ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चरन अभावले मौरीपालक किसान मारमा

२०७८ मंसिर, १  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा मौरीको चरन क्षेत्र खुम्चिँदा मौरीपालक किसान मारमा परेका छन् । मौरीपालनमा किसानको आकर्षण बढे पनि मौरी चरनका लागि लागि चिउरी, तोरी, रुधिलो लगायत बोटविरुवा पाइने क्षेत्र घट्दा अन्य जिल्लामा मौरी लगेर चराउनुपर्ने बाध्यता छ ।

भरतपुर महानगरपालिका–९ का मौरीपालक किसान विष्णु भुसालले केही वर्ष अघिदेखि दाङ, प्यूठान, सर्लाही, महोत्तरी लगायत जिल्लामा लगेर मौरी चराउँदै आएका छन् । ‘चितवनमा प्रशस्त चरन क्षेत्र छैन, अहिले डेढ सय गोला लिएर दाङ आएको छु,’ उनले भने । गतवर्षको तुलनामा यस वर्ष मह उत्पादनमा केही सुधार हुने अपेक्षा गरिए तापनि चरन क्षेत्रको अभावले सास्ती खेप्नुपरेको उनले बताए । अहिले चितवनमा चिउरी पनि नफुलेको र भर्खर धान कोटेर तोरी लगाउने बेला भएकाले चरनको समस्या भएको उनको भनाइ छ ।

रत्ननगर नगरपालिका–१५ का मौरी किसान रोशन पण्डित चरनकै अभावले महको उत्पादन पनि घट्ने बताउँछन् । ‘मौरीपालक किसान र गोलाको संख्या बढेको छ । तर चरन क्षेत्र वर्षेनि घट्दो छ,’ उनले भने । चितवनको मौसमको भर नहुने र नियमित  हावा पानी आउने  भएकाले मौरी चरनमा समस्या हुने गरेको उनले बताए । अहिले चितवनको मौसम राम्रो नभएको, तर दाङतिर यो समयमा चिउरी र तोरी राम्रैसँग फुलेकाले चराउन लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

पछिल्लो समय चितवन, प्यूठान, रोल्पा लगायतका किसानले दाङमा मौरी चराउन ल्याएकाले चरन क्षेत्रमा चाप परेको घोराही नगरपालिका–४ का किसान गोपीचन्द्र न्यौपानेले बताए । ‘अहिले हाम्रै जिल्लामा मौरी किसान बढेका छन् । यसमाथि चितवन, प्यूठान, रोल्पाबाट पनि मौरी ल्याउनुभएको छ,’ उनले भने, ‘मौरीको गोला धेरै भएकाले चरन अभाव भयो ।’ कतिपय फलफूल तथा अन्नबालीमा विषादीको प्रयोग गरिएकाले पनि मह उत्पादनमा ह्रास हुँदै गएको उनको भनाइ छ ।

नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा अहिले मौसम अनुकूल भएकाले गतवर्षभन्दा मह उत्पादन बढ्ने अनुमान गरिएको बताउँछन् । ‘अहिले तराईका जिल्लामा चिउरी चाँडै फुल्न थालेको छ,’ उनले भने, ‘यस वर्ष मह उत्पादन २० प्रतिशतले बढ्ने संकेत देखिएको छ ।’ मौरीपालक किसान बढे पनि जग्गा खण्डीकरण, वनजंगल मासिनु, रानी मौरीको गुणस्तरमा ह्रास र विषादीको अव्यवस्थित प्रयोगका कारण मह उत्पादन अपेक्षित रूपमा बढ्न नसकेको उनको भनाई छ ।

शर्माका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभर ३५ सय मेट्रिकटन मह उत्पादन भएको थियो । तर पछिल्ला वर्ष यो परिमाण घटेर वार्षिक १ हजार ५०० मेट्रिक टनमा खुम्चिएको थियो । यस वर्ष ३ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

चितवनमा हाल व्यावसायिक किसान साढे ५०० हाराहारीमा छन् । जिल्लाभर ३५ हजार मौरीका गोला छन् ।

महासंघका अनुसार देशभर ११ हजार मौरीपालक किसान छन् भने १ लाखभन्दा बढी घारबाट मह उत्पादन हुँदै आएको छ । नेपालमा विशेषगरी मेलिफेरा र सेरेना जातको मौरी पालन गरिन्छ ।द

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)