ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकीय क्षेत्र बेदिङमा राष्ट्रिय प्रणालीको विद्युत्

२०७८ मंसिर, २७  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित प्रसिद्ध पर्यटकीय स्थल बेदिङ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थलबाट करीब २४ किलोमिटर लामो प्रसारण लाइनमार्फत बेदिङमा बिजुली पुर्‍याएको हो ।

नेपाल विद्युत् प्राधिकरणले खम्बा ढुवानी गरेर कठिन भूधरातलमा बेदिङमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । ट्रान्सफर्मर जडानलगत्तै स्थानीयलाई विद्युत् मिटर वितरण गरिने ढकालको भनाइ छ ।

हिम आरोहीको गाउँको रूपमा चर्चित बेदिङ छो–रोल्पा हिमतालको फेदीमा रहेको छ ।  समुद्री सतहबाट ३ हजार ७२१ मिटर उचाइमा रहेको बेदिङमा भएको लघुजलविद्युत् आयोजना एक दशकदेखि बिग्रिएर बन्द थियो । बेदिङमा ८५ घरधुरीको बसोवास छ । उज्यालोका लागि अहिलेसम्म स्थानीयवासी सौर्य ऊर्जामा निर्भर छन् ।

नेपाल विद्युत् प्राधिकरण दोलखा शाखाका अनुसार ११ सय केभीको प्रसारण लाइन बनाउन ३९० ओटा खम्बा (पोल) गाडिएका छन्, जसका लागि ३ करोड रुपैयाँ लगानी भएको छ । राष्ट्रिय प्रसारण लाइन पुगेर बिजुली बाल्न पाउने बेदिङका स्थानीय बासिन्दा उत्साहित छन् ।

गौरीशंकर हिमालको काखमा अवस्थित बेदिङ सगरमाथा चढ्ने शेर्पा समुदायको बस्ती हो । यहाँबाट एक दिनको पैदल दूरीमा च्छोरोल्पा हिमताल पुग्न सकिन्छ । बेदिङका घरहरू होटलका रूपमा रहेका छन् । स्थानीयको आयआर्जन बढाउन गौरीशंकर संरक्षण क्षेत्रले पनि बेदिङमा होमस्टे सञ्चालन गर्न मद्दत गरिहेको छ ।

बेदिङ च्छोरोल्पा हिमताल र रोल्वालिङ उपत्यका भ्रमणमा जानेहरूको बास बस्ने मुख्य थलो हो । बेदिङभन्दा माथि ना गाउँ पर्दछ । चिसो बढेपछि जाडो छल्न मानिसहरू ना गाउँबाट बेदिङ झर्ने गर्दछन् । पर्यटकीय क्षेत्र भएकाले सो क्षेत्रमा नेपाल टेलिकम दोलखाले केही वर्षअघि नै जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याइसकेको छ । विद्युत्को पहुँच पुगेपछि जनजीवन सहज हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने बेदिङवासीको आशा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)