काठमाडौं । लामो समय लोडसेडिङ भोगिरहेका हामीलाई चौबीसै घन्टा बिजुली उपलब्ध गराएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत प्राधिकरण आबद्ध पदाधिकारीले बेलाबखत भन्ने गरेका छन्, ‘अब बिजुली खपत बढाउनुपर्छ किनकि हामीसँग पर्याप्त बिजुली छ ।’ दैनिक जीवनको अत्यावश्यक चीजमध्येको एक बिजुलीमा देश आत्मनिर्भर छ भन्न पाउनु खुसीकै कुरा हो ।
अहिले जाडोयाममा नदीनालामा पानीको सतह घट्न गई बिजुली कम उत्पादन हुने र लोडसेडिङको सम्भावना हुने समयसमेत नेपालको बिजुली भारत निर्यात भइरहेको खबरले जोसुकैलाई हर्षित बनाएको छ । यसै मेसोमा विद्युत प्राधिकरणले उक्साएझैं हामी आफैं पनि घरमा गरिने अन्य काममा जस्तै खाना पकाउन पनि विद्युतीय (इन्डक्सन) चुल्हो प्रयोग गर्न सक्छौं । बिजुलीको खपत बढाउने मात्र नभई बाह्य मुलुकबाट आयात हुने ग्यास प्रयोग कम गरेर एउटा सकारात्मक अभियानको हिस्सा बन्न सकिन्छ ।
बिजुलीबाट हामी दैनिक जीवनका अनेक काम गर्दछौं । तीमध्ये एक हो– भान्साको काममा बिजुली उपयोग । विनासकारी भूकम्पलगत्तै नेपालीले भोगेको नाकाबन्दीको नमीठो स्मरण अझै ताजै छ । त्यतिबेला खाना पकाउने एलपी ग्यास अभाव भएपछि विद्युतीय चुल्हो किन्न तँछाडमछाड हुन गई बजारमा यसको अभाव हुन गएको थियो । भारतीय नाकाबन्दीको कारण बिरलै सुनिने इन्डक्सन चुल्होको चर्चासँगै उपयोगबारे मानिसले पनि थाहा पाएका थिए । त्यसपछि नै बजारमा विस्तारै विद्युतीय चुल्हो र त्यसमा खाना पकाउन मिल्ने भाँडाको उपलब्धता पनि बढ्दै गएको हो ।
पछिल्लो समय सुपरमार्केट, विद्युतीय सामग्रीका पसल तथा भाँडा पसलहरूमा विद्युतीय चुल्हो तथा आवश्यक भाँडा सहज किन्न सकिन्छ ।
विद्युतीय चुल्हो सानो परिवारको भान्सालाई हुने एउटा वा दुई वटा बर्नरदेखि रेस्टुरेन्ट वा धेरैलाई पकाउन मिल्ने दुईभन्दा बढी बर्नर भएको पनि पाइन्छ । विद्युतीय चुल्होमा करेन्ट नलाग्ने, पानी वा झोल पोखिए पनि चुल्होको आन्तरिक भागमा नजाने गरी सुरक्षित तरिकाले बनाइको हुन्छ । आफ्नो इच्छा वा सम्बन्धित परिकार पकाउन आवश्यक तापमानअनुसार तामक्रम घटाउन/बढाउन मिल्ले सजिलो टचस्क्रिन बटन व्यवस्था हुनाले प्रयोग गर्न सरल हुन्छ । आवश्यक्ताअनुसार तापमानको साथमा परिकार तयार हुन लाग्ने समयको संकेतसमेत दिने टाइमरको पनि व्यवस्था हुँदा सही तरिकाले निश्चित समयभित्र परिकार पकाउन सकिन्छ । विद्युतीय चुल्होमा खाना पकाउन प्रयोग हुने भाँडा अन्य सामान्य भाँडाजस्तै स्टेनलेस स्टिल आदिबाट बनेको भए पनि करेन्ट नलाग्ने प्रोटेक्टिभ लेयर प्रयोग गरेर तयार गरिएका हुन्छन् । खाना वा दाल पकाउने पे्रसरकुकर, तरकारीका लागि कराई, डेक्ची आदि भाँडा यस्ता विशेष प्रविधि प्रयोग गरेर बनाइएको पाइन्छ । यी भाँडा विद्युतीय चुल्होमा मात्र नभई सामान्य ग्यास चुल्होमा पनि प्रयोग गर्न सकिन्छ ।
सहरबजार र एलपी ग्यास सहजै उपलब्ध हुने ठाउँमा अझै पनि एलपी ग्यासकै चुल्होमा खाना पकाउने चलन छ । खाना पकाउँदा एलपी ग्यास वा इन्डक्सन चुल्हो कुनचाहिँ खर्चको दृष्टिले मितव्ययी हुन सक्ला भन्ने विषयमा आधिकारिक जानकारी पाउन मुस्किल भए पनि इन्जिनियरिङ इन्स्टिच्युट त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा ऊर्जा विशेषज्ञ अमृतमान नकर्मीले गरेको एक अध्ययनसम्बन्धी गत नोभेम्बरमा एक दैनिकमा प्रकाशित समाचारमा उल्लेख भएअनुसार इन्डक्सन चुल्होमा खाना पकाउँदा ग्यास चुल्होमा भन्दा झन्डै ५० प्रतिशत कम खर्च हुने जनाइएको छ । उक्त अध्ययनलाई आधार मान्दा इन्डक्सन चुल्होमा खाना पकाउन सजिलो, सुरक्षित, छिटो मात्र नभई खर्चसमेत बचाउन सकिने देखिन्छ ।
एक दशकदेखि नेपालमा इन्डक्सन चुल्हो आयात गरी व्यवसाय गरिरहेको हाम्रो इन्डक्सन प्रालि महाबौद्धका प्रतिनिधि तृष्णा शाक्यका अनुसार इन्डक्सन चुल्होप्रति आममानिसको चासो र लगाव बढ्दै गएको छ । हरेक दिन पसल पुग्ने ग्राहकबाहेक फोनमार्फत पनि जानकारी लिई इन्डक्सन खरिद गर्नेको संख्या पनि उत्तिकै बढिरहेको छ । उनका अनुसार चालू कोभिड महामारीका कारण मागअनुसार इन्डक्सन चुल्हो पुर्याउन इन्डक्सन व्यवसायीलाई धौधौ परिरहेको छ ।
यसबाट इन्डक्सन चुल्होप्रति आममानिसको चासो तथा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ । अझै पनि आक्कलझुक्कल मौसम वा मर्मतसम्भार आदिका कारण बिजुली आपूर्ति अवरुद्ध हुने समस्यामा अहिले पनि हटेको छैन । त्यसैले पूर्णतः विद्युतीय चुल्होमै खाना पकाउने निर्णय गरिहाल्नु हतारो हुन सक्छ । तर, इन्डक्सन चुल्होलाई भान्साको काम छिटोछरितो सम्पन्न गर्न तथा अपर्झट ग्यास अभाव हुँदा उपयोग गर्दै स्मार्ट कुकिङतर्फ अग्रसर हुन एवं बिजुली खपत बढाउँदै इन्धनको नाममा देशबाट बाहिरिने रकम जोगाउन भूमिका खेल्न भने अवश्य सकिन्छ ।