ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक निर्माणमा ढिलासुस्तीको विरोधमा स्थानीयवासी आन्दोलित

२०७८ मंसिर, ५  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । लामोसाँघु–जिरी सडकअन्तर्गत मुडे–चरीकोट सडक निर्माण शुरू भएको ६ वर्ष बितिसक्दा पनि सम्पन्न नभएको विरोधमा दोलखाका नागरिक आन्दोलित भएका छन् । कात्तिक २७ गतेदेखि स्थानीयवासी नागरिक अगुवाहरूसहित चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीयवासीले कात्तिक २७ गते सवारीसाधनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको पोस्टर टाँसेर सडक निर्माणमा भएको ढिलाइको विरोधमा आन्दोलन थालेका थिए । आन्दोलनकै क्रममा नागरिक अगुवाहरूले सडक निर्माण आयोजनाको कार्यालयमा तालबन्दी गर्ने तथा जिल्लामा रहेका राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया समेत गरिसकेको मुडे–चरीकोट सडक नागरिक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले जानकारी दिए ।

आन्दोलनकै क्रममा शनिवार जिल्ला सदरमुकाम चरीकोटमा संघर्ष समितिको आयोजनामा जिल्लाका सांसद तथा नागरिकहरूबीच सडक निर्माणमा भइरहेको ढिलाइबारे छलफल भएको छ । सरोकारवालाहरूको प्रश्नको जवाफ दिँदै दोलखाका संघीय सांसद तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले आफू सडक निर्माण सम्पन्न गराउन लागिपरेको दाबी गरे । अब ठेक्का तोड्न वा तत्काल निर्माण शुरू गराउन आफूले थप पहल लिने प्रतिबद्धता उनले व्यक्त गरे ।

छलफलमा अर्का संघीय सांसद शान्तिमाया पाख्रिनले आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताइन् । यस्तै बागमती प्रदेशसभाकी सांसद रचना खड्का, भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, शैलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतले पनि ठेकेदारको लापरबाहीका कारण दोलखालीले दुःख पाएकोमा आक्रोश व्यक्त गर्दै तत्काल सडक निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

५०१ सदस्यीय नागरिक संघर्ष समितिले आगामी दिनमा सडक आसपासका प्रत्येक टोल टोलमा संघर्ष समिति गठन गर्ने, सांसदहरूका गाडी जिल्ला छिर्न नदिने, मन्त्रालय तथा सडक विभाग घेराउ गर्ने लगायत आन्दोलनका कार्यक्रम बनाएको नागरिक अभियन्ता रमेश खतिवडाले जानकारी दिए ।

भारतीय एक्जिम बैंकको लगानीमा स्तरोन्नतिको काम भइरहेको लामोसाँघु–जिरी सडक अन्तर्गत मुडे–चरीकोट खण्ड ठेकेदारको ढिलासुस्तीले ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । यो सडक खण्डको निर्माणको जिम्मा भारतीय  कम्पनी सकिल हैदर–शंकरमाली–सुनौलो खिम्ती जेभीले २०७२ सालमा ठेक्का सम्झौता गरी लिएको थियो ।

वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे भएकाले सडक नजिकका बासिन्दा सबैभन्दा बढी पीडित छन् । नागरिक आन्दोलनमा आफूहरूको पूर्ण सहयोग र समर्थन रहने भीमेश्वर नगरपालिका वडा नं ९ का वडाध्यक्ष चित्रबहादुर भुजेल, वडा नं ८ का नहकुल केसी, वडा नं ७ का कैलाशकुमार तामाङ, वडा नं ६ का नवीन लामा र वडा नं ३ का अध्यक्ष हरिशरण शिवाकोटीले बताए । अघिल्लो वर्ष पनि दोलखाका स्थानीयले नागरिक अगुवाहरूको नेतृत्वमा ठेकेदारको फोटो सार्वजनिक सवारीसाधनहरूमा टाँस्ने लगायत विरोधका कार्यक्रम गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)