ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हामी र हाम्रो गौरव

२०७८ कार्तिक, २६  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary
author avatar मदन लम्साल

भारतकोे रंग र फूल अनि चीनका पटाका र झिलिमिली बत्ती मगाएरै सही यसपालि तिहार भने खुब मनाइयो । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समेत सकियो र यो वर्षका मुख्य चाडपर्वहरू पनि सकिए । तर चाडपर्वमा बढी नै रमाउने गरेका हामी निराश भइहाल्नु पर्दैन । किनकि देशमा राजनीतिक, न्यायिक र सामाजिक क्षेत्र जताततै अनेकखाले पर्व र जात्रैजात्रा चलिरहकै छन् र चलिरहने नै छन् ।

हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ?

चारैतिर निराशा छ । न राजनीति, न न्याय, न शिक्षा, न अर्थतन्त्र सही छ । तर निराशावादीहरूका बीचमा हामीले आशाका किरणहरू खोज्नैपर्छ र हाम्रा पुराना गौरवहरूलाई ब्यूँताउनैपर्छ । शायद त्यसैले झीनो स्वरमै सही केही मानिसहरू राजतन्त्र फर्किने वा फर्काउने कुरा गरिरहेका छन् । वर्तमानमा काम नगर्ने र भविष्य नसोच्नेहरूको काम नै अतीतलाई राम्रो देख्नु हो । त्यसैले पो हो कि खराट गणतन्त्रवादी पनि राजतन्त्रको पक्षमा बोल्न थालेका छन् ।

लोकतन्त्रको सुन्दर पक्ष नै यही हो कि हामी हिजोभन्दा आज झन् झन् स्वतन्त्र हुँदै गैरहेका छौं । त्यसैले जसलाई जे गर्न मन लाग्यो, जे बोल्न मन लाग्यो मज्जाले पाएका छन् । विगतमा न्यायालयको विषयमा चु सम्म बोल्न पाइन्नथ्यो, आज सडकको बहसको विषय भैसकेको छ । बातले जित्नुपर्ने वकिलहरू मुक्का र हातले नपुगेर लात पनि चलाउन थालेका छन् । योभन्दा बढी स्वतन्त्रता विश्वमा कतै होला र ?  

वास्तवमा हाम्रा गौरवहरूलाई हामीले गन्न र भन्न बिर्सेका मात्र हौं । मध्य सडकमा यत्रतत्र फ्ँयाकिएका प्लास्टिक र फोहोरलाई नै हेरौं न, ती हाम्रा दुःखले आर्जेका स्वतन्त्रताका प्रतीक हुन् । यसले हाम्रो देश समृद्धतर्फको यात्रामा अगाडि बढिरहेको संकेत गर्दछ । हामी पुगीसरी आएका कारण जताततै जे पनि छर्ने वा फ्ँयाक्ने हैसियतमा पुगेका हौं । यसको मतलव हामी मध्य आय भएको राष्ट्रको दर्जामा पुग्ने आधा बाटोमा छौं भन्ने पनि हो ।

हाम्रो स्वतन्त्रताको उपभोग विदेशीले पनि भरपूर गर्न थालिसकेका छन् । रोहिँग्यादेखि अफगानीसम्म नेपाली नागरिकझैं भइसके । विश्वको कुनै पनि कुनाका अपराधीहरू नेपालमा स्वतन्त्र रूपमा बस्न पाउँछन् । यस्तो स्वतन्त्रता भएको गौरवशाली देश छ अन्त कतै ?

हाम्रोे देश यति धेरै स्वतन्त्र भैसकेको छ कि हाम्रा सरकारहरू पनि पूर्ण स्वतन्त्र नै छन् । त्यसैले सरकारले सडक लगायत राज्यका सम्पत्तिहरू दशकौंदेखि यत्तिकै विनामर्मत–सम्भार छाडिदिएका छन् । किनकि यो जनता आफैले आफ्नै तालले मर्मत गरून् भनेर छाडिएका हुन् । संसारमा कुन चैं देश यसरी सरकारी हस्तक्षेपविना यति धेरै स्वतन्त्र चलेको छ र ? यस्तो स्वतन्त्रता क्रमशः राज्यका अन्य अंगहरूमा पनि दिन दुईगुना रात चौगुनाका दरले झाँगिइरहेको छ ।

त्यसैले जसले जेसुकै भनून्, हामी हाम्रो देशलाई माया गर्छाैं, फोहोर होस् वा मोहोर सबै सबै चीजलाई । आखिरमा हाम्रो देश भनेको वीर गोर्खाली भनेर त्यसै चिनिएको हैन नि ⁄ हामी सगरमाथाको देश हो, चाहे दुई तिहाइ भाग चीनमा परेको किन नहोस् । यो डाँफेचरी बस्ने देश हो, जो अहिले लोप हुने अवस्थामा पुगेको छ । हामी हाम्रा राष्ट्रिय जनावरहरूलाई यति धेरै माया गर्छाैं भन्ने त मुख्य जनावरका तस्वीरहरू राष्ट्र बैंकले नोटमा छापेकै कारणले नै प्रमाणित हुन्छ । जंगलमा के भइरहेछ भन्ने कुरा गौण हो ।
बुद्ध र सीता नेपालमै जन्मेको त नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुनुभन्दा धेरै पहिलेदेखि नै हो । अझ भनौं राष्ट्रसंघको जन्म हुनुभन्दा र राष्ट्रसंघलाई जन्म दिने देशहरू जन्मनुभन्दा पनि धेरै पहिलेदेखि नै हो । अझ राम समेत नेपालमै जन्म्या हो भनेर ‘बा’ले ठोकुवा गर्‍यागर्‍यै छन् । अझ हाम्रा अरनिको बाजेले स्तुपा बनाउन नसिकाएको भए त चाइनिजहरू अहिलेसम्म पनि शायद जंगली नै रहिरहन्थे होला । हामी यस्तो गौरवशाली इतिहास भएको देश पो हो त !

तर अहिले आएर पो हामीलाई अरूले हेप्न थाले बा ! हाम्लाई हेप्ने ? अब भने केही न केही नगरी नहुने भयो । र, केही हुन थालिसकेको पनि थियो । पूर्ववर्ती सरकारले त्यत्रो काम थालिसकेको थियो, गिनिज बुकमा आधाआधी पेज त ती कामले नै भरिन थालिसकेका थिए । तर के गर्नु, फ्याट्ट त्यै सरकार हट्यो । तैपनि चिन्ता छैन । अहिलेको सरकारले पूर्ववर्ती सरकारकै रेकर्ड पनि तोड्न थालिसकेको छ ।

त्यसैले खबरदार ⁄ कसैले पनि हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत नगरून् ! हामी त दुई ढुंगाबीचको डाइनामाइट पो हो त ! त्यसैले हाम्रो देशको रक्षाकै खातिर पनि हाम्रो सार्वभौम सिमानाभित्र हामीलाई जहाँ मन लाग्यो, त्यहीँ फोहोर फ्याँक्न स्वतन्त्र छौं । सडकमा हाम्रा प्रायः मोटरसाइकल चालकहरूले उपभोग गरिरहेको स्वतन्त्रता त शायद विश्वका कुनै पनि जनताले उपभोग गर्न पाएका छैनन् होला । हाम्रो हरियो राहदानीलाई हेप्ने हिम्मत जसले गर्छ, हामी उसैको देशमा राहदानीविनै छिरिदिन्छौं र त्यहाँ कब्जा जमाइदिन्छौं । हाम्लाई के ठान्या ?

हामी यति स्वतन्त्र छौं कि हामीलाई मन लागे जसलाई पनि गाली गर्न वा ताली मार्न सक्छौं । देखिरहनुभएकै छ हाम्रा महान् नेताहरूले एकअर्कालाई गालीको फोहोराले हान्ने गरेका । हाम्रा बुद्धिमान् जनताहरू पनि के कम ? उनीहरू पनि नेताहरूले जे खोके पनि तालीले स्वागत गर्दै तिनका हरेक कुरा मान्ने गरेका !

त्यसैले आउनोस्, हामी सबै लागेर हाम्रा यी परम्परा र हाम्रा यी राष्ट्रिय गौरवहरूलार्ई गर्वका साथ जोगाइराखौं, देशविदेशमा आफ्नो कीर्ति अझ फैलाऔं । हाम्रा साना दुःखले आज्र्याको स्वतन्त्रता हैन, देशी विदेशीहरूले जे गर्न मन लाग्यो, त्यही गर्न पाउने फूलबारी हो यो, सबैलाई चेतना भया !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)