ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन जिल्ला माछामा आत्मनिर्भर : उत्पादन नेपालको, बजार भारतको 

२०७८ मंसिर, ४  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

मंसिर ४, चितवन । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिएको छ ।  

शनिवार आयोजित कार्यक्रममा नेपाल मत्स्य व्यवसायी संघ चितवनले चितवन जिल्लामा माछामा आत्मनिर्भर घोषणा गरेको हो ।विगत १० वर्षदेखि आत्मनिर्भर अभियानमा लागेको र हाल आएर माछाको उत्पादन बढी भई जिल्ला बाहिरपनि पठाइएकोले आत्मनिर्भर बन्न सफल भएको उक्त कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष खगेन्द्र सुबेदीले पछिल्लो समय निरन्तर माछाको उत्पादनमा वृद्धि भई काठमाडौं पोखरा लगायतका जिल्लाहरुमा माछा विक्री हुँदै आएकोले चितवन माछामा आत्मनिर्भर भएको घोषणा गरिएको बताए । 

उनका अनुसार हाल चितवनमा वार्षिक  २ हजार ६००  मेट्रिक टन माछा  खपत र ४ हजार  मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । ‘२ हजार ६०० मेट्रिक टनले चितवन जिल्लालाई पुग्छ, बाँकी उत्पादन अन्य जिल्ला पठाउँछौं’, सुबेदीले भने ।  जिल्लामा  माछा उत्पादनमा वृद्धि भई आत्मनिर्भर भएपनि भारतीय माछाले वार्षिक  १ हजार मेट्रिक टनको हाराहारीमा बजार लिएको उनले बताए ।

‘हाम्रो उत्पादन राम्रो छ तर बजार चाहीं भारतको भयो’, उनले भने । फर्मालिन रसायनको प्रयोग गरी भारतीय माछा नेपाल भित्रिएको र स्थानीय उत्पादनले बजार ओगट्न नसकेको उनको भनाइ थियो । गत आर्थिक वर्षमा ४ हजार ३८ मेट्रिक टन माछा उत्पादन भएको थियो भने चालू आर्थिक वर्षको अन्तसम्मा ६ हजार ६०० मेट्रिक टन माछा उत्पादन हुने अनुमान गरिएको पनि उनले बताए । 

भारतबाट आउने माछाको गुणस्तर जाँच नहुने, नेपालको माछाभन्दा सस्तो र अनुकल वजन र साइजको भित्रिएकोले पनि भारतीय माछाले बजार ओगट्दै आएको हो । ‘हाम्रो लागत मूल्य नै बढी छ, र भारतीय माछासंँग प्रतिस्पर्धापनि गर्न सकेनौं’, नेपाल मत्यस्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महत्वले  भने, ‘अहिले उत्पादन वृद्धि भएर के गर्नु माछा स्टक छ ।’

 चितवनमा मात्रै हाल १ हजार ५०० मेट्रिक टन माछा उत्पादन बढी भएर भण्डारण गरिएको पनि उनले बताए । मूल्य केही बढी भएपनि नेपाली माछा एशियामानै गुणस्तरीय र स्वादिलो भएपनि विक्री हुन नसकेको महतोको भनाइ छ ।

 ‘भारतमा विजुलीमा, लगानीमा, कच्च पदार्थमा सहुलियत छ तर नेपालमा हामी किसानलाई उद्योगी सरह  महसुल र कर लिने गरिएको छ’, उनले भने । नेपाली माछाको प्रवर्द्धन र जनचेतना राज्य पक्षले समेत नगर्दा आफूहरु मर्कामा परेको महतोले बताए । ‘माछा विक्रीको सबभन्दा ठूलो बजार काठमाडौंको कालीमाटी हो , हामीले हाम्रो उत्पादन त्यहीं बेच्न सकेका छैनौं’, महत्तोले भने । 

हाल चितवनमा ७०० हेक्टरमा माछापालन गर्ने गरिएको छ भने यहाँ ५१३ हेक्टर जलाशय रहेको छ । जिल्लामा कार्प प्रजातिका सात प्रकारका माछा, पंगासियस, विग्रेड,रहु, ग्रास जातका माछापालन गर्ने गरिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)