वालमार्टलाई डेढ करोड डलर दण्ड
कोलोराडोको एक स्थानीय अदालतले त्यहाँको प्रख्यात सुपरस्टोर वालमार्टलाई १ करोड ५० लाख डलर दण्ड तिर्ने आदेश दिएको छ । ग्रीलीस्थित वालमार्ट स्टोरमा सामान बुझाउन आउँदा आफू त्यहाँको बरफ र ग्रीजमा चिप्लिएर लडेकाले क्षतिपूर्ति पाउनुपर्ने दाबी ४१ वर्षीय ट्रक ड्राइभर होली अवेरितले गरेकी थिइन् ।
वालमार्ट स्टोर्स इन्कले ग्रीली टि्रव्युन पत्रिकालाई आफूले गत शुक्रवार सुनाइएको सो फैसलाविरुद्ध पुनरावेदन गर्ने जानकारी दिएको छ ।
ड्राइभरका वकील ग्रेगोटी गोल्डले यस्तो मुद्दामा यति धेरै क्षतिपूर्ति दिइएको अमेरिकामै पहिलो घटना भएको हुन सक्ने बताएका छन् ।
वकील गोल्डले स्टोरको खाना पकाउने ठाउँबाट निस्केको ग्रीज ढलमा लैजाने प्रणालीले नसमेटेको प्रमाणित गर्ने कागजातहरु नगर अदालतलाई देखाएका थिए । उनले अवेरितले यो दुर्घटनापछि तीनपटक ढाडको शल्यक्रिया गर्नुपरेको, त्यसपछि काममा फर्कन नसकेको र आफ्नो ट्रकसमेत गुमाएको दलील पेश गरेका थिए । वालमार्ट प्रवक्ताले कम्पनीले 'आदेशसँग आदरपूर्वक असहमति राख्ने' बताए । एपी/रासस