ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजनीतिक गतिविधिले चितवनको पर्यटन चलायमान

२०७८ कार्तिक, २८  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा सत्तारुढदेखि प्रतिपक्षी दलसम्मका राजनीतिक गतिविधि बढ्दै गएका छन् । देशभरका विभिन्न दलका नेता तथा कार्यकर्ताको चितवन आउजाउ बढेपछि यहाँका पर्यटन व्यवसायी भने खुसी छन् । एमालेको मंसिर १० गतेबाट सुरु हुने महाधिवेशन, कांंग्रेसको जिल्ला अधिवेशन, नेकपा मालेको राष्ट्रिय महाधिवेशन चितवनमै हुने भएपछि थला परेको पर्यटन उक्सिने आसमा व्यवसायी रहेका हुन् ।

कोरोना कहरले शिथिल बनाएको पर्यटन व्यवसायलाई राजनीतिक चहलपहलले उकास्ने देखिएपछि उनीहरू उत्साहित भएका हुन् । हाल चितवनका सौराहा, नारायणगढका होटलमा पाहुनाको बाक्लो उपस्थिति देखिन थालेको छ । कतिपय होटलमा महाधिवेशन लक्षित कोठा बुकिङ, सोधपुछ हुने गरेको व्यवसायी बताउँछन् ।

जंगल सफारी लजका सञ्चालक एवं क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे राजनीतिक गतिविधि बढेसँगै सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको बताउँछन् । ‘अहिले हरेक दल चितवन केन्द्रित भएका छन्’, उनले भने, एमालेको महाधिवेशनले हामी थप उत्साहित छौं ।’

महाधिवेशन तयारीसँगै चितवनमा पार्टीका शीर्षस्थ नेता तथा कार्यकर्ताको सहभागिता दिनहुँ बढ्दै गएको उनले बताए । ‘कोरोना कहरपछि हाम्रा लागि यो ठूलो अवसर हो । महाधिवेशनमा आउने पाहुनलाई कसरी व्यवस्थित र सेवा दिन सक्छौं भन्ने विषयमा छलफलमा छौं,’ उनले भने ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई जिल्लामा विभिन्न दलका अधिवेशन, महाधिवेशनले पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँछन् । चितवनको पर्यटनका लागि अवसर र चुनौती दुवै छ,’ उनले भने, ‘हामीले देशभर निःशुल्क पर्यटन प्रवद्र्धन गर्न पाउनेछौं भने अतिथिलाई दिने सेवामा कति सन्तुष्ट पार्छौं भन्ने हो ।’

पर्यटन क्षेत्र मात्र होइन, यहाँको कृषि उत्पादन, यातायात, हवाई उडानदेखि स–साना खाजा तथा चिया पसलमा पनि चहलपहल बढ्न थालेको भट्टराईको भनाइ छ । हाल महाधिवेशनमा आउने पाहुनालाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय, पर्यटनसम्बद्ध संस्था र स्थानीयसंँग छलफल भइरहेको उनले जानकारी दिए ।

‘झन्डै १० वर्षपछि चितवनको पर्यटनका लागि अवसर जुटेको छ । यसले हामीलाई उत्साहित बनाएको छ,’ भट्टराईले भने । उनका अनुसार पाहुनालाई लक्षित गरी छुटका प्याकेज, स्वागत, सजावटका काम थालिएको छ ।

सौराहामा एमाले महाधिवेशनको मतदान प्रक्रिया र बन्दसत्र भए पनि नारायणगढका साना तथा ठूला होटल सबै प्याक हुने भएका छन् । नारायणगढको नारायणी किनारमा महाधिवेशन उद्घाटन हुने एमालेको पूर्वनिर्धारित कार्यक्रम छ । सोही कारण सौराहामा मात्र नभई चितवनका अन्य पर्यटकीय स्थल पटिहानी, मेघौलीलगायत क्षेत्र पनि चलायमान हुने व्यवसायीको आशा छ ।

होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं होटल गंगोत्रीका प्रबन्ध निर्देशक दिनेशकुमार चुके कोरोनाले धराशयी भएको पर्यटनलाई राजनीतिक चहलपहलले ठूलो राहत मिल्ने बताउँछन् । ‘चितवनमा ४० वटा पर्यटकीय गन्तव्य छन् । यसको प्रर्वद्धन गर्न र चितवन चिनाउन पनि प्याकेज कार्यक्रम अपरिहार्य छ,’ उनले भने ।

एमाले महाधिवेशनमा सात वटै प्रदेशका नेता, कार्यकर्ता, प्रतिनिधि, पालिका प्रमुख र अन्य देश–विदेशबाट आउने अतिथिलाई व्यवस्थापन गर्न एमाले १० औं महाधिवेशन व्यवस्थापनका समिति पनि जुटिरहेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक एवं चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले महाधिवेशन तयारी र व्यवस्थापनका लागि जुटिरहेको जानकारी दिए । ‘अहिले खाने, बस्ने व्यवस्थापनका लागि होटल व्यवसायीसँग छलफल  भइरहेको छ’, उनले भने, ‘हामीले प्रत्येक प्रदेशबाट आउने पाहुनाको सोही प्रदेशका नेतृत्वकर्तालाई जिम्मेवारी सुम्पेका छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)