत्नेहरू थिएनन् । हाम्रोमा न रावणराज्य छ, न त रामराज्य नै । तैपनि रावणराज्य हुनुपर्छ भनेर कोही कुरा गर्दैन ।

त्रेतायुगको रावण राज्यमा र अहिलेको कलियुगे रावण राज्यमा धेरै फरक छ । ती रावण अरू देशबाट जितेर ल्याएको सम्पत्तिले लंकालाई सुनैसुनको बनाउँथे । यी रावणहरू आफ्नै देश लुटेर विदेशी बैंकमा सुनै सुन थुपारेर राख्छन् । ती रावणका लंकामा पनि खर र दूषण तथा आतापी र वातापी जस्ता अनुचर थिए रे । तर उनीहरू आफ्नो लंकामा आतंक मच्चाउँदैनथे, टाढाका देशहरूमा गएर उपद्रो गर्थे । हाम्रोमा त खर र दूषण तथा आतापी र वातापीका अवतारहरू देशभित्रै जनतालाई पीडा दिइरहेका छन् र टाढाका देशकाहरूको पूजा गरिरहेका हुन्छन् ।

अहिलेको रावण राजमा कुम्भकर्णहरू मन्त्री बन्छन्, जो बेला कुबेला केवल बकबक गर्न जानेका हुन्छन्, खानेबेला उठ्ने, काम गर्ने बेला सुत्ने । यिनका काम भने पत्नी वा सालासालीले चैं गरिरहेका भेटिन्छन् । आजका रावणहरू सभा, सम्मेलन, बैठक खुब गरिरहन्छन् जहाँ दुईनम्बरिया गीत गाउँछन्, कालाबजारिया बाजा बजाउँछन् र नोकरशाहहरू नाच देखाउँछन् । विद्वान् भनिनेहरू ताली बजाउँछन् । आजका रावणको लंकामा बस्ने हो भने ‘रावणकी जय’ भनेर नारा लगाउनै पर्छ । नत्र खैरियत हुँदैन ।  

माता दुर्गाले दानवी शक्तिमाथि र रामले रावणमाथि वा असत्यमाथि सत्यले विजय हासिल गरेको खुशियालीमा दशैं मनाउने चलन शुरू भएको हो रे । तर हामीले अहिले चैं केको विजयोत्सव वा खुशियालीमा दशैं मनाइरहेका छौं त ? दानवी शक्ति घटेको देखिँदैन, बढ्दो पो देखिन्छ । यो वर्षको दशैं त यसो उसो, जसोतसो गरी मनाइयो । अब अर्को दशैं मनाउनुअघि यतातिर पनि यसो विचार गर्न थाल्ने हो कि ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)