विश्वका धेरै भागमा शुद्ध पिउने पानीको उपलब्धता एक प्रमुख समस्याका रुपमा रहेको छ । पानी शुद्ध बनाउन पनि थुप्रै उपाय अपनाइँदै आइएको छ । पानी शुद्ध पार्न उमाल्ने, छान्ने र निर्मलीकरण गर्नेजस्ता उपाय त हामी सबैले अपनाउँदै आएका छौं । तर, हालै भएको एक अध्ययनले भने रुखका हाँगामा हुने छिद्रमा पानीलाई शुद्ध बनाउने क्षमता हुने देखाएको छ । अमेरिकाको क्याब्रिजस्थित म्यासाच्युसेट इन्ष्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)का वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार हाँगाभित्र हुने छिद्रहरुमा पानीमा रहेका हानिकारक ब्याक्टेरियालाई ९९ प्रतिशतसम्म छान्न सक्ने क्षमता रहेको हुन्छ । पानी शुद्ध पार्न आफूहरुले सस्तो समाधान पत्ता लगाएको अनुसन्धानकर्ताको दाबी छ ।
रोहित कार्निकको सहलेखन रहेको ‘पी–लोस वान’ जर्नलमा प्रकाशित अनुसन्धानपत्रमा उनले जाइलम (काठको नसा)लाई कसरी पानीमा रहेका ब्याक्टेरिया छान्ने काममा प्रयोग गर्न सकिन्छ भनेर विस्तृत रुपमा उल्लेख गरेका छन् । जाइलम रुखबिरूवामा पानी तथा पोषकतङ्खव लैजाने एक प्रकारको नसातन्तु हो । कार्निकले जाइलमका प्वालहरुमा भएको झिल्ली र अन्य संरचनाले पानीका फोकालाई काठको नसातन्तुमा सजिलै फैलन र बग्नबाट अवरोध गर्ने भएकाले ती प्वालहरुको प्रयोगबाट पानीको ब्याक्टेरिया छान्न सकिने कुरा पत्ता लगाएका छन् । यो नसातन्तुले फिल्टरको काम गर्न सक्छ भन्ने प्रमाणित गर्न उनले आफ्नो ल्याबमा यसको सामान्य प्रयोग गरेका थिए । बोक्रा ताछेको धूपीसल्लाको हाँगालाई एउटा ट्युबमा राखेर त्यसमा सूक्ष्म कण भएको पानीको धारो छोड्दा यो काठे फिल्टरले कणलाई छानिदिएको थियो । यस्तो प्रयोगबाट पानीमा रहेका ९९ दशमलव ९ प्रतिशत हानिकारक ब्याक्टेरियाहरु छानिएको अनुसन्धानमा पाइएको कार्निकले बताएका छन् ।
त्यस्तै, यसले छान्न नसकेका शून्य दशमलव १ प्रतिशत हानिकारक तङ्खवहरु पनि खतरनाक हुन सक्ने भए पनि केही नहुनुभन्दा ९९ दशमलव ९ प्रतिशतको शुद्धता प्राप्त गर्नु नै ठूलो उपलब्धि रहेको कार्निकको भनाइ छ । ‘तपाईं कुनै कुराको ९९ प्रतिशत प्रभावकारितामाथि भरोशा गर्न चाहनुहुन्न,’ स्टानफोर्ड विश्वविद्यालयका वातावरणविज्ञ रोवर्ट ज्याक्सनले भने । ‘यदि सही हो भने कार्निक र उनको समूह सही बाटोमा छ भन्ने सङ्केत हो,’ उनले थपे । यस विषयमाथि थप अनुसन्धान तथा जाइलम फिल्टरको विकास गर्दै यसको प्रयोग बढाउन सके विश्वमा पानीबाट सङ्क्रमण हुने रोगलाई धेरै हदसम्म कम गर्न सकिनेमा उनले जोड दिए । हरेक वर्ष करीब ३४ लाख मानिस पानीको सङ्क्रमित रोगका कारण ज्यान गुमाइरहेको र ७८ करोड मानिस शुद्ध पिउने पानीबाट वञ्चित भइरहेको वाटरडटओआरजीको तथ्याङ्कले देखाएको छ ।
सल्ला वा धूपीसल्लाको हाँगा भाँच्नुस्, बोक्रा निकाल्नुस् र पोखरीको पानीलाई विस्तारै त्यसमा खन्याउनुस्, तपार्इंको पानी ब्याक्टेरियारहित शुद्ध र स्वच्छ हुनेछ । अनुसन्धानकर्ताहरुले यो कामचलाउ फिल्टरले जस्तोसुकै ब्याक्टेरियालाई जालोमा पार्दै स्वच्छ तथा प्रदूषणरहित पानी उपलब्ध गराउन सक्ने जानकारी दिएका छन् । साथै, यसको सामान्य प्रयोगबाट प्रतिदिन एक जना मानिसका लागि पिउन पर्याप्त अर्थात् ४ लिटरभन्दा धेरै पानी छान्न सक्ने देखिएको छ । अनुसन्धाताहरुका अनुसार रुखमा पानी तथा पौष्टिक तङ्खव वितरण गर्ने नसातन्तुमा हुने छिद्रबाट यो फिल्टर हुन्छ । जाइलम (काठको नसा) भनिने यो छिद्रतन्तुले पोषकतङ्खव घोलिएको पानीलाई जराबाट रुखको सबै भागमा पुर्याउने गर्छ । यस्ता हरेक नसाको भित्तामा मसिना छिद्रहरु भएको जाली रहेको हुन्छ ।