कात्तिक ९, टोकियो(जापान) । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् ।
विवादका बीच उनी मंगलवार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकि थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकि थिइन् ।
जापानको शाही परिवार सम्वन्धी नियमअनुसार उनले सर्वसाधारणसँग विहे गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयमा सँगै पढेका साथीसँग शुरु भएको राजकुमारी कोकोको प्रेमसम्वन्ध मंगलवारदेखि बैवाहिक सम्वन्धमा रुपान्तरण भएको हो । उनीहरुको मगनी गत सन् २०१७ मा भएपनि बिवाहको मिति तय भएको थिएन ।
जापानका राजा नारुहितोकी ३० वर्षिया भतिजी माकोले उही उमेरका केइ कोमुरोसँग विवाह गरेकी हुन् । उनको पति अमेरिकास्थित एउटा ल फर्ममा काम गर्दै आएका छन् ।
बिवाहपछि राजकुमारी माको पनि अमेरिका जानेछिन् । उनीहरुको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन् भने उनले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकि छन् ।
यी दुवै कुरा परित्याग गर्ने उनी जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । राजपरिवारकी सदस्यले सर्वसाधारणसँग बिवाह गर्न लागेको भन्दै उनीहरुको बिवाहका बारेमा टिकाटिप्पणी हुँदै आएको थियो ।
विरोधका बीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरी भने सकारात्मक चर्चाको विषय भएको छ । रासस/ एएफपी