ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा सुन्तला उत्पादन घट्दो

२०७८ मंसिर, २६  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा पछिल्ला वर्षहरूमा सुन्तलाको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार यस वर्ष उत्पादनमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले ह्रास आएको छ । जिल्लाका पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकाका वडा नं २, ३, ४, ५, ६ मा किसानले सुन्तलाखेती गर्दै आएका छन् । गाउँपालिकाको तामिन कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर नेपालले केही वर्षयता सुन्तलाका बोट मर्न थालेसंँगै उत्पादन खस्किँदै गएकोे बताए । ‘कहिले असिना र हावापानीले फूल झारेर पूर्णरूपमा फल लाग्दैन,’ उनले भने, ‘कहिले फल्ने र पाक्ने बेला रोग लागेर उत्पादन हुँदैन ।’ स्थानीय जातको सुन्तलाको माग राम्रै भए पनि वर्षैपिच्छे उत्पादन घटिरहेको उनको भनाइ छ ।

अनुकूल हावापानी र मलबीउको व्यवस्थापन गर्दा पनि बोट सुक्ने, पहेँलो हुँदै गएकाले उत्पादन हुन नसकेको उनले बताए । अघिल्लो वर्ष प्रतिहेक्टर ८ दशमलव ८ टन र यस वर्ष प्रतिहेक्टर ८ टनले उत्पादन घटेको ज्ञान केन्द्रले बताएको छ । केन्द्रका अनुसार उक्त गाउँपालिकामा सुन्तला खेतीयोग्य जमीन २५० हेक्टर भए पनि करीब १२५ हेक्टरमा मात्र खेती हुँदै आएको छ ।

ज्ञान केन्द्रका सूचना अधिकारी मिन बहादुर पुनले प्रतिहेक्टर उत्पाकत्वमा पनि ह्रास आएको बताए । सुन्तलाको बोट पुरानो हुँदै जानु, किसानमा बगैंचा व्यवस्थापनको ज्ञानको कमी र सिँचाइको अभावलगायत निषेधाज्ञाका कारण सुन्तला ब्लक कार्यक्रम सुचारु गर्न नसकिएकाले उत्पादन घटेको उनको भनाइ छ ।

कृषि विज्ञका अनुसार कुनै पनि अन्नबालीमा एकै प्रकारको बीउ र बागवानी बाली नियमित कलमी नगरी बिरुवा रोप्दा त्यसको उत्पादकत्व कम हुन्छ । १ देखि २ वर्षको फरक पारेर कलमी गरेका बिरुवा लगाउन उनीहरूले सुझाएका छन् । यसरी बिरुवा लगाउँदा उत्पादन बढ्ने र रोग पनि कम लाग्ने गरेको उनीहरूको अनुभव छ । कृषि ज्ञान केन्द्रले इच्छाकामना गाउँपालिका ५ मा रहेको तामिन क्षेत्र, वडा नं २ मा रहेको तल्लो काउले क्षेत्र, वडा नं २ मा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । इच्छाकामनाको वडा नं ३ मा सबैभन्दा बढी सुन्तलाखेती गरिएको छ । यहाँ १०० बिघाभन्दा बढी जमीनमा सुन्तलाखेती गरिएको छ । यहाँ उत्पादित सुन्तला मुग्लिन बजार, पोखरा र काठमाडौंमा विक्रीवतरण हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)